काठमाडौं- प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले स्थानीय तहका जनप्रतिनिधिमाथि नियन्त्रण गर्ने कुनै व्यवस्था नभएको उल्लेख गरेका छन्। बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद त्रिपाठीयले यस्तो बताएका हुन्।
'स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुहुँदैन। हामीले शक्तिशाली स्थानीय तह निर्माण गरेका छौँ विश्वमा। अजम्बरीका बुटी खाएजस्तै जनप्रतिनिधि हुनुहुन्छ। प्रधानमन्त्री र राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छौँ,' त्रिपाठीले भने, 'स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई नियन्त्रण गर्ने न त अविश्वसको प्रस्ताव ल्याउन सक्ने व्यवस्था छ, न त महाभियोगको व्यवस्था छ। संविधान यसमा चुकेकै हो।'
उनले स्थानीय तहमा गैरदलीय आधारमा प्रतिनिधि ल्याउने व्यवस्था गर्नुपर्ने माग गरे। यसो गर्दा राम्रा उम्मेदवार छान्न सकिने उनले उल्लेख गरे। 'राजनीतिक रूपमा अस्वस्थ प्रतिस्पर्धालाई यसले नियन्त्रण गर्छ,' उनले उल्लेख गरे।