काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँबाट चुनाव लड्ने तयारी गरेको बताएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरू कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
'तनहुँमा चुनाव लड्ने इच्छा छ। प्रयासरत छु। मलाई तनहुँमै टिकट दिइन्छ भन्ने विश्वासमा छु। तर पार्टीले निर्देशन दिन्छ भने म अन्त पनि जानुपर्छ,' उनले भने, 'जमिन, माटो र मतदाता बुझेको तनहुँ-२ मा नै हो। त्यहीँबाट चुनाव लड्ने मेरो इच्छा र तयारी छ।'
यसपटकको निर्वाचनमा मतदाता स्वतन्त्र रहेको देखिएको उनको भनाइ छ। आफ्नो विवेक प्रयोग गर्ने क्षमता अभिवृद्धि भएकाले आफूलाई जित्न सहज हुने उनको भनाइ छ।
गठबन्धन गरेर जाँदा पनि चुनावमा सजिलो भने नदेखिएको उनको भनाइ छ। कांग्रेसको बृहत् चुनावी नतिजा समीक्षासमेत गरेका उनले भने, 'आगामी निर्वाचनमा गठबन्धन गर्ने हो भने सहयात्री दलको थोरै ठाउँमा मात्र पकड छ। त्यसकारण कांग्रेसको काँधमा चढेर उहाँहरू जाँदा नतिजा राम्रो नआउन सक्छ। गठबन्धन गर्दा सबै दलको मत आउँछ भन्ने देखिएन।'
आगामी निर्वाचनमा कांग्रेसले धेरै ठाउँमा उम्मेदवारी दिनुपर्ने देखिएको उनको भनाइ छ। तर यो विषय गठबन्धनको सबैभन्दा ठूलो चुनौती भएको उनले स्वीकार गरे।