सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा फोहोरदेखि त्रिविको तालासम्मका विषय, मन्त्रीको अनुपस्थितिमा आपत्ति

संसद्‍मा फोहोरदेखि त्रिविको तालासम्मका विषय, मन्त्रीको अनुपस्थितिमा आपत्ति

काठमाडौंमा थुप्रिएको फोहोरदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको ताला अनि किसानले भोग्नुपरेको मल अभावसम्मका विषय सांसदहरुले उठाएका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं– प्रतिनिधिसभा बैठकको शून्य तथा विशेष समयमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। काठमाडौंमा थुप्रिएको फोहोरदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको ताला अनि किसानले भोग्नुपरेको मल अभावसम्मका विषय सांसदहरुले उठाएका छन्। 

National life

सांसद हृदयेश त्रिपाठीले किसानले मल नपाउनुले आफूलाई चिन्तित तुल्याएको बताए। उनले अहिलेको बजेट निबन्ध मात्रै भएको आरोप लगाए। यस्तो निबन्धले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने टिप्पणी उनले गरे।

‘मलको हाहाकारले जनताले सास्ती खेपिरहेका छन्। भारतबाट मल ल्याउँदा सीमामा भारतीय पुलिसले सास्ती दिन्छ। त्यहाँबाट जसरीतसरी ल्याउँदा नेपाली पुलिसले सास्ती दिन्छ,’ उनले भने, ‘यसबाट कृषकले निकै सास्ती खेप्नु परिरहेको छ।’ 

सांसद डिला संग्रौलाले सरकार जिम्मेवारीप्रति वफादार नभएको आरोप लगाइन्। समयमै किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक नपाउनु जस्ता कुराले सरकारले जिम्मेवारीप्रति वफादार नभएको पुष्टि भएको उनको टिप्पणी छ।

‘नयाँ शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन। खेती गर्ने बेला भयो, किसानलाई मल छैन। महँगीले ढाड सेक्यो। नागरिकलाई बाँच्ने आधार छैन। फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ,’ उनले भनिन्।

Shivam cement

सांसद पुष्पा भुसालले कोरोना बिमाको रकम तत्काल उपलब्ध गराउन माग गरिन्। तत्कालीन समयमा बिी रकम दिने भनेका बिमा गरेका कम्पनीहरूले किन उपलब्ध गराएनन् भनेर उनले प्रश्न उठाइन्। उनले विगतमा कोरोना बिमाको रकम दिने सहमति भएको र पटक–पटक कोरोना बिमा दिनू भनी सर्वोच्च अदालतले पनि आदेश गरिसकेको उनले स्मरण गराइन्। उनले एक लाखभन्दा धेरै मानिसले कोरोना बिमाको रकम पर्खिरहेकाले उनीहरुले पैसा पाउने वातावरण मिलाउन उनले माग गरिन्।

सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्ने भए त्यहाँका जनताका माग पूरा गर्नुपर्ने बताए। बल प्रयोग गरेर त्यहाँ फोहोर व्यवस्थापन गर्ने कार्य बन्द गरिनुपर्ने उनको माग छ। नुवाकोटबाट निर्वाचित सांसद खतिवडाले फोहोर व्यवस्थापनका नाममा जनतामाथि सुरक्षाकर्मी लगाएर बल प्रयोग नगर्न आग्रह गरे। उनले नाम उल्लेख नगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पनि आलोचना गरेका छन्।

‘जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनिबेसीबीचको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ। स्थानीय चुनावमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ,’ उनले भने।

सांसद नवराज सिलवालले संसद्‌मा उठेको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरे। संसद्‌मा एउटै कुरा पटक–पटक उठ्ने गरेको तर सरकारले संसद्‌मा उठेका कुरालाई गम्भीर रुपमा नलिएको उनले बताए। निजी अस्पतालले महँगो शुल्क लिने गरेको भन्दै यसमा अनुगमन नभएको उनले बताए। सुविधा दिनुपर्ने भनि तोकिएको सुविधा समेत नदिने गरेकोमा उनले आपत्ति जनाए।

सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै निर्देशनमा ताला लगाइएको आरोप लगाइन्। उनले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको बताइन्।

‘त्रिवि पाँच महिनादेखि बन्द छ। सरकारको ध्यान आकर्षित हुन सकेको छैन,’ उनले भनिन्, ‘अचम्म लाग्छ, बीचमा एक दिन एकछिन मात्रै खुलेर गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर विश्वविद्यालय बन्द गरिएको भन्ने छ।’

काठमाडौंमा थुप्रिएको फोहोरदेखि त्रिभुवन विश्वविद्यालयमा लागेको ताला अनि किसानले भोग्नुपरेको मल अभावसम्मका विषय सांसदहरुले उठाएका छन्। 

सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्न सुझाव दिए। सांसद सिंहले काठमाडौंमा स्कुल र अफिस जाने समय एउटै भएकाले उक्त समयमा ट्राफिक जाम बढ्ने गरेको तर्क गरे। उनले भने, ‘ट्राफिक व्यवस्थापन गर्न नसक्नु यहाँको समस्या बन्ने गरेको छ। यसलाई मध्यनजर गर्दै स्कुल र अफिस सञ्चालनको समय फेरौं।’ उनले फोहोरमैला व्यवस्थापन र महँगी नियन्त्रण गर्न नसक्नु पनि काठमाडौंका लागि ठूलो समस्या भएको बताए।

सांसद पवित्रा निरौला खरेलले संसद्‍मा मन्त्री र अरु सांसदका विषयमा देखिएको विभेदका विषयमा प्रश्न उठाइन्। उनले मन्त्री काम गर्न र बाँकी सांसद ताली बजाउन मात्रै आएका हुन्? भन्दै प्रश्न उठाएकी हुन्।

‘सभाुमख महोदय, बोल्न मन छैन मलाई तर बोल्दै छु, बोलेर केही हुँदैन, तर पनि जनताको पीडा घोलिएको माननीयहरूको व्यथा बोल्दैछु। परिवर्तन हुन्छ कि भनेर झिनो आश बोकेर बोल्दै छु,’ सांसद खरेलले भनिन्, ‘हामी सबै मिलेर व्यवस्था परिवर्तन गर्यौं तर अवस्था उस्तै छ।’ उनले पहुँचवालाका योजना थोपर्ने अनि बाँकी सांसदलाई जनताका प्रतिनिधिको पनि दर्ता नदिने गरिएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताइन्। 

सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजी क्षेत्रलाई दिन प्रस्ताव गरिन्। किताब छापेर दिने जिम्मेवारी पूरा गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो भन्दै उनले प्रश्न गरिन्।

लामाले भनिन्, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्। यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो? सरकारले किन पैसा दिइरहने? खारेज गरौँ।’ 

उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने कुराको जवाफ जनक शिक्षाका उच्च व्यवस्थापकले दिनुपर्ने बताइन्। ‘यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनु पर्दैन? उहाँहरू जवाफदेही बन्नु पर्दैन? बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ।’ उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजी क्षेत्रलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन्।

सांसद पार्वती विसुन्केले दलित विद्यार्थीलाई भर्ना नगर्ने ललितपुरको गुरुकुललाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन्। सांसद विसुन्केले शंखमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित समुदायका चार बालकलाई भर्ना नगरेर फर्काएकोप्रति आपत्ति जनाइन्।

उनले गुरुकुलले नियोजित रुपमै दलित समुदायमाथि जातीय भेदभावको भावना राखेको पाइएको भन्दै कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद सूर्यप्रसाद पाठकले संसद्मा महत्वपूर्ण विषय उठिरहेका बेला मन्त्री विदेश भ्रमणमा रहेको भन्दै आपत्ति जनाए। विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विषयमा धारणा राख्न रोष्ट्रममा पुगेका पाठकले सम्बन्धित मन्त्रीलाई नदेखेको भन्दै आफू नबोल्ने अडान राखे। सभामुखले यस विषयमा आफ्नो सचिवालयले बुझ्ने आश्वासन दिएपछि बल्ल पाठकले आफ्नो धारणा राखेका थिए। हिजोको बैठकमा पनि मन्त्रीहरु संसद् बैठकमा नआएको भन्दै सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: Jun 09, 2022| 12:49 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...