काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका प्रश्नहरुको जवाफ दिएका छन्।
शनिबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रमका विषयमा उठेका विविध विषयको ३० बुँदे जवाफ दिएका हुन्।
उनले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूमि फिर्ताका विषयमा कूटनीतिक प्रायस भइरहेकोसमेत बताएका छन्। उनले भने, 'नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ। सीमासम्बन्धी विषय संवेदनशील विषय भएकोले वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ। यस अनुरुप हाम्रो कूटनीतिक प्रयास जारी छ। सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको छ।'
उनले भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा वर्तमान सरकारको प्रतिबद्धता कुनै पनि सरकारको भन्दा कम नभएकोसमेत बताएका छन्।