सोमबार, असार ८, २०८३

को हुन् नेपाल आउन लागेका अमेरिकी सैन्य अधिकारी?

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र कमाण्डर जनरल चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन्।

National life

नेपाल आउनुभन्दा दुई दिनअघि मंगलबार जनरल फ्लिनले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेट गरेका थिए। भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्। उनले भारतीय सेना प्रमुखसँगको कुराकानीमा चीनले हिमालय सीमा क्षेत्रमा 'अस्थिरता र जबरजस्ती' व्यवहार देखाएको बताएका थिए। 

उनले ४ जुन २०२१ देखि अमेरिकी सेनाका लागि प्यासिफिक क्षेत्रको कमाण्ड सम्हालेका हुन्। उनी त्यसअघि जुन २०१९ देखि २०२१ सम्म अमेरिकी सेनाको अपरेसन, योजना र तालिम (जी३/५/७) को उपप्रमुख भएर काम गरेका थिए। उनी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार भएका लेफ्टिनेन्ट जनरल माइकल टी फ्लिनका भाइ हुन्। 

६ जनवरी २०२१ मा भएको अमेरिकी संसद् हमलाका क्रममा उनको पनि शंकास्पद सहभागीता रहेको भन्दै उनीमाथि आरोपसमेत लागेको थियो। उक्त घटनाका क्रममा संसद् प्रहरी, वाशिङ्टन डीसी र रक्षा मन्त्रालयका अधिकारीबीच बैठक बोलाइएको थियो। उक्त बैठकमा संसद् प्रहरी प्रमुखले आपतकालीन सैन्य सहयोगका लागि माग गरेका थिए। यद्पि सेनाका निर्देशकसमेत रहेका लिफ्टिनेन्ट जनरल वाल्टर ई पियटले भने उक्त आग्रह स्वीकार गर्न सिफारिस गर्न नसकिने बताएका थिए। 

सेना पठाउन अस्वीकार गरिएको फोन कलमा जनरल फ्लिनको पनि संलग्‍नता रहेको बताइएको थियो। यद्पि फ्लिनले भने आफ्नो कुने संलग्‍नता नभएको बताएका थिए। डिसेम्बर २०२१ मा कर्णेल एर्ल जी म्याथ्युले सार्वजनिक गरेको एक प्रतिवेदनमा भने फ्लिन पनि उक्त घटनामा संलग्‍न भएको भन्दै आरोपित गरिएको थियो। प्रतिवेदनमा फ्लिन र वाल्टर 'वास्तविक र असिमित झुट' बोलेको उल्लेख गरिएको छ। 

Shivam cement

अमेरिकी सेनाको वेबसाइट अनुसार सन् १९८५ मा फ्लिन रोडे आइल्यान्ड विश्‍विद्यालयबाट सेकेण्ड लेफ्टिनेन्टमा भर्ना भएका थिए। उनले नाभल वार कलेजबाट सन् १९९७ मा राष्ट्रिय सुरक्षा र रणनीतिक अध्ययन र योजना र रणनीति संयुक्त अभियानमा दुई विषयमा मास्टर्स गरेका छन्। उनले इराक स्वतन्त्रताका लागि खटिएको सैन्य टुकुडीमा रहेर र अमेरिकी सेनाका लागि अफगानिस्तानको अन्तर्राष्ट्रिय सुरक्षा सहायता बलको पनि कमाण्डिङ गरेका थिए।

के छ भ्रमण तालिका? 

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी बिहीबार काठमाडौं ओर्लिन लागेका हुन्। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्रका प्रमुख जनरल फिलनको सद्भावना भ्रमण रहेको बताएका छन्। उनका अनुसार फिलन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रिएलगत्तै शुक्रबार उनले सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्ने कार्यक्रम छ।

शुक्रबार उनलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ। त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फिलनबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ। शुक्रबार बेलुकी प्रधानसेनापति शर्माले जनरल फिलनको सम्मानमा रात्रिभोज गर्दै छन्।

जनरल फिलनले शनिबार माउन्टेन फ्लाइट गर्ने छन्। उनी सगरमाथा आधार शिविर जाने छन्। सोही क्रममा उनले एभरेष्ट भ्यु होटेलमा बिहानी खाना खानेछन्। उनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गरेर त्यही बिहान खाना खाने छन्। 

त्यसपछि उनी शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने छन्। यसबीचमा जनरल फिलनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने छन्। भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा दुई मुलुकबीचका उच्च अधिकारीबीच भेटवार्ता हुने भएको हो। प्रधानसेनापति शर्मा आसारमा अमेरिका जाँदैछन्। प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने बताइए पनि मिति तय हुन सकेको छैन।

भारत हुँदै नेपाल आउने दोस्रो अमेरिकी प्रतिनिधि

पछिल्लो २० दिनको अवधिमा भारत हुँदै नेपाल भ्रमण गर्ने उनी दोस्रो अमेरिकी प्रतिनिधि हुन्। यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया पनि भारत भ्रमण सकेर नै नेपाल आएकी थिइन्। जेठ ६ देखि ८ गतेसम्म हुन लागेको जियाको नेपाल भ्रमण गर्नुअघि उनले तीन दिन भारत भ्रमण गरेकी थिइन्। 

भारतमा रहँदा उनले आफ्नो अधिकांश समय धर्मशालामा बिताइन्। मंगलबार नयाँदिल्ली अवतरण गरेकी जियाले दुई दिन धर्मशालामा बिताएकी हुन्। उनले केन्द्रीय तिब्बत प्रशासन, निर्वासनमा रहेको तिब्बतको संसद्, तिब्बतियन इन्स्टिच्युट अफ पर्फमिङ आर्ट्स, तिब्बत म्युजियमको अवलोकन गरेकी थिइन्। उपमन्त्री जिया नेतृत्वको टोलीले बिहीबार धर्मशालास्थित म्याकलिओड गन्जमा रहेको दलाई लामाको निवासमै पुगेर उनलाई भेट गरेकी थिइन्। 

भेटका क्रममा उपमन्त्री जियाले आफू दलाई लामाको आध्यात्मिक वाणीहरुको स्रोता हुन पाउँदा सम्मानित भएको महसुस गरेको बताएकी थिइन्। आध्यात्मिक गुरु दलाई लामा र जियाबीच भारत र अमेरिमा रहेको स्वतन्त्र र प्रजातन्त्र संस्कारका विषयमा पनि कुराकानी भएको जनाइएको थियो।

प्रजातन्त्रको महत्वको विषयमा उल्लेख गर्दै लामाले भनेका छन्, 'अमेरिका र भारत पूर्ण लोकतन्त्र र स्वतन्त्रता भएका देशहरु हुन्। भारतमा विभिन्‍न धर्मका मानिसहरु एक ठाउँमा मिलेर बसेका छन्। यो नै एकता हो।पिपुल्स रिपब्लिक चीन तिब्बती जनता र उनीहरुको विचारलाई परिवर्तन गर्न असफल भएको छ। उल्टै चिनियाँ जनताको विचार नै परिवर्तन भइरहेको छ।' 

उनको भारत भ्रमणका विषयमा भने चीनले आपत्ति जनाएको थियो। उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेट्‍नुअघि तिब्बती शरणार्थीहरुलाई भेट गरेकी थिइन्। यसअघि नेपाल भ्रमणअघि चिनियाँ विदेशमन्त्री पनि भारतको बाटो हुँदै आएका थिए। चिनियाँ विदेशमन्त्रीले पनि भारतीय समकक्षीसँगको भेट सकेर काठमाडौं अवतरण गरेका थिए।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाउन जुटेको समयमा नेपालमा अमेरिकी प्रतिनिधिहरुको भ्रमण बाक्लिएको छ। 

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए।

प्रकाशित: Jun 09, 2022| 12:11 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...