काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) मा अनियमितता भएको आरोप लगाउँदै त्यसको छानबिनका लागि पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ज्ञापन पत्र बुझाएका छन्।
दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्षसमेत रहेका मणि कुँवरले एन्फाले पछिल्लो समयमा गलत गतिविधि गरेको आरोप लगाउँदै ५ बुँदे ज्ञापनपत्र युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्टलाई बुझाएको हो।
पूर्व वरिष्ठ उपाध्यक्ष कुँवरले एन्फामा आएका कर्माछिरिङ शेर्पा नेतृत्वको नयाँ कार्यसमितिले संसारमै नभएको रेलिगेशन विनाको लिग गर्न लागेको बताएका छन्।
त्यस्तै, कर्माछिरिङ शेर्पा प्यानललाई चुनावमा सहयोग गरेकै भरमा विदेशी नागरिक नविन पाण्डेलाई फिफा कांग्रेसमा सहभागि गराएको आरोप लगाएका छन्। राखेप र मन्त्रालयमा बुझाएको पत्रमा मणिले रसिया विश्वकपका लागि फिफाबाट २५० टिकट ल्याए पनि पारदर्शिता नदेखाएको, एन्फा चुनाव भएको ३ महिना पनि नबित्दै चितवनमा विशेष साधारणसभा गरेर विधान संशोधन गरेको आरोप लगाएका छन्।
आफ्नो मनोमानी तरिकाले प्रदेशमा संरचना गर्न खोजेको उनको भनाइ छ। गत वैशाखमा एन्फा चुनावबाट ४ वर्षका लागि कर्माछिरिङ शेर्पाको नेतृत्वमा पूरै प्यानल विजयी भएको थियो।
विज्ञप्ति
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४