मैदानमा चलिरहेको फुटबल खेलमा एउटा दृष्य पक्का छ। त्यहाँ दुई विपक्षी टिम आपसमा गोल गर्न संघर्षरत हुन्छन्। हेर्दा त लाग्ला गोल गर्न सहज छ। त्यो कल्पना गर्न पनि सकिएला। तर देखेझैं सहज छैन गोल गर्न। गोल गर्नु र खेल जित्नु गाह्रो कुरा हो।
एउटा खेलभित्र धेरै रणनीति र योजना हुन्छन्। विपक्षी टिमलाई पराजित गर्न प्रशिक्षकले बनाएको रणनीति अपनाउँदै खेल्नुपर्छ। त्यसैले टिमको प्रदर्शन, खेलशैली, नतिजाजस्ता कुरामा प्रशिक्षकको मुख्य भूमिका रहने नै भयो। अनि टिमलाई खेलसँगै उपाधि जिताउने जिम्मेवारीमा पनि प्रशिक्षकको भूमिका हुने नै भयो।
त्यसो भन्दैमा सबै प्रशिक्षकले उपाधि जितेको पो कहाँ देखिन्छ र! कैयौंमा एक दुई जना यस्ता प्रशिक्षक हुन्छन् जसले खेललाई उपाधिसँग जोड्न सक्छन्। र, तिनै सफल प्रशिक्षक हुन्। तिनै सफल प्रशिक्षकको नाम विश्व फुटबलले सम्झिने हो भने एउटा नाम हराउने छैन। धेरैले त उनलाई प्रशिक्षकको पिता भन्ने गर्छन्। ती प्रशिक्षक हुन् जोसे माउरिन्हो। उनीबारे सुन्दा-पढ्दा यो थाहा पाउनुपर्छ कि माउरिन्हो अहिलेसम्मकै सबैभन्दा शृंगारिक प्रशिक्षक पनि त हुन्।
अघिल्लो सिजनमात्र प्रशिक्षक माउरिन्होले पोर्टोबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। उपाधि जितेर माउरिन्हो इंग्ल्यान्ड गए। उनले आफूलाई विशेष रुपमै चिनाए। 'कृपया मलाई अहंकारी नभन्नुहोला, म युरोपको च्याम्पियन हुँ र मलाई लाग्छ म एक विशेष हुँ,' चेल्सीमा अनुबन्ध भएपछि मिडियामा आफूलाई चिनाउँदै माउरिन्होले भनेका थिए।
त्यसपछि उनका खेल र हाउभाउका साथै प्रश्नोत्तरका क्रममा उनले दिने गरेको उत्तरले पनि उनलाई विशेष बनाउँदै आएको छ। माउरिन्होले पछिल्लो समय रोमाबाट युरोपा कन्फ्रेन्स लिग जितेका छन्। त्यो उपाधिसँगै उनले युरोपका सबै मुख्य उपाधि जिते। च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिग नै त हुन् युरोपका ठूला प्रतियोगिता।
घरेलु लिगको कुरा गर्ने हो भने प्रिमियर लिग, ला लिगाजस्ता प्रतियोगिता पर्छन्। त्यसको उपाधिले आफ्नो प्रशिक्षण यात्रा दौडाइसकेका छन् माउरिन्होले। चार दिनअघि त हो उनले डच क्लबलाई हराउँदै कन्फ्रेन्स लिगको उपाधि जितेको।
पोर्चुगलको सेतुबालमा सन् १९६३ जनवरी २६ मा जन्मिएका माउरिन्होका पिता गोलकिपर जोसे म्यानुयल माउरिन्होले फेलिक्स पोर्चुगिच राष्ट्रिय टिमबाट एक पटक खेल्न पाएका थिए। तर उत्कृष्ट खेलाडीका रुपमा परिचय बनाउन सकेनन्। तिनै फेलिक्सले छोडेको पदचापमा हिँड्न चहान्थे माउरिन्हो। आखिर फेलिक्स उनका पिता थिए। माउरिन्होले पिताको पथ पछ्याए।
तर उनले राष्ट्रिय टिमबाट भने खेल्न पाएनन्। रियो एव, बेलेनेन्से, सिसिम्ब्राबाट उनले व्यावसायिक फुटबल खेले। खेलाडी जीवन खासै चम्कन सकेन माउरिन्होको।
अनि लिस्बनको टेक्निकल युनिभर्सिटीबाट खेलकुद विज्ञान पढे। सहरकै विद्यालयमा खेल टिचरको रुपमा काम गरे। स्थानीय क्लबमा सहायक प्रशिक्षण गरे। अनि सुरु भयो उनको प्रशिक्षण जीवन। माउरिन्होले युवा टोलीको मुख्य प्रशिक्षकको जिम्मा पाए। भिक्टोरिया क्लबमा थियो।
एकपटक स्पोर्टिङ लिस्बनमा विदेशी प्रशिक्षक आए। ती प्रशिक्षक थिए बबी रोबसन। रोबसनलाई अंग्रेजी बोल्न सक्ने स्थानीय मानिस चाहिएको थियो। त्यतिबेला नै उनले ट्रान्सेलटरको काम गरेका थिए। यो त सन् १९९२ को समय थियो।
उनले मुख्य प्रशिक्षक रोबसनसँग धेरै कुरा सिके। रोबसन अर्को वर्षको डिसेम्बरमा पोर्टो क्लबमा अनुबन्ध भएपछि माउरिन्होले पनि त्यतै जाने निर्णय गरे। केही समयको सहकार्यले रोबसनको माउरिन्होमाथि विश्वास बढ्दै थियो। यी दुईबीच सम्बन्ध विकास हुँदै गयो। पोर्टोमा रोबसनसँगको सहकार्यले माउरिन्होमा प्रशिक्षण कला विकास हुँदै गयो।
रोबसन जता जान्छन् माउरिन्हो त्यतै जाने भए। १९९६ मा रोबसन स्पेनिस क्लब बार्सिलोना पुग्दा माउरिन्हो त्यतै गए। माउरिन्होले त्यहाँ क्याटलानको फुटबल सिके। साथै टिमको महत्त्वपूर्ण सदस्य बने। बार्सिलोनामा रोबसनले राम्रो नतिजा दिलाउन नसकेपछि बर्खास्तीको सिकार भए। यद्यपि माउरिन्होको जागिर गएन। र, दुई वर्ष डच प्रशिक्षक लुइस भान गालसँग सहकार्य गरे। उनको भाग्य त्यहिँबाटै विकास भयो कि माउरिन्होलाई बार्सिलोनाको बी टिम र सिनियर टिमका लागि केही कपमा प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।
चार वर्ष बार्सिलोनामा बिताएका उनले भने पछि एकपटक भनेका थिए, 'अन्य प्रशिक्षकको तुलनामा बार्सिलोनाको दर्शनबाट बढी प्रभावित भए र बार्सिलोनमा बिताएको चार वर्षमा प्रशिक्षणको आधारभूत अवस्थामा थिएँ।'
स्वदेश फर्किएर पनि प्रशिक्षण
चार वर्ष क्याटलानको अनुभव लिएर माउरिन्होले बार्सिलोनाबाट बिदा लिए। त्यसपछि त उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी आउन थालिहाल्यो। सन् २००० सेप्टेम्बरमा उनले बेनफिकाको मुख्य प्रशिक्षक हुन स्वीकार गरे। पहिलोपटक मुख्य प्रशिक्षक भए। तीन महिनामा उनले १० खेलमध्ये एकमा मात्रै हार बेहोरे। त्यसपछि दे लेइरिया एफसी क्लबका लागि बेनफिका छाडे।
दुईवटा क्लबमा प्रशिक्षकको अनुभव निखारेपछि माउरिन्होको प्रशिक्षण शैली व्यापक सुधार गरे। त्यसपछि त हो पोर्चुगिच क्लब पोर्टोसँग उनको ताना जोडिएको। त्यो समयमा कसले सोचेको थियो होला र उनी एकदिन 'प्रशिक्षकका पनि पिता' बन्छन् भनेर?
उतिबेला उनी खेलमा नयाँ र वैज्ञानिक शैली अपनाएर विशेष ढंगले खेल्नुपर्छ भन्ने सोच्थे। त्यसरी नै खेल खेलाउने गर्थे। नयाँ तथा आक्रामक शैलीले गर्दा विस्तारै विश्वसामु परिचित बन्दै गए। पोर्टो माउरिन्होले अप्रत्याशित सफलता हात पारे। सन् २००३ मा टिमलाई तीनवटा उपाधि जिताए, जसमा दुई घरेलु प्रतियोगितासँगै महत्त्वपूर्ण यूइएफए कप पर्छन्। अब उनी प्रशिक्षकबाट स्टार प्रशिक्षक बन्ने बाटोमा थिए।
एकै सिजन तीन उपाधि त्यसमा एक यूइएफए कप पनि। ती सबै जिताएपछि माउरिन्होको प्रशिक्षण शैलीमा विश्व फुटबलले विशेष चासो दिन थाल्यो। अर्को सिजन त माउरिन्होको लागि झनै विशेष र ऐतिहासिक रह्यो। किनकी पोर्टोले त्यो वर्ष युरोपेली च्याम्पियन्स लिग जित्यो। फाइनलमा फ्रेन्च क्लब मोनाकोलाई ३-० ले हराउँदै माउरिन्हो युरोपको च्याम्पियन बने। च्याम्पियन्स लिगको उपाधि जितेपछि उनी सामान्य प्रशिक्षक रहेनन्। अहिलेसम्मकै उनको ठूलो उपाधि त्यो नै हो।
प्रिमियर लिगको प्रलोभन
पोर्चुगिज क्लबमा पाएको सफलताले उनलाई हौस्याएको थियो। अब युरोपका ठूला क्लबले उनलाई अनुबन्ध गर्ने भए। माउरिन्हो पनि पोर्चुगल छाड्ने निर्णयमा पुगे। अब उनको नयाँ गन्तब्य कता? फुटबल बजार यो प्रश्नले तातिन थाल्यो। गसिपको धेरै समय नबित्दै चेल्सीले उनलाई अनुबन्ध गरेका सूचना विश्वभरि फैलिहाल्यो।
रसियन व्यापारी रोमन इब्राहिमोविचले भर्खरै क्लब किनेका थिए। उतिबेलासम्म चेल्सी अहिलेको जस्तो ठूलो क्लब पनि त थिएन। कुरो त्यही १८ वर्षअघिको हो।
पाँच मिलियन अमेरिकी डलरमा चेल्सीमा भित्रिएका थिए माउरिन्हो। त्यतिबेलाका सबैभन्दा धेरै तलब पाउने प्रशिक्षक थिए उनी। लन्डन बसाइका तीन वर्षमा उनले तीन उपाधि जिते। कसरी जितको बाटो समाउने भनेर उनी क्लबमा पुगेपछि चेल्सीले सिकेको हो। प्रिमियर लिग, काराबाओ कप र एफए कप गरी तीन उपाधि जिताए उनले। यद्यपि क्लबलाई च्याम्पियन्स लिग भने जिताउन सकेनन्।
उनी धेरै बोल्न रुचाउँछन्। नचाहिँदो विषयमा पनि प्रतिक्रिया दिइहाल्ने स्वाभावका छन्। उनको प्रतिक्रिया कहिलेकाहिँ भद्दा पनि हुने गर्दछ। सायद यसैले होला। इङग्लिस मिडियासँग उनको सम्बन्ध राम्रो हुन सकेन। कैयौं पटक उनी मिडियामा विवादित बन्न पुगे। र, मिडियाको हेडलाइन त धेरै नै बने। विस्तारै, इब्रामोबिचसँगको सम्बन्ध राम्रो रहिरहन सकेन। क्लबमा स्थिति अनुकूल नभएपछि सेप्टेम्बर २००७ मा उनले क्लब छाड्ने निर्णय गरे।
इटालीमा माउरिन्हो
अर्को वर्ष माउरिन्होलाई इटालियन क्लबको निम्तो आयो। निमन्त्रणा गर्ने क्लब थियो इन्टर मिलान। इन्टर मिलानले अन्तिम पटक १९६५ मा च्याम्पियन्स लिग जितेको थियो। अब उसलाई त्यो ट्रफीको पर्खाइ लामो भइसकेको थियो। धैर्य राख्न सकिरहेको थिएन। एसी मिलानबाट छुट्टिएपछि उसले इटालीमा इतिहास बनाए पनि त्यो धेरै पुरानो भइसकेको थियो।
यता इटालीले भर्खरै मात्र विश्वकप जितेको थियो। त्यसमा इन्टरका धेरै खेलाडी थिए। अब उसलाई च्याम्पियन्स लिग जित्नु थियो। र, इन्टरको त्यो सपना माउरिन्होले पूरा गरिदिए। सन् २०१०को एक रात मिलान सहरका लागि ज्यादै खुसीको रात बन्यो। फरक तथा विशेष रह्यो। किनभने सिजन सकिँदा उनको टिमको पोल्टामा ट्रिबेल उपाधि पो थियो- इटालियन सिरि ए, इटालियन कप र च्याम्पियन्स लिग। ४५ वर्षपछि टिमलाई यसरी उपाधि जिताएका थिए। टिमका लागि राम्रो खेल खेलाइरहेका उनको त्यहाँ पनि मिडिया तथा अन्य प्रशिक्षकहरूसँग सम्बन्ध राम्रो भएन। उनले इटाली छाडे।
अब प्रशिक्षणको कला देखाउने समय स्पेनमा थियो। सधैंको बलियो र धनी क्लब रियल पुगे माउरिन्हो। तर यसपटक उनको गन्तब्य क्याम्प नाउ थिएन। जहाँ उनले पहिले काम गरेका थिए। उनी त स्पेनको राजधानी मड्रिडको सान्टियागो बर्नाबेउमा पो जाँदै थिए। पहिले काम गरेको बार्सिलोनाको निकट प्रतिद्वन्दी।
उनले सन् २०१० मा सान्टियागो बर्नबाउमा पाइला राख्दा स्पेनमा क्याटलान टोलिको एकाधिकार थियो। त्यतिबेला बार्सिलोनालाई हराउनु धेरै ठूलो कुरा हुन्थ्यो। स्पेनको राष्ट्रिय टिमले पनि बार्सिलोनाकै खेलाडीले भरिभराउ बनाएर युरो कप र विश्वकप जितिसकेको समय थियो त्यो।
त्यस्तो अवस्थामा रियलमा पुगेर उनले कोपा डेल रेको उपाधि जिताए। रियलले त्यतिबेला १८ वर्षको खडेरीमा मलम लगाएको थियो। जहाँ रियलले फाइनलमा बार्सिलोनालाई पराजित गर्यो। र, बार्सिलोनाको दबदबा माउरिन्होले तोडे। त्यस्तै, रियलले सन् २०११ र १२ को ला लिगा सिजनमा किर्तिमानका साथ जित्यो। जसमा रियलले एकै सिजनमा १०० अंक बनाउँदै १२१ गोल गरेको थियो। जहाँ ३२ जित पर्दछ। यहि सिजन रियलले स्पेनिस सुपर कप पनि जित्यो जहाँ उसले निकटतम प्रतिद्वन्द्वी बार्सिलोनालई पराजित गर्यो। तर उनले रियललाई च्याम्पियन्स लिग भने जिताउन सकेनन्। तीन वर्ष रियल सम्हालेका उनले तीन उपाधि जिते।
फेरि चेल्सी, युनाइटेड अनि टोटेनहम
सफल प्रशिक्षकका रुपमा स्थापित माउरिन्हो फेरि चेल्सी फर्किए। सन् २०१३ मा स्पेनिस क्लब रियल मड्रिडबाट उनी चेल्सी पुगे। चेल्सीका लागि यसअघि नै दुईपटक प्रिमियर लिग जिताइसकेका माउरिन्हो फेरि सन् २०१४ र १५ मा प्रिमियर लिग जिताउन सफल भए।
पाँच वर्षपछि उनले क्लबलाई प्रिमियर लिगको उपाधि दिलाए। त्यसै सिजन चेल्सीले फुटबल लिग कप (इएफएल)को फाइनलमा टोटेनहम हट्सपरलाई पराजित गर्दै उपाधि जित्यो। अर्को सिजन क्लब खराब स्थितिमा रहँदै उपाधिविहीन भयो। प्रिमियर लिगमा दशौं स्थानमा रहँदै सिजन सकेको चेल्सीको खराब प्रदर्शनका कारण माउरिन्होलाई वर्खास्त गरियो।
सर एलेक्स फर्ग्युसनले सन् २०१३ मा म्यानचेस्टर युनाइटेड छाडेपछि युनाइटेडले राम्रो प्रशिक्षकको खोजी गरिरहेको थियो। किनकी सर एलेक्सले क्लब छाडेपछि युनाइटेड इतिहासकै खराब स्थितिमा पुगेको थियो। त्यसै क्रममा माउरिन्होले युनाइटेडलाई रोजे। लन्डनबाट म्यानचेस्टर पुगे।
पहिलो सिजनमै उनले ओल्ड ट्राफोडमा मुस्कान फिर्ता ल्याए। दुई उपाधिसहित युनाइटेडमा पहिलो सिजनको समाप्ति गरे जसमा ईएफएल कप र युरोपा लिग जितेका थिए। पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरेको युनाइटेड त्यसपछि फेरि उपाधिविहीन भयो। एफएफ कपको फाइनल पुगेको युनाइटेड माउिरिन्होको पूर्वक्लब चेल्सीसँग पराजित भयो।
सिजनको सुरुवाती खेलहरूमा राम्रो प्रदर्शन गर्न नसकेपछि टोटेनहम हट्सपरले तत्कालिन प्रशिक्षक माउरियो पोचेटिनोलाई बर्खास्त गर्यो। सन् २०१९ नोभेम्बर २० मा माउरिन्होले टोटेनहममा पोचेटिनोको उत्तराधिकारीका रुपमा प्रशिक्षण सम्हाले। टोटेनहमलाई उपाधिको खडेरी थियो र त्यसलाई तोड्ने जिम्मा अब माउरिन्होको काँधमा आइपर्यो। पहिलो सिजन टोटेनहमले प्रिमियर लिगमा छैटौं स्थानमा रह्यो र च्याम्पियन्स लिगमा छनोट हुन सकेन। विगत लामो समयसम्म उपाधिविहीन भएको क्लबमा माउरिन्होलाई उपाधि जिताउन ठूलो चुनौती थियो। तर उनी पनि सफल हुन सकेनन्। उपाधिविहीन भए। क्लबलाई राम्रो नतिजा दिलाउन नसकेपछि सन् २०२१ अप्रिल १९ मा क्लबले माउरिन्होलाई बर्खास्त गर्यो। म्यानचेस्टर सिटीविरुद्ध इएफएल कपको हुनु एक साताअघि उनी बर्खास्तगीमा परे।
फेरि इटाली
टोटेनहमबाट बर्खास्त भएपछि सन् २०२१ मे ४ मा उनी पाउलो फोन्सिकाको स्थानमा इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भए। आफ्नो पहिलो सिजन घरेलु लिग सिरी ए मा आफ्नो टिमलाई शीर्ष चारमा राख्न असफल भए। तर पनि उनको प्रशिक्षणामा रोमाको युवा टिमले धेरै खेलमा अपराजित यात्रा गर्यो।
तर सिजन सकिँदै जाँदा उनको नाममा एउटा दुर्लभ कीर्तिमान हात लाग्यो। उनले रोमालाई पहिलो पटक युरोपा कन्फ्रेन्स लिग जिताए। यससँगै माउरिन्हो युरोपियन प्रतिस्पर्धामा चार फरक क्लबबाट युरोपको मुख्य प्रतियोगिता जित्ने पहिलो प्रशिक्षक बने। रोमाले विगत ११ वर्षदेखि कुनै पनि उपाधि जित्न सकेको थिएन।
माउरिन्होको खेल शैली
आक्रामक खेल खेलाउनु माउरिन्होको विशेषता हो। यद्यपि उनी बसपार्क शैलीका लागि प्रख्यात छन्। उनी रणनीतिक फुटबल खेलाउन रुचाउँछन्। उनको टिमको सामान्य विशेषता भनेको तीनभन्दा बढी मिडफिल्डरसँग खेल्नु हो। खेल खेलाउने सन्दर्भमा उनी निकै लचिलो छन्। ४-४-२ उनको चलेको शैली हो। त्यस्तै, उनले ४-३-३, ४-४-१-१ र ४-२-३-१ मा पनि खेलाउन रुचाउँछन्।
उनका खेलाडीहरू अप्ठ्यारो स्थितिमा विनादबाब खेल्ने गर्छन्। माउरिन्हो खेललाई पूर्ण रुपमा पढ्न सक्छन्। त्यसैले उनी परिस्थिति अनुसार खेलको स्थिति परिवर्तन गर्न सक्छन्। जसले गर्दा उनको टिमले उत्कृष्ट नतिजा निकाल्ने गर्छ। उनको प्रशिक्षण शैली मनोविज्ञानबाट धेरै प्रभावित छ।
– एजेन्सीहरुको सहयोगमा