काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै वाम एकता मुलुकको आवश्यकता भएको बताए।
वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका नेताहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो। खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने बताए। खनालले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो। तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन्। त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो, यसको ऐतिहासिकता के हो भन्ने कुरा जहिलेसम्म बुझ्दैनन्, त्यतिबेलासम्म वाम एकता सम्भव नै हुँदैन।’
बजेटमाथि छलफल भइरहेको बेला सांसदहरूको न्यून उपस्थिति राम्रो नभएको उनले बताए। उनले भने, ‘यो कुरा राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसद्लाई कसरी हेर्नुहुन्छ, त्यसको महत्त्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैंले पनि त्यसमा सहभागी हुने कुराको महत्त्वलाई कति गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्छ। यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन।’