काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय अझैँ उल्झनमा रहेको बताएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन नबनाउँदा संघीयता कार्यान्वयनको विषय अल्झिरहेको बताए।
कानुन नबनेकै कारण संघीयता कार्यान्वयनको विषय अल्झिएको यादवले बताए। 'प्रदेशहरू कानुन र अधिकार, प्रहरी प्रसाशन र कर्मचारीको अभावमा झेलिरहेका छन्। उल्टै प्रदेश कामै छैन भनिन्छ। यो दोहोरो चरित्र अन्त्य हुन पर्छ,' उनले भने।
उनले यस्तो चरित्रका कारण राज्यले गल्ती गर्दा नागरिकले दु:ख भोगिरहेको बताए। संघीय निजामति ऐनको अभावमा प्रदेशहरूले काम गर्न नसकेको उनले बताए। संघ, प्रदेश र स्थानीय निकायबीचको क्षेत्राधिकार कानुनको अभावमा कार्यान्वयन हुन नसकेको यादवको भनाइ छ।
यसका साथै यादवले सरकारले आफ्नै नागरिकलाई नागरिकताबाट बञ्चित गरिरहेको आरोप समेत रहेका छन्। आफ्नै नागरिकका सन्तान गैरनागरिक भएर बस्नु स्थिति मुलुकमा विकराल रहेको यादवले बताए।