मंगलबार, जेठ ८, २०८१

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।
 |  सोमबार, जेठ ९, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

सोमबार, जेठ ९, २०७९

triton college
corrent noodles
Metro Mart
काठमाडौं– निर्वाचन आयोगको मापदण्डअनुसार २०७८ सालभित्र राप्रपाले पार्टी महाधिवेशन गर्नुपर्ने भयो। जसअनुसार गत मंसिरमा भएको महाधिवेशनबाट राप्रपाको केन्द्रीय अध्यक्ष निर्वाचित भए झापाका नेता राजेन्द्र लिङ्देन।

महाधिवेशनपछिका केही सातासम्म पार्टी एकढिक्का नै देखियो। तर फागुनमा पूर्वअध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको घोषणा गरे। अध्यक्ष पदको निर्वाचनमा लिङ्देनले १८ सय १७ मत ल्याएर विजयी हुँदा थापाले १६ सय १७ मतमात्र ल्याए। उनै थापाले महाधिवेशनअघि एक सभामा धर्मग्रन्थ गीता छोएर कहिल्यै पार्टी परित्याग नगर्ने कसम खाएका थिए।

हारबाट विक्षिप्त बनेका थापा ‘राप्रपा नेपाल’ प्रवेश गरे र त्यसको अध्यक्ष बने। स्थानीय निर्वाचनमा भाग लिने घोषणा गर्दै थापाको दलले नेकपा एमालेसँग चुनावी तालमेल गर्यो। यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हलो चुनाव चिन्हबाट देशका दुईतिहाइ पालिकामा आफ्ना उम्मेदवार उठायो। काठमाडौं महानगरसहित देशका मुख्य–मुख्य उपमहानगर र नगरपालिकामा राप्रपाका उम्मेदवारले शीर्ष राजनीतिक दलकै हाराहारीमा चुनावी कार्यक्रम गरे।

अहिलेसम्म राप्रपाले चारवटा स्थानीय तहमा प्रमुख जितेको छ। झापाको दमक नगरपालिका मेयरमा राम थापा, काठमाडौंको शंखरापुर नगरपालिका मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरपालिकामा अजय थापा र झापाको हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले आइतबारसम्ममा ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडाध्यक्ष र ३६७ वडा सदस्यमा जित हासिल गरेको छ।

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

हेटौंडा उपमहानगरमा पनि राप्रपाले अग्रता बनाइरहेको थियो। अन्तिम मतपरिणाममा भने राप्रपाका दीपकबहादुर सिंह २० हजार ५३१ मतसहित तेस्रो स्थानमा रहे। नेपालगञ्ज उपमहानगरमा राप्रपाका नन्दलाल वैश्य पनि ७ हजार ५९८ सहित तेस्रो स्थानमा छन्। काठमाडौं महानगरमा २४ सय मत ल्याउँदै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथो स्थानमा छन्। महानगरकै केही वडामा राप्रपा निकै लोकप्रिय मत पाइरहेको छ। विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए। काठमाडौंका अधिकांश वडामा राप्रपा चौथो स्थानमा रहेको छ।

स्थानीय निर्वाचनको लोकप्रिय मतमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा पनि छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ। ‘राजनीतिक दलसम्बन्धी कानुन’अनुसार राष्ट्रिय दल बन्न ३ प्रतिशत मत र एक प्रत्यक्ष निर्वाचित सांसद चाहिन्छ। अर्थात् देशैभरिबाट खसेको समानुपातिक मतमध्ये तीन प्रतिशत कटाउनुपर्ने प्रावधानलाई थ्रेसहोल्ड भनिन्छ।

अहिले स्थानीय निर्वाचनमा राप्रपाले देशैभरिबाट पाएको मत जोड्दा प्रतिनिधिसभामा राप्रपाले थ्रेसहोल्ड कटाउने देखिन्छ। यसबाहेक स्थानीय निर्वाचनमा अहिले देशैभरि उम्मेदवारी दिनुले पनि राप्रपा बलियो बन्दै गएको प्रष्ट हुन्छ।

राप्रपाको लोकप्रिय मतलाई आगामी निर्वाचनसम्म जोगाउन सके राष्ट्रिय दल बन्न सक्ने सम्भावना उच्च रहेको बताउँछन् राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम। उनका अनुसार पुरानो राजनीतिक विरासत प्राप्त राप्रपा अनुभवी पार्टीसमेत हो। ‘राप्रपाको जेजस्तो विचार भए पनि एउटा वैधानिक राजनीतिक दलको रुपमा उसले बहुदलीय प्रतिस्पर्धा स्वीकारेको छ,’ नेपाल समयसँग गौतमले भने, ‘अब जितेका ठाउँमा राप्रपाका जनप्रतिनिधिले गर्ने कामले पनि संघीय निर्वाचनमा उसको जनमत निर्धारण गर्छ। यसबाहेक राष्ट्रिय राजनीतिमा पार्टीले उठाउने मुद्दा र अडानले पनि समानुपातिक मतलाई निर्देश गर्छ।’

केन्द्र बन्दै झापा

राप्रपाको गतिविधि पूर्वी नेपालको झापा, सुनसरी, मोरङमा बढी देखिँदै आएको छ। झापाको हल्दीबारीमा राप्रपाले अध्यक्ष–उपाध्यक्ष दुवै पदमा जित हात पार्यो। यसमध्ये पनि झापाका निर्वाचन क्षेत्र तीन र पाँचलाई राप्रपाले केन्द्र बनाएको देखिन्छ। तीन नम्बर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तथा पाँच नम्बर नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र हो। तीन नम्बर क्षेत्रमा कृष्ण सिटौलालाई २०७४ को संसदीय निर्वाचनमा पराजित गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक पनि सिटौलासँग खुल्ला प्रतिस्पर्धामा उत्रिएका छन्।
झापाको कनकाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।
भद्रपुर नगरपालिका, कचनकवल र बाह्रदशी गाउँपालिकामा हिमानी ट्रस्टले पनि गतिविधि तीव्र बनाएको छ। हिमानी ट्रस्टले अध्यक्ष लिङ्देनको क्षेत्रमा केही वर्षदेखि सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहसेत परिवारसहित भद्रपुर जाने गरेका छन्। यसबाहेक झापाका ठूला सहर दमक, बिर्तामोड, भद्रपुरमा राप्रपाले आफ्नो संगठन विस्तारमा जोड दिएको छ। झापा आसपासका जिल्लामा पनि राप्रपाले गाउँपालिकास्तरिय संगठन बनाइसकेको छ।

टुटफुटको अनन्त श्रृंखलाबाट गुज्रेको दल

३१ वर्षको इतिहासमा राप्रपाको फुट्ने–जुट्ने घटनाक्रम दर्जनौंपटक भए। २०४७ सालमा स्थापना भएकै वर्ष राप्रपाभित्रको नेतृत्वमा विवाद आएको थियो। बहुदल स्थापना भएसँगै पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द तथा पञ्चायती मन्त्रीहरू पशुपति शमशेर जबरा, कमल थापा, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा मिलेर राप्रपा गठन गरे।

अध्यक्ष को बन्ने भन्ने विषयमा सहमति हुन नसकेपछि २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी जन्मिए। एउटा सूर्यबहादुर थापाको र अर्को लोकेन्द्रबहादुर चन्दको। दुवै दलले २०४८ को संसदीय निर्वाचनमा भाग लिए। यद्यपि पहिलो पटक सहभागी भएको आम निर्वाचनमा हारेपछि पूर्वपञ्चहरूको पार्टी एकतामा जोड दिए। त्यही साल माघमा चन्द र थापा समूहबीच पार्टी एकता भयो। त्यसपछि अध्यक्ष सूर्यबहादुर थापा बने। उक्त एकतापछि पनि पाँचपटक राप्रपा फुटिसकेको छ।  

१) आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा सूर्यबहादुर थापाले २०५६ मा पार्टी विभाजन गरेपछि राप्रपा पुनः ‘थापा’ र ‘चन्द’ दुई समूहमा विभाजित भयो।

२) २०६२ पुसमा कमल थापाले आफ्ना पक्षका नेता–कार्यकर्ताको भेला बोलाएर ‘राप्रपा नेपाल’ नाममा छुट्टै पार्टी खोलेर आफू अध्यक्ष बने।  

३) २०६३ सालपछि ‘राष्ट्रिय जनशक्ति पार्टी’ नाम दिएर सूर्यबहादुर थापाले राप्रपालाई चौथोपटक फुटाए।

४) सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि २०७४ साउन २२ गते पशुपतिशम्शेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे।

५) २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए।

६) २०७८ फागुन १ गते कमल थापाद्वारा राप्रपा नेपाल पुनर्गगठन गरेको घोषणा।

टुटफुटमा गएको राप्रपा अहिले दुईवटा अस्तित्वमा छ। स्थानीय निर्वाचनको मत विश्लेषण गर्दा लिङ्देन नेतृत्वको राप्रपाले लोकप्रिय मत ल्याइरहेको छ। ६ वटा महानगर, ११ उपमहानगरमा राप्रपाले पाएको मत प्रतिनिधिसभामा समानुपातिकतर्फ पाउने हो भने तथा कमल थापा, राजावादी संघ–संगठन, अभियानकर्ताहरू एक ठाउँ उभिए भने राप्रपा थ्रेसहोल्ड कटाएर सजिलै राष्ट्रिय दल बन्न सक्छ। यो कुराको संकेत राप्रपाका नेताहरू गरिसकेका छन्।

‘स्थानीय निर्वाचनमा प्राप्त मतकै जगमा टेकेर राप्रपाले राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने प्रेरणा लिनुपर्छ,’ सहमहामन्त्री ऋषिराज देवकोटा भन्छन्।
प्रकाशित: May 23, 2022| 10:13 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...