मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अहंकार गरे कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी, बालेन र हर्कबाहेक अरुलाई स्वतन्त्र नमान्ने

अहंकार गरे कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी, बालेन र हर्कबाहेक अरुलाई स्वतन्त्र नमान्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै उनले ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनु नपरोस्’ भन्दै चेतावनी पनि दिएका छन्। 

National life

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले थपे, ‘कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम नगरोस्।’ प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताए।

‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बिनायो तर एमालेको जस्तो अहंकार गर्‍यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्। कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ,’ उनले भने।

अध्यक्ष प्रचण्ड बुधबार काठमाडौंमा आफ्नो पार्टीबाट निर्वाचित देशभरका स्थानीय तह प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै थिए। कार्यक्रममा उनले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा निर्वाचित स्वतन्त्र मेयरको नाम लिँदै त्यो जित पार्टीहरुका लागि सबक भएको बताए।

बालेन शाह र हर्क साम्पाङलाई जिताएर मतदाताले आफूहरूलाई सबक सिकाएको उनको भनाइ थियो। आफूहरूले उठाउँदै आएका विषयलाई बालेन र हर्कले अघि सारेर चुनाव जितेको दाबी पनि प्रचण्डले गरे। माओवादीले राम्रो काम गर्न नसकेपछि जनताले सबकको रूपमा स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए। 

Shivam cement

‘जनताको सेवा गर्ने, धारा, पानी फोहोर व्यवस्थापन गर्ने, शोषण, विभेद अन्याय–अत्याचार सिध्याउँछौं भनेर हामी भनेको होइन?,’ उनले भने। बालेन र हर्कबाहेक अरूलाई स्वतन्त्र उम्मेदवार नमान्ने समेत उनले बताए। 

अध्यक्ष प्रचण्डले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताए। स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले माओवादीमाथि शंका पनि व्यक्त गरेको र आशा पनि राखेको उनले बताए।

‘हाम्रो पार्टीप्रति जनताको मोह भंग भइसकेको स्थिति छैन। तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ। जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ। माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने।

जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका जारी गर्ने उनले सुनाए। उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिए। उनले भने, ‘उपदेश दिनका लागि यो आयोजना गरिएको होइन। उपदेश धेरै भइसकेको छ। कामकाजी कुरा चाहिएको छ। हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्‍यो।’

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्व मुख्यसचिव लिलामणि पौड्याल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ।

माओवादी केन्द्रले देशभर १२१ स्थानीय तहमा प्रमुख जितेको छ भने १ सय २६ स्थानीय तहमा उपप्रमुख हात पारेको छ।

प्रकाशित: Jun 01, 2022| 14:59 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...