काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बढीगण्डकी जलविद्युत निमार्णका लागि सरकारले स्रोत जम्मा पारेको बताएका छन्। आर्थिक वर्ष २०७९-८० नीति तथा कार्यक्रममाथि छलफलका क्रममा विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले बूढीगण्डकी जलविद्युत निर्माणका विषयमा शंका नगर्न आग्रह गरेका हुन्।
उनले भने, 'बूढीगण्डकीका विषयमा हामीले स्रोत जम्मा पारेका छौं। सरकारसँग पैसा छ। बूढीगण्डकीमा शंका नगरे हुन्छ।'
सरकारले यसअघि चिनियाँ कम्पनी गेजुवालाई दिएको बूढीगण्डकी जलविद्युत परियोजना रद्द गर्दै नेपाल सरकार आफैंले बनाउने निर्णय गरेको थियो।
त्यसैगरी एमसीसीका विषयमा पनि प्रधानमन्त्री देउवाले ब्याख्यात्मक घोषणा एमसीसीको अंग भएकोले त्यसमा कुनै शंका नगर्न आग्रह गरेका हुन्।
त्यसैगरी बीआरआईका विषयमा पनि उनले राष्ट्रिय सहमति गरेर राष्ट्रिय आवश्यकताका आधारमा निर्णय गर्ने बताएका छन्। उनले कृषि मलका विषयमा पनि रुस-युक्रेन युद्धका कारण आउन ढिलाइ भएको र चाँडै ल्याउन सरकारले पहल गरिरहेको बताएका छन्।
प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजका विषयमा पनि विगत केही वर्षदेखि बजेटमा परिरहेका कारण यसवर्ष नीति तथा कार्यक्रममा नराखिएको बताएका छन्। उनले भने, 'गेटा अस्पताल किन राखिएन भन्ने गरिएको छ। गेटा अस्पताल त पुरानो नै हो, आजको होइन नि त्यो। बजेट आउँदैछ बजेटमा। डडेल्धुरामा राख्यो भन्दैमा त्यहाँ किन राखिएन भन्ने कुरा हो? त्यहाँ त आउँछ आउँछ, आएकै छ। यसकारण यसमा शंका गर्नुपर्ने कुरा छैन।’