शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेपालगञ्जबाट रोल्पा पुर्‍याएर कसरी बदलियो सुन्दर हरिजनको परिचय?

नेपालगञ्जबाट रोल्पा पुर्‍याएर कसरी बदलियो सुन्दर हरिजनको परिचय?

सामान्य चोरी मुद्दामा जेल परेका सुन्दर हरिजनले विजयविक्रम शाहको नामबाट रोल्पा कारागारमा किन र कसरी सजाय भुक्तान गरिरहेका थिए? यो प्रश्नको उत्तर त्यति सहज छैन। कैदी साटफेरको रहस्यमय तर रोचक यो घटनाले प्रहरी प्रशासन, कारागारदेखि सरकारी वकिल र अदालतजस्ता निकायमा हुने गरेका कुरुप चित्रहरु उदाङ्गो बनाएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बुधबार, जेठ २५, २०७९

सुर्खेतको बराहताल गाउँपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारमै मृत भेटिएको भन्दै गत जेठ ४ गते रोल्पा कारागारले शाहकी आमालाई सूचना पठायो। तर शाहकी आमाले आफ्नो छोरा विजय केही महिनाअघि नै कारागारमुक्त भइसकेको कुरा प्रहरीलाई जानकारी गराइन्। आमाबाट यस्तो जानकारी आएपछि प्रहरीले मृत्यु भएको व्यक्तिको तस्बिरसमेत पठायो। तर शाहकी आमाले त्यो फोटो आफ्नो छोरा विजयको नभएको बताएपछि घटनाले नयाँ रुप लियो। 

triton college

मृतक भनिएको व्यक्ति विजय विक्रम शाह नभएर सुन्दर हरिजन थिए। शाह पहिल्यै कारागारमुक्त भैसकेको र वास्तविक मृतकको पहिचान खोज्दै जाँदा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलका सुन्दर हरिजन भएको खुलासा भएपछि घटनाले थप चर्चा पाउन थाल्यो। 

सामान्य चोरी मुद्दामा जेल परेका सुन्दर हरिजनले विजयविक्रम शाहको नामबाट रोल्पा कारागारमा किन र कसरी सजाय भुक्तान गरिरहेका थिए? यो प्रश्नको उत्तर त्यति सहज भने छैन। कैदी साटफेरको रहस्यमय तर रोचक यो घटनाले प्रहरी प्रशासन, कारागारदेखि सरकारी वकिल र अदालत जस्ता निकायमा हुने गरेका कुरुप चित्रहरु विस्तारमा उदाङ्गो बनाएको छ। 

को हुन् विजयविक्रम र सुन्दर हरिजन? 

यी दुवैको पृष्ठभूमि नियालौँ। सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर १ घोडाआँखेका विजयविक्रम शाह हातहतियार तथा खरखजाना मुद्दा/आपराधिक लाभ मुद्दामा पुर्पक्षको लागि बाँके कारागारमा जेल जीवन बिताइरहेका थिए। विजयलाई आपराधिक लाभमा ५ वर्ष कैद र ५० हजार जरिवाना र हातहतियार तथा खरखजाना मुद्दामा थप ८ महिना कैद र ८० हजार जरिवाना हुने गरी फैसला भएको थियो। शाह २०७४ फागुन २३ गतेदेखि प्रहरी हिरासत हुँदै कारागार चलान भएको देखिन्छ। शाहले जरिवाना बुझाएमा २०७९ फागुन २३ मा छुट्ने र यदि नबुझाए २०८० भाद्र १० मा कैद मुक्त हुने समयावधि रहेछ। 

Metro Mart
vianet

मृतक सुन्दर हरिजनकाका बुवा बाबुलाल र आमा राधादेवी। तस्बिर : कान्तिपुर
सुनिता श्रेष्ठको जाहेरीले नेपाल सरकार बादी भएको चोरी मुद्दामा पक्राउ परेका बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलका सुन्दर हरिजनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने गरी बाँके जिल्ला अदालतले २०७५ फागुन १२ गते फैसला गरेको देखिन्छ। यस्तै प्रहरी हवल्दार दिपेन्द्रबहादुर शाहीको जाहेरीले अर्को बाधा विरोध मुद्दामा बाँके जिल्ला अदालतले नै २०७७ असार २९ गते ३ हजार जरिवाना हुने गरी फैसला भएको र त्यसको पुनरावेदन म्याद २०७७ साउन १ मा बाँके जिल्ला अदालतमा जारी भएको देखिन्छ। उक्त म्याद त्यही वर्षको मंसिर ८ गते तामेली भएको छ। 

सामान्य चोरी मुद्दामा जेल परेका सुन्दर हरिजनले विजयविक्रम शाहको नामबाट रोल्पा कारागारमा किन र कसरी सजाय भुक्तान गरिरहेका थिए? यो प्रश्नको उत्तर त्यति सहज छैन। कैदी साटफेरको रहस्यमय तर रोचक यो घटनाले प्रहरी प्रशासन, कारागारदेखि सरकारी वकिल र अदालतजस्ता निकायमा हुने गरेका कुरुप चित्रहरु विस्तारमा उदाङ्गो बनाएको छ।

त्यसअघि जितु पराजुलीको जाहेरीले चोरी मुद्दामा सुन्दर हरिजन २०७६ भदौ १९ गते पक्राउ परेका थिए। बाँके जिल्ला अदालतले मुद्दाको फैसला गर्दा चोरीको मुद्दामा परिणत गरेर २०७६ माघ २१ गते एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको रहेछ। जिल्ला अदालतको फैसलालाई सरकारी वकिल कार्यालयको पुनरावेदनमा उच्च अदालत नेपालगञ्जले एक वर्षपछि २०७७ माघ २० गते सदर गरेको देखिन्छ। 

यसरी तीन वटा मुद्दामा अदालतले गरेको फैसला अनुसार सुन्दरले जरिवाना तिरेमा २०७७ भाद्र १७ मै छुट्ने, यदि जरिवाना तिर्न नसके २०७७ असोज २३ मा छुट्ने अदालती कैदी पुर्जीले देखाउछ। 

रोल्पा कारागार
बाँकेको नेपालगञ्ज कारागारमा सजाय भुक्तान गरिरहेका विजयविक्रम र सुन्दरसहित रणबहादुर रोका र धनराज बुढा गरी चार जनाले संयुक्त रुपमा २०७७ साल असोज ४ गते कारागार स्थानान्तरणका लागि निवेदन दिएका छन्। कारागार व्यवस्था विभाग काठमाडौंमा कारागार कार्यालय बाँकेमार्फत पेस गरेको निवेदनमा उनीहरुले निवेदनमा विगत केही समयदेखि कामको सिलसिलामा रोल्पा जिल्लामा बसोबास गर्दै आइरहेकाले भेटघाट र अन्य विविध कार्यमा सहजता हुने भएकाले पायक पर्ने गरी जिल्ला कारागार रोल्पामा स्थानान्तरण गराउने व्यहोरा उल्लेख गरेका छन्। 

असोज १२ गते बन्दी स्थानान्तरणको विषयमा कारागार कार्यालय नेपालगञ्जले काठमाडौंस्थित विभागलाई पत्राचार गरेकोमा असोज २८ गते विभागले समन्वय गरी बन्दी स्थानान्तरण गर्न स्वीकृति दिएको छ। त्यसको बोधार्थमा रोल्पा कारागार पनि छ। मंसिरको ७ गते बन्दी स्थानान्तरणका सम्बन्धमा नेपालगञ्ज कारागारले रोल्पा कारागारलाई पत्राचार गरेको देखिन्छ भने त्यसको भोलिपल्ट मंसिर ८ गते रोल्पा कारागारका कार्यालय सहयोगीले कैदी बुझी भरपाई गरेको पाइएको छ। 

असोज १२ गते बन्दी स्थानान्तरणको विषयमा कारागार कार्यालय नेपालगञ्जले काठमाडौंस्थित विभागलाई पत्राचार गरेकोमा असोज २८ गते विभागले समन्वय गरी बन्दी स्थानान्तरण गर्न स्वीकृति दिएको छ। त्यसको बोधार्थमा रोल्पा कारागार पनि छ।

रोल्पा कारागार पुगेका सुन्दर यदि जरिवाना बुझाएमा २०७७ पुस २३ गते थुनामुक्त हुन सक्थे। तर उनले तत्काल जरिवाना बुझाएको देखिँदैन। तर सुन्दरकै नामबाट पुस २८ गते जरिवानाबापत जिल्ला अदालत बाँकेमा ४८ हजार पाँच सय रुपैयाँ तिरेको देखिन्छ। तर त्यो रकम सुन्दर र उनको परिवारले तिरेको छैन। 

जरिवाना तिरेकै दिन पुस २८ गते सुन्दर हरिजन थुनामुक्त हुनुपर्नेमा सोही कारागारमा रहेका विजयविक्रम शाह बाहिर निस्किए। थुनामुक्त हुने समयमा आफन्त नभएको भन्दै स्थानीय एक पत्रकारको रोहबरमा शाह छुटेका छन्। निकै सहज रुपमा भैरहेको यति लामो सिलसिलावद्ध घटनाको उजागर सुन्दरको मृत्युपश्चात् बाहिर आयो। यही जेठ ४ गते कारागारको शौचालयमा पासो लगाएको अवस्थामा सुन्दर भेटिएपछि उनले विजयविक्रमको नामबाट जेल सजाय भुक्तान गरिरहेको खुलासा भएको हो। 

बन्दी स्थानान्तरण प्रक्रिया: सेटिङ कि लापरबाही? 

कुनै बन्दीले कारागार स्थानान्तरणका लागि निश्चित प्रक्रियाहरु पार गर्नुपर्छ। बाँकेबाट रोल्पामा स्थानान्तरणका लागि निवेदन दिएका सुन्दर र विजयविक्रमका आफन्त नै रोल्पामा नभएको पाइएको छ। उनीहरुले निवेदनमा उल्लेख गरे अनुसार कुनै पनि आफन्त रोल्पामा बसोबास नगरेको र उनीहरुलाई भेट्न समेत कोही नआएको कारागारको अभिलेखले देखाउँछ। 

कारागार व्यवस्थापन विभाग काठमाडौंले समेत निवेदनमाथि कुनै अध्ययन र छानविन नै नगरी स्थानान्तरणको अनुमति दिएको छ। स्थानान्तरण हुन खोजेका कैदीहरुको आफन्त रोल्पामा छन किन छैनन् भन्नेबारेमा कुनै सोधखोज गरेको पाइएको छैन। 

प्रहरी र कारागार प्रशासनलाई कारबाही गर्न माग गर्दै सुन्दर हरिजनका साथीहरु। तस्बिर : प्रदीप परियारको ट्विट
बाँके कारागारले सवारी चालक दिनेशकुमार यादवको भरमा बन्दीलाई कारागार कार्यालय रोल्पामा बुझाई भरपाई आउने अधिकार दिएको मात्र छैन, रोल्पा कारागारका कार्यालय सहयोगीले कैदी बुझेर भरपाई गरेको अभिलेख छ। कैदी हस्तान्तरण गर्दा कारागार ऐननियम बमोजिम कैदीहरुको स्पष्ट पहिचानका साथ आवश्यक कागजातसहित कैदीलाई चिनाएर जिम्मेवार व्यक्तिलाई बुझाउनुपर्नेमा सवारी चालक र कार्यालय सहयोगीको भरमा नियम विपरीत कैदी पठाउने र बुझ्ने काम भएको छ। 

कारागार व्यवस्थापन विभाग काठमाडौंले समेत निवेदनमाथि कुनै अध्ययन र छानविन नै नगरी स्थानान्तरणको अनुमति दिएको छ। स्थानान्तरण हुन खोजेका कैदीहरुको आफन्त रोल्पामा छन किन छैनन् भन्नेबारेमा कुनै सोधखोज गरेको पाइएको छैन। 

एक वा एकभन्दा बढी कैदी बन्दी स्थानान्तरण गर्दा अपनाउनुपर्ने सुरक्षा संवेदनशिलता र आवश्यक प्रमाणहरुको बिश्लेषण गरेको पाइएको छैन। सुन्दर हरिजन र विजयविक्रम शाहको उमेरमा ९ वर्षको फरक देखिन्छ भने उनीहरु अलग अलग समुदायका समेत भएकाले भाषा, बोलीचाली समेत फरक पर्ने हुँदा जेल प्रशासनले निगरानीमा जानाजान सेटिङ गरेको हो या गम्भीर लापरबाही भएको हो भन्ने प्रश्न प्रमुख देखिन्छ। 

बाँके कारागारमा जेल जीवन बिताइरहेका सुन्दर हरिजनको रिहाइको समय नजिकिँदै गरेको बेला के कारणले आफ्ना आफन्त नभएको रोल्पा कारागारमा आफन्त भएको भन्दै स्थानान्तरण गरियो? त्यसको पुष्टि गर्ने आधार खोजिएको छैन। 

विजयको नामबाट सुन्दरको उपचार

सुन्दर हरिजनलाई विजयविक्रम शाहको कैद सजाय भुक्तान गरिरहेको छु भन्ने जानकारी थियो। विभिन्न समयमा गरिएको उपचारका क्रममा उनले आफूलाई विजय विक्रम शाहको रुपबाट परिचय गराएका छन्। 

मृतक सुन्दर हरिजनलाई विजयविक्रम शाहको नामको ओपीडी टिकटबाट २०७९ वैशाख १३ गते रोल्पा नगरपालिकाको स्वास्थ्य शाखामा उपचार गराइएको छ। शाहको नामको बिरामी पुर्जीबाट स्वास्थ्य कार्यालय रोल्पामा सुन्दर हरिजनले २०७९ वैशाख १४ गते पनि स्वास्थ्य उपचार गराएको रेकर्डमा देखिन्छ। 

कारागार स्थानान्तरण माग गर्दा दिइएको निवेदनमा सुन्दर हरिजनको सही र कैदी पुर्जीमा हस्ताक्षर समेत शंकास्पद देखिएको मात्र छैन, रोल्पा पुगेपछि विजयविक्रम र सुन्दरले एक अर्काको परिचय बदलेर बसेको पाइएको छ।  

कारागारभित्र कैदी बन्दीले सुविधाका रुपमा प्रयोग गर्दै आइरहेको टेलिफोन सुविधालाई दुरुपयोग समेत गरेको पाइएको छ। एक कैदीबन्दीले अर्काको नामबाट फोन गरेको र त्यसमा कारागार प्रशासनको ध्यान नदिएको देखिन्छ। 

नाबालक कसरी थुनामा?

चोरी मुद्दामा पक्राउ परेका सुन्दर हरिजन नाबालक हुन् भन्ने कुरा प्रहरी, सरकारी वकिल र अदालतलाई समेत स्पष्ट रुपमा जानकारी भएको देखिन्छ। यो घटनाको सबैभन्दा लापरबाही पक्ष उनी नाबालक हुँदाहुँदै कसरी कारागार थुनामा पुगे? 

सुन्दर हरिजनका परिवारका सदस्य प्रशासनसँग न्याय माग्दै। तस्बिर: अनलाइन खोजखबर 
सुन्दर हरिजनले अदालतमा गरेको बयानमा १७ वर्ष भनी आफ्नो उमेर लेखाएका छन्। बाँधा विरोध मुद्दामा सुन्दर हरिजन बालक देखिएको कुरा बाँके जिल्ला अदालतबाट जारी भएको पुनरावेदन म्यादबाट पुष्टि हुन्छ। छोटो समयको अन्तरालमा उही व्यक्ति नाबालक भनी बाधा विरोधमा अभिभावकको जिम्मामा छुटेका छन्। तर लगत्तै अर्को मुद्दामा उही व्यक्ति पक्राउ पर्दा बालिग देखाई वयस्कलाई हुने सजाय सुनाइएको छ।

सुन्दर हरिजनलाई विजयविक्रम शाहको कैद सजाय भुक्तान गरिरहेको छु भन्ने जानकारी थियो। विभिन्न समयमा गरिएको उपचारका क्रममा उनले आफूलाई विजय विक्रम शाहको रुपबाट परिचय गराएका छन्। 

नेपालगञ्ज उपमहानगरपालिकामा सुन्दर हरिजनकी आमा राधा चमारले भरेको अनुसूचीमा सुन्दरको जन्म मिति २०५९ जेठ १ गते राखेर २०६० साल असार ९ गते जन्म दर्ता गराएको रेकर्ड छ। अभियोग दर्ता गराउने बेलामा नै अनिवार्य रुपमा अभियुक्तको पहिचान खुल्ने गरी जन्म मितिसहितको परिचयपत्र राख्नुपर्ने र यो ब्यवस्था कारागारका कैदीबन्दीको हकमा पनि ब्यवस्थित रुपमा लागू गरिनुपर्ने भए पनि कुनै प्रक्रिया पूरा नगरी काम भएको पाइएको छ।

इन्सेक, उच्च अदालत बार एसोसिएसन नेपालगञ्ज, एड्भोकेसी फोरम लगायतका न्यायिक निकायहरुले गरेको स्थलगत अध्ययनले अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षी कानुन व्यवसायी र अदालत सबै नाबालक जोडिएको विषयमा बाल न्यायप्रति संवेदनशील नभएको निश्कर्ष निकालेको छ। 

इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले एउटा कैदीबन्दीले पाएको सजाय अर्कोले भोग्ने गरी कैदी पुर्जी र ब्यक्तिसमेत साटिएको घटनाले कारागार प्रशासनको गम्भिर लापरवाही देखिएको बताए। कानुन व्यवसायी लोकबहादुर शाहले यति ठूलो घटना सेटिङ विना अगाडि बढ्नै नसक्ने दाबी गरे।

प्रकाशित: Jun 08, 2022| 17:08 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।