जनकपुरधाम- लोकसंस्कृतिमा समृद्ध मानिने मिथिलामा साउनमा झुलनोत्सव मनाइन्छ। मन्दिरमा मनाइने झुलनोत्सका बेला घरघरमा भने कजरी गाउने गरिन्छ। मैथिली लोकगीतमध्ये एक कजरीलाई दम्पती प्रेम र रति दर्शाउने गीतका रूपमा लिइन्छ। विशेषगरी नवविवाहिता महिला कजरी गाउँछन्।
वर्षाको मौसममा गाइने विशिष्ट लोकगीत कजरी भगवान पूजासँग पनि सम्बन्धित छ। मिथिलाञ्चलका मन्दिरमा सीताराम वा राधाकृष्णको प्रतीमालाई विशिष्ट आसनमा राखेर झुलाउँदै झुलन गीत गाइन्छ। यसलाई झुलनोत्सव पनि भन्ने गरिएको छ।
कजरीले महिलाको विरहपन तथा एकाकीपनको वेदनालाई दर्शाउने गरेको मैथिली साहित्यकार एवं राजनीतिज्ञ बिन्दु ठाकुरले बताइन्। उनका अनुसार मैथिल समाजको गरिबी, सामाजिक अवस्था र बाध्यतालगायतका विषयवस्तु कजरीले झल्काउने गरेको छ।
मूलतः परिवारको भरणपोषणका लागि रोजगारी खोज्दै विदेशिएका श्रीमानको विरहमा यो गीत गाइने उनको भनाइ छ। मधुमासको समयमा पति टाढा रहनुपर्ने बाध्यता भएकाले नव/विवाहिता महिला कजरीका माध्यमबाट आफ्ना वेदना पोख्ने ठाकुरले बताइन्।
'कजरी' लोकगीत भएकाले यो परम्पराको सुरुवात र समयबारे धेरै कुरा भन्न कठिन हुने ठाकुरले बताइन्। मिथिला सभ्यताको विकास भएसँगै यो गीतको दायरा विस्तार भएको हुन सक्ने उनको अनुमान छ। मिथिला सभ्यता समृद्ध भएसँगै यसको दायर पनि विस्तार हुँदै आएको भन्न सकिन्छ।
कजरी गायनको आरम्भ देवी गीतबाट हुन्छ। यो गीतमा वर्षा ऋतुका साथै मधुमासको स्पष्ट चित्रण गरिन्छ। पछि विस्तारै यो गीत नव/विवाहिताहरूको एकलापन, विरह, वेदना र पारिवारिक बाध्यतासम्म पुग्छ। घरका नन्दहरू भाउजूलाई सम्झाउने प्रयास गरिरहन्छन्।
घर छोडेर परदेश गएका प्रियतमसँगको मिलन आशामा प्रेमिका तड्पिएकी अवस्थालाई कजरी चित्रण गर्न खोज्छ। प्रेमीप्रेमिकाको वियोग व्यक्त गर्ने कजरी गायकका आँखामा आँसु भरिएको हुन्छ। साउनको उल्लासमय वातावारणमा पनि मन चिन्तित देखिन्छ। कालो बादलको गर्जन र बिजुलीको चम्काइले मनमा चिन्ता उत्पन्न गराइदिन्छ।
'करु कौन जतन अरी ऐ सखी,
मोरे नयनो से बरसे बादरिया।
उठी काली घटा, बादल गरजे,
चली ठन्डी पवन, मोरा जिया लरंजे।
यी पिया मिलनको आस सखी,
परदेश गए मोरे साँवरिया'
विरहको पीडाको आवाजले मनको व्यथा तथा आँखाबाट झरेको आँसुले त्यसबेलाको अवस्थालाई निकै कारुणिक बनाइदिन्छ।
सखिया श्याम नही घर आये,
वरखा वरसन लागेना
बादल गरजे बिजुली चमके
जियरा धडके ना
दाजु परदेसिएको अवस्थामा भाउजूका विरह र कारुणिक अवस्था देखेपछि नन्दहरू झुलामा झुल्नका लागि भाउजूलाई आग्रह गर्छन्। तर, भाउजू तयार हुँदिनन्। किनभने उनका सामु प्रियतम हुँदैनन्। झुलनोत्सवको वातावरणमा बिना प्रियतमको झुला झुल्नुको महत्त्व नहुने भाउजू गीतकै माध्यमबाट बताउँछिन्।
पतिपत्नी र प्रेमीप्रेमिकाको अनुराग व्यक्त गरिने कजरीमा नन्दभाउजूकै गायकी देख्न सकिन्छ। बाध्यतावश विदेश बिदेसिएका पतिलाई आउन गीतमा आग्रह गरिन्छ।
सखी हे सावनमे डरलागे
जियरा धड्धड् धड्केना
श्याम घटा चहु ओर
देखावय बिजुली चमकेना
पिया मोरा परदेश गेल सुन सेजवा भावेना
झिगुंदादुा मोर पपिहरा कोइली कुहे ना
सखी हे सावनमे डर लागेना।
साउनको सरस र सुन्दर मौसम रतिरागका लागि पनि सुहाउँदो हुने तर पति साथमा नहुनुको पीडा गीतमा दर्शाइन्छ। वितगको रतिरागको सम्झना पनि कजरीमा व्यक्त गर्न खोजिन्छ। विगत सम्झिएर काउकुति लागेको गीतमै स्मरण गरिएको छ।
सावन भादोमे वलमुए
हे पाँच रुपैयाँ नोकरी सेलायल
चुअई बंगला, गहना गदाउ
कि छ वाउवंगला
साउन भादो मे सावन भादोमे
वलमुए हे चुअई छई वंगला
पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको यो गीत कुनै समयमा घरघरमा समूह बनाएर नै गाइने गरिन्थ्यो। मैथिल समाजमा यसलाई मनोरञ्जनको साधनको रूपमा लिइन्थ्यो। तर समाजमा आधुनिकता बढेसँगै कजरीमार्फत् हुने सामीप्यता समेत घट्दै गइरहेको मैथिल संगीतकार सुनील मल्लिक बताउँछन्। पारिवारिक चरित्र व्यक्तिवादी हुन थालेपछि कजरीजस्ता थुप्रै मौलिक संस्कृति धरापमा परेको भन्दै संगीतकार एवं गायक मल्लिकले चिन्ता व्यक्त गरे।
पावस गीतसमेत भनिने कजरी गीतलाई कुनै विशेष रागमा बाँध्न कठिन भएपनि यसमा मुख्यतः पिलु राग, भोपाली रागको प्रयोग हुन्छ। संगीतकार मल्लिकले कजरी गीत शास्त्रीय गीतका साथै लोकगीतको अद्भूत संगम रहेको बताए। शास्त्रीयता प्रचुर मात्रामा रहेकोले कजरी गाउन त्यति सहज नरहेको उनी बताउँछन्।
झुलापर्वसँगै गाइने कजरीले मिथिला महिलाको बाध्यता, पतिवियोग र गरिबी वर्णन गर्छ। तर पछिल्लो समय यो गीत गाउने चलन हराउँदै गएकोमा संस्कृतिकर्मीहरूलाई चिन्तित बनाएको छ।