काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सबै जनताको साथसहयोग लिएर विकासका गतिविधि अगाडि बढाउने बताएका छन्। स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत राजविराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण समारोहमा आज मन्त्री यादवले निर्वाचनको परिणामलाई स्वभाविक मान्नुपर्ने र आपसी भाइचारा कायम रहनुपर्ने बताए।
शिक्षा र स्वास्थ्यको विकासमा जोड दिँदै अस्पताल र क्लिनिकमा चिकित्सकको समय किटान गर्नुपर्ने र नगरभित्रको बिमारीलाई एम्बुलेन्सले प्राथमिकता दिनुपर्ने बताए।
राजविराज नगरपालिकाको प्राङ्गणमा आयोजित एक समारोहबीच राजविराजका नवनिर्वाचित नगरप्रमुख भिमराज यादवले मुख्य निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीसमक्ष पद तथा गोपनीयताको शपथ लिए।
शपथपछि उनले आफ्नो पालिकाका उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराए। नवनिर्वाचित नगरप्रमुख यादवले जनताको सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए।