काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रिय सभागृहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि दुवैले महानगरपालिकाको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
निर्वाचन सम्पन्न भएको १८ दिनपछि मेयर शाहले आज निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै शपथ ग्रहण गरेका हुन्।
उनलाई प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए। अधिकृतसँग नेपालीमा शपथ लिएपछि शाहले नेवारी भाषामा छुट्टै शपथ पनि लिएका थिए।
आफूले शपथ लिएपछि मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराएका छन्। बालेनले नेपालीमा पढेको शपथ डंगोलले नेवारीमा उल्था गरेर पढेकी थिइन्।
दुई दिन लगातार सार्वजनिक बिदा परेका कारण निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र जनप्रतिनिधिले शपथ लिएका हुन्।