काठमाडौं- अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उप विदेशमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार उपविदेशमन्त्री उज्रा जियाले भेट गरेकी हुन्। भेटका क्रममा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने र लोकतन्त्रलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
यसअघि जियाले प्रधानमन्त्री परराष्ट्रमन्त्री डा. नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी थिइन्। परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका मित्रवत् सम्बन्ध तथा द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा सहाकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खाणसँग गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको सचिवालयले उल्लेख गरेको छ।
मन्त्री खाणले मानव अधिकार पर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताएका थिए।
जियाले शनिबार नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई भेट गरेकी थिइन्। उनले भारतमा रहँदा धर्मशाला पुगेर तिब्बती धर्म गुरु दलाई लामा र निर्वासनमा रहेको तिब्बत सरकार र संसद्का प्रतिनिधिहरुलाई भेट गरेका थिइन्।
उपमन्त्री जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताएकी थिइन्। अमेरिकी रहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद पनि व्यक्त गरेकी थिइन्।
अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उनले दिएकी थिइन्।