काठमाडौं- स्थानीय तहको निर्वाचन २०७९ मा देशभरमा नेपाली कांग्रेसबाट सबैभन्दा बढी १३ हजार ५३८ जना प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगको प्रणालीमा सोमबार साँझ ७ बजेसम्म प्रविष्ट भएको तथ्यांक अनुसार एमालेबाट ११ हजार ६ सय ७१ जना प्रतिनिधि निर्वाचित भएको आयोगले जानकारी दिएको छ।
यस्तै माओवादीबाट ५ हजार ३ प्रतिनिधि निर्वाचित हुँदा जसपाबाट १ हजार ४ सय ८१ जना निर्वाचित भए।
पहिलो पटक चुनावमा भाग लिएको नेकपा एसका ९७० जना प्रतिनिधि निर्वाचित भए भने लोसपाबाट ५७० जना निर्वाचित भएका छन्।
राप्रपाका ३०२ जना उम्मेदवार विजयी भएका छन्। जनमोर्चाले १५९ जना निर्वाचित गराउन सफल भएको छ। यस्तै पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ९९ जना निर्वाचित गराउन सफल हुँदा सीके राउतको दलबाट ९३ जना प्रतिनिधि चयन भएका छन्।
स्वतन्त्र बाट ३८१ जना निर्वाचित भएको आयोगले जनाएको छ।
हालसम्म ३४ हजार ४५० जनप्रतिनिधि चयन भइसकेका छन्। केही तहमा केही पदका लागि उम्मेदवारी नै नपरेको आयोगको भनाइ छ। अझै पनि ५ महानगरसहित केही पालिकामा मतगणना जारी छ। स्थानीय तहमा ३५ हजार २११ प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।