सोमबार, वैशाख २४, २०८१

महानगरमा रेनुको दोस्रो इनिङ

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनुले पहिलो कार्यकालमा गरेको कामका लागि जनताले पुनः मत दिएको माओवादी नेताको तर्क छ। दोस्रो कार्यकालका लागि निर्वाचित दाहालकै भाषामा भन्ने हो भने पुनः निर्वाचित हुनु ५ वर्षमा गरेको कामको प्रतिफल हो।
 |  मंगलबार, जेठ १०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ १०, २०७९

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित भएकी छिन्। निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४४६ मतान्तरले पछाडि पार्दै दाहाल निर्वाचित भएकी हुन्। दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे। भरतपुर महानगरमा दोस्रो कार्यकालका लागि रेनु मेयरमा निर्वाचित भएकी हुन्। 

triton college

महानगरका २९ वटा वडाको मतगणना सकिँदा नेपाली कांग्रेसले १६ वटा वडा जितेको छ भने एमाले ६ वटा वडाको वडाध्यक्षमा विजयी भएको छ। एकीकृत समाजवादीले र मेयर निर्वाचित दल माओवादीले ३-३ वटा वडामा निर्वाचित भए। स्वतन्त्र उम्मेदवारलाई मतदाताले एउटा वडा अरुभन्दा बढी भोट गरे।

२०७४ को स्थानीय निर्वाचन अवधिभर भरतपुर 'हटकेक' थियो। महानगर भएपछि भएको पहिलो स्थानीय निर्वाचनको पूर्ण परिणाम आउन पनि लामो समय लाग्यो। भरतपुर-१९ को गणना भइरहँदा माओवादीका प्रतिनिधिले नै मतपत्र च्यातेपछि पुनः मतदान गर्नुपर्ने भएको थियो। विगतमा पेचिलो बनेको महानगरको मतगणना यसपालि सहज भयो। 

यसपालि भरतपुरका केही वडामा विगतको इतिहास उल्टियो। एमालेले आफ्नै पार्टीबाट पनि मत नपाएको गुनासो गरेको छ। निर्वाचन अगाडि सत्तागठबन्धनकी मेयर दाहालले आफूले एमालेभन्दा ३ हजारदेखि ७ हजार बढी मत ल्याएर जित हासिल गर्ने आकलन गरिएको तर समग्र नतिजा आउँदा त्यो भन्दा पनि बढी मत आफूलाई प्राप्त भएको माओवादी केन्द्रका एक नेताले बताए। नेपाली कांग्रेसले मेयर पद नै माओवादी केन्द्रलाई छोडेकाले कांग्रेससँग असन्तुष्ट पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलेल १५ हजारको हाराहारीमा मत प्राप्त गरे। 

२०७४ को निर्वाचनमा पनि निर्वाचित दाहालले एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै मेयर बनेकी थिइन्। नेपालका ६ महानगरमध्ये भरतपुर महानगरपालिकाले मात्रै महिला मेयर पाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरीसमेत रहेकी रेनु पुनः मेयरमा निर्वाचित हुनेमा शंका थियो। प्रचण्डले भरतपुरको चुनावी कार्यक्रममा गरेको सम्बोधनले समग्र राजनीति तरंगित भएको थियो। 

corrent noodles
Metro Mart

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनुले पहिलो कार्यकालमा गरेको कामका लागि जनताले पुनः मत दिएको माओवादी नेताको तर्क छ। दोस्रो कार्यकालका लागि निर्वाचित दाहालकै भाषामा भन्ने हो भने पुनः निर्वाचित हुनु ५ वर्षमा गरेको कामको प्रतिफल हो। 

अघिल्लो कार्यकालमा निर्वाचित हुँदा दाहाललाई कहाँबाट काम सुर गर्ने भन्ने नै अन्योल थियो। प्रतिस्पर्धामा रहेको अन्य पार्टीले साथ नदिएको अवस्थामा पनि आफूले काम गरेको उनको दाबी छ। 'विस्तारै भरतपुरबासीको माया र साथसहयोगले विकासका कामलाई गति दिन सकेँ,' दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि रेनुले पहिलो कार्यकाल सम्झिइन्।

पहिलो कार्यकालमा रेनुले थुप्रै समय प्रतिस्पर्धी साथी/दललाई सम्हाल्नुपरेको थियो। 'साथीहरू पनि सकारात्मक बन्दै थिए। तर बीचमा नै महामारी आयो। समग्र देशलाई नै यसले असर गर्‍यो। कोरोनाको कारण सोचेअनुसार काम गर्न सकिएन,' आफ्नै कार्यकाललाई रेनुले समीक्षा गरिन्, 'तरपनि स्थानीय तहमा विकास भएको जस्तो लाग्छ। यो मैले व्यक्तिगत रुपमा मात्रै भनेको होइन, भरतपुरबासीले भनेको कुरा हो जसको प्रमाण अहिलेको मतपरिणामलाई पनि लिन सकिन्छ।’ 

२०७४ र हालको निर्वाचन दाहालको लागि फरक छ। पहिलो निर्वाचनमा भरतपुरको मनोविज्ञान, अवस्था, आवश्यकता बुझ्नकै लागि उनलाई समय लाग्यो। तर पहिलो कार्यकालका ५ वर्षले मलाई अनुभवी बनाएको छ। 'विकासका कार्यक्रमलाई निरन्तरता दिँदै भरतपुरका आवश्यकता पूरा गर्नका लागि थप योजना बनाउने र प्रयास गर्नेछु,’ अबको कार्ययोजना उनले सुनाइन्। 

पहिलो निर्वाचनमा भोट माग्न जाँदा भरतपुरबासीले रेनुसँग सडक कालोपत्रे गर्नु माग राखेका थिए। 'सोहीअनुसार दाहालले पनि सडक कालोपत्रेलाई प्राथमिकतामा राखिन्,' भरतपुरका एक स्थानीय पहिलो कार्यकालअघिको घरदैलो कार्यक्रम र उनले गरेका काम सम्झन्छन्, 'रेनु दाहाल पुनः निर्वाचित हुनुको कारण पनि उनले नगरबासीका समस्या सुन्नु र समाधानका लागि प्रयास गर्नु नै हो।’ आगामी एक वर्षभित्र मुख्य सहरको सडक सौन्दर्य हेर्नलायक बनाउने दाबी दाहालको छ। 

कस्ता काम भए ५ वर्षमा? 
संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङ्गरोड निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको नगरपालिकाले जनाएको छ। त्यस्तै नारायणी तथा राप्ती नदीको कटान र डुबानको दीर्घकालीन समाधानका लागि मोडालिटी तयार पारी नदी नियन्त्रणको काम जारी छ। यसका लागि ६ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।

निर्माणधीन रिङरोडलाई पूर्णता दिने रेनुको योजना छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ।  उक्त काम पनि शुरु गर्ने तयारी गरिएको रेनुको छ। दुई हजार सिट क्षमताको सिटी हल निर्माणको काम भइरहेको छ। उज्यालो भरतपुर कार्यक्रम नगरले ल्याएको छ। मुख्य राजमार्ग र सहरमा ट्राफिक लाइटिङको काम सुरु भएको दाहाल बताउँछिन्। 

महानगरले आफ्नो बजेटको १५ प्रतिशत बजेट शिक्षामा खर्च गर्न शुरु गरेको छ। रेनुका अनुसार किसानलक्षित कार्यक्रम अन्तर्गत किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिन थालिएको छ। तीन सय ५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाईका सम्पन्न भएका छन्। त्यस्तै महानगरले आफ्नो आफ्नो आन्तरिक आम्दानी एक अर्ब २५ करोड पुर्‍याएको छ। सुकुम्बासीका लागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राम्रो भूमिका खेलेको चर्चा हुने गरेको छ। 

अघिल्लो कार्यकालमा रेनुले गरेको कामका कारण पनि रेनु पुन निर्वाचित भएको स्थानीयहरु बताउँछन्। भरतपुर-१४ का हरि पौडेल भन्छन्, ‘दलीय हिसाबले हो भने मैले रेनुलाई विरोध गर्न सक्थें, तर रेनुले गरेको विकासको प्रशंसा गर्छु, भरतपुर महानगरमा भएका विकास निर्माणका कामका लागि दाहालले सकारात्मक खेल्नुभएको छ।’ वडा नम्बर १३ का निवर्तमान सदस्य किशोर पौडेल महानगरलाई नमुना सहर बनाउने र महानगरको विकासको लागि रेनु दाहाल निर्वाचित अझ सहयोग पुग्ने बताउँछन्। 

‘विकासका लागि एक भोट रेनु दाहाललाई’ भन्ने जनताको विश्वासलाई नतोड्ने दाहालको प्रतिबद्धता छ। ‘मैले यो पाँच वर्षमा कुनै विवादित काम गरिनँ। म नागरिकप्रति सँधै उत्तरदायी भएँ। त्यसैको प्रतिफल हो, नगरबासीले मलाई १० पटक सोचेर मत दिएका छन्,’ दाहाल भन्छिन्, 'उहाँहरूको विश्वासलाई म गुम्न दिनेछैन।'

राजनीतिक हिसाबले पेचिलो भरतपुर महानगरमा रेनु निर्वाचित भएपछि आगामी योजना के हुन्छन्?, प्राथमिकतामा के पर्नेछन् भन्ने आम चासो देखिएको छ। दाहाल भन्छिन्, ‘यो जनमतलाई जनगुनासो नआउने तरिकाले काम गर्छु, अघिल्लो ५ वर्षले मलाई सिकायो। अबको ५ वर्ष काम गरेर देखाउने समय हो।’ 

अबको ५ वर्षमा विगतका अधुरा कामलाई सम्पन्न गर्ने रेनुको भनाइ छ। 'भरतपुरलाई अन्तराष्ट्रिय स्तरको सहरको रुपमा विकास गर्ने सम्भावना छ। त्यसको लागि एउटा आधार तयार भइसकेको छ। थप पूर्वाधारका योजना बनाई सन्तुलित विकासको मोडेल यस्तो हो भन्ने सन्देश दिने र हेर्नलायक, गर्व गर्न लायक सहरको रुपमा भरतपुर देख्नुहुनेछ।’

२०३३ असार २३ गते चितवनको भरतपुर  वडा नं १४ भीमसेनगरमा जन्मिएकी दाहालले जनयुद्धका कारण बुवाआमासँगै घर छाड्न पर्दा एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर भने पाइनन्। युद्धकालीन समयमा बुवा प्रचण्ड र आमा सीतासगै देशभित्रै तथा प्रवासका विभिन्न स्थानमा पुगेकी रेनु प्रचण्ड परिवारकी दोस्रो सन्तानका हुन्।

युद्धकै समयमा प्रवास भारतमै रहँदा गुल्मीका अनिल कुमार पाठकसग विवाह गरेकी दाहालको ६ जनाको परिवार छ। सासु, ससुरा, श्रीमान एवम् छोरा र छोरी उनको परिवारका सदस्य हुन्। नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्ने नवनिर्वाचित मेयर दाहाल राजनीतिक तथा थुप्रै सामाजिक संघसंस्थामा आबद्ध छिन्। दाहाल माओवादी केन्द्रको केन्द्रीय  सदस्य हुन्। 

२०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सेक्रेटरीसमेत भएकी उनी सशस्त्र युद्धपछि संविधानसभा सदस्य रहेकी थिइन्। २०७४ मा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य बनेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव समेत हुन्।

विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय हुन रुचाउने दाहाल कम बोल्ने र बोलेको कुरा पूरा गर्ने नेतृको रुपमा परिचित छन्। भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका देवी ज्ञवालीलाई हराउदै भरतपुर महानगरको मेयर बनेकी उनी पाँच वर्ष भरतपुरको भौतिक र सामाजिक विकासमा महत्त्वपूर्ण काम गरेको दाबी गर्छिन्। दाहाल २०७९ को स्थानीय निर्वाचनमा एमालेकै विजय सुवेदीलाई पराजित गरी दोस्रोपटक महानगर हाँक्ने कुर्सीमा पुगेकी हुन्। 

प्रकाशित: May 24, 2022| 11:10 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...