काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका छन्। दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको माग बमोजिम बोल्ने क्रममा प्रयोग गरेका असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ गरेका हुन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा टिप्पणी गर्दा असंदीय शब्द बोलेको भन्दै एमालेले संसद बैठक अवरोध गरेको थियो। ‘माननीय सदस्यहरु आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका माननीय सदस्यहरुले नियमापत्ति जनाउनुभएको हुँदा माननीय मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सापकोटाले रुलिङ गरे।
सभामुखको रुलिङ पछि संसद बैठक सञ्चालन भएको छ। सांसदहरुले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कमिसनका लागि नेपाल आयल निगमलाई निजीकरण गर्न लागिएको आरोप लगाएका थिए। त्यसमा उत्तर दिँदै मन्त्री बडूले ओली सरकारका पालामा नै सबैभन्दा भ्रष्टाचार र कमिसनको खेल भएको आरोप लगाएका थिए। उनले ''साउनमा आँखा फुटेको गाईले सधैँ हरियो देख्छ' भन्ने कुरा स्मरण गर्छु' भन्दै ओलीमाथि व्यंग्य गरेका थिए। बडूको उक्त अभिव्यक्तिपछि एमाले सांसदले संसदमा अवरोध गरेका थिए।