काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र धाक–धम्कीबाट पछाडि नहट्ने मतदाताको रहेको बताएका छन्।
अन्तिम मतपरिणाम सार्वजनिक भएको भोलिपल्ट आज बुधबार पत्रकार सम्मेलन आयोजना गरेका पौडेलले भने, ‘निर्वाचित नभए पनि मलाई जेजसरी मत आयो, यो सन्तोषजनक हो। पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली छ।’
भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मत ल्याएर निर्वचित भएकी छन्। पौडेल १४ हजार ७२८ मत ल्याएर तेस्रो भए। ‘१०–१२ हजार मत जुन हामीलाई आएको देखिन्छ, त्यो बदर भएको छ। रुख र हाम्रो चुनाव चिन्ह भुइँकटहरमा छाप लगाएर ती बदर भए। प्राविधिक रूपमा बदर मत गणना नहोला तर हामीलाई समर्थन त हो नि। दुवै जोड्दा हामीले ल्याएको मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ,’ पौडेलले भने।
नेपाली कांग्रेसका पुराना नेता पौडेल पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उठेका हुन्। अब आउने संघीय संसद् र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन भन्दै केही मान्छेको स्वार्थ पूरा गर्ने, देशको लोकतान्त्रिक पद्धतिलाई योगदान नपुर्याउने भए आफूहरु सोचविचार गरेर अगाडि बढ्ने उनले बताए।
पार्टीले आफूलाई कारबाही गरेको भए पनि त्यो तर्साउनका लागि मात्रै भएको उनले बताए। ‘हामीले केही कसुर गरेका नै छैनौं, पार्टीको विधान उल्लंघन गरेका छैनौं। हामीलाई विधानको यो धारा उल्लंघन गरेको भनिएको छैन,’ वरिष्ठ अधिवक्तासमेत रहेका नेता पौडेलले भने। गठबन्धन गरे पनि भरतपुरमा मेयर नेपाली कांग्रेसले नै पाउनुपर्छ भन्ने आम कार्यकर्ताको मागलाई आफूले स्वीकारमात्रै गरेको उनले बताए।
उनले भने, ‘आम भरतपुरका कांग्रेस नेता–कार्यकर्ताको माग यही हो। त्योअनुसार नभएपछि मैले उम्मेदवारी दिएको हुँ। म कांग्रेसविरुद्ध लागेकै होइन, किन कारबाही भोग्ने?’ पौडेलले उम्मेदवारी दिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फोन गरेर फिर्ता लिन अनुरोध गरेका थिए।
गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले घरमै गएर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।