मंगलबार, असार ९, २०८३

आफ्नै कारणले पोखरा गुमाउँदैछ एमाले

एमालेभित्रैको असन्तुष्ट मत गठबन्धनको उम्मेदवारमाथि थपियो। किनभने एमालेका उम्मेदवार पहिल्यै मेयर लड्नुभएको थियो, संघीय सांसदको चुनाव लड्नुभएको थियो। अरु थुप्रै ठाउँमा अवसर लिनुभएको थियो। त्यसैले ०४९ सालदेखि लगातार चुनाव लडेको मान्छेलाई अहिले किन दिने भनेर एमालेभित्रै एउटा समूह असन्तुष्ट थियो।
 |  आइतबार, जेठ ८, २०७९

गंगाधर पराजुली

गंगाधर पराजुली

आइतबार, जेठ ८, २०७९

National life

पोखरामा अहिले मतदाताले कलम स्वीकार गरेको देखिन्छ। जबकी नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ पोखरालाई। अघिल्लो निर्वाचनको कुरा गर्ने हो भने पोखरा महानगरपालिकाका ३३ मध्ये २२ वटा वडा नेकपा एमालेले जितेको थियो।

कास्की जिल्लामा एउटा महानगर र चारवटा गाउँपालिका छन्। ती सबैमा एमालेको वर्चश्व रहेको थियो। अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमात्र नेपाली कांग्रेसले जितेको थियो।

यसपटकको निर्वाचनमा भने नेपाली कांग्रेसले पहिलेको साखलाई फिर्ता गरेको देखिन्छ। पहिलेभन्दा धेरै ठाउँमा कांग्रेसले जितेको छ। यसको कारण के हुन सक्छ भने एमाले सरकारमा रहँदा उसले दिएका आश्वासन पूरा गर्न सकेन। केपी ओलीकै शैलीमा स्थानीय सरकार चल्दै गए। जसबाट सर्वसत्तावाद र अधिनायकवादको झल्को जनताले पाए।

एमालेप्रति जनताको विकर्षणकै कारण अहिलेको नतिजा आएको हो। त्यसबेला मेट्रोदेखि मोनो रेलसम्मका गफ गरे एमालेका उम्मेदवारले, तर व्यवहारमा केही भएन। अनि विपक्षी दलका मान्छेलाई पनि पेल्ने काम नेकपा एमालेले गर्यो। जसकारण अहिले एमालेको विपक्षमा मत आइरहेको छ।

Shivam cement

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली।
जस्तो, वडा नम्बर १ मा यो भन्दा अगाडि एमालेले भारी मतले जितेको थियो। तर, अहिले मतसंख्या धेरै कम भएको छ। वडा नम्बर २, ३ र ४ मा नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर ५ भने पहिल्यैबाट एमालेको प्रभाव क्षेत्र हो, त्यो कायम राख्न सफल भएको छ। त्यहाँ एमालेले आफ्नो पुरानो प्रभाव कायम गरेको छ। 

वडा नम्बर ६ मा यसअगाडिको निर्वाचनमा कांग्रेसले जितेको र यसपटक वडा तहमा गठबन्धन गरिएको भए पनि एमालेले आफ्नो पुरानो साख फिर्ता गर्न सफल भएको छ। 

वडा नम्बर ८ एमालेले जितेको छ। ९, १० र १२ नम्बरमा पुग्दा राम्रो मत ल्याएर कांग्रेसले विजय प्राप्त गरेको छ। १३ नम्बरमा यसअघि एमालेले जितेकोमा यसपटक नेपाली कांग्रेस विजयी भएको छ।

वडा नम्बर २० मा एमालेले नै जितेको छ। वडा नम्बर २३ मा कांग्रेसले जितेको छ। एमालेको पकड मानिएको वडा नम्बर २४ मा यसपटक कांग्रेसले जित हात पारेको छ। त्यसैगरी वडा नम्बर २५ पनि एमालेको गढ मानिन्थ्यो। तर, यसपटक नेपाली कांग्रेसले २५ नम्बर जितेको छ।

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्य मतदान गर्दै।
वडा नम्बर २६ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो पराजय बेहोरेको थियो, यसपटक भने कांग्रेसले विजय प्राप्त गरेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटलगायत नेता बसोबास गर्नुहुन्छ। जहाँ यसअघि नराम्रोसँग कांग्रेसले पराजय बेहोरेको थियो।

वडा नम्बर २७ मा कांग्रेसले यसपटक पनि विजयको निरन्तरता लिइरहेको छ। यसअघि  कांग्रेसले जम्मा ११ वटा वडामा चित्त बुझाउनु परेको थियो।

महानगरपालिकामा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले जित्ने देखिन्छ। उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच कडा प्रतिस्पर्धा छ।

अहिलेसम्मको अवस्था हेर्दा नेपाली कांग्रेसले बहुमत वडामा जित्ने र विगतमा एमालेको गढ मानिने वडामा समेत विजय प्राप्त गरिरहेको अवस्था छ। तर, उपप्रमुख पदमा भने नेपाली कांग्रेसका उम्मेदवारलाई विजय यात्राका लागि निकै चुनौती थपिएको छ।

सत्ता गठबन्धनले सबैतिर गठबन्धन गर्ने भने पनि पोखराका वडा तहमा त्यस्तो हुन सकेन। मेयर र उपमेयर बाहेक अन्त ‘पर्फेक्ट’ गठबन्धन हुनसकेन। कतिपय वडामा माओवादीले आफ्नो ढङ्गले उम्मेदवारी दिए। कांग्रेसकै पनि कतिपय ठाउँमा विद्रोह गरेर बागी उठे।

नेपाली कांग्रेसका अधिकांशले नेकपा एसका उम्मेदवारलाई नै मत हालेको पाइयो। जबकी उनलाई सबै कांग्रेसीले मत यसरी देलान् भनेर आकलन गरिएको थिएन। म स्वयंले धनराज आचार्यलाई चुनाव जित्ने हो भने रुख चिन्हबाट चुनाव लड्नुस् भनेको हो। तर, उहाँले कलमबाटै लड्नुभयो र जितको नजिक पनि हुनुहुन्छ।

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्य, एमालेका मेयर उम्मेदवार कृष्ण थापा र गठबन्धनबाट उपमेयर उम्मेदवार कोपिला रानाभाट (माथिबाट क्रमशः)
अब सबैलाई चासो छ, कांग्रेसी सबैले कलममा यसरी मत हाल्न कसरी तयार भए? यो चासो स्वाभाविक पनि हो। हुन पनि सधैं कम्युनिस्टले विशेषगरी एमालेले मात्र जितिरहेको ठाउँमा कांग्रेसले अरुलाई भन्दा बरु आचार्यलाई नै जिताउँदा ठिक होला भन्ने ठानेर मत हालेको हुनुपर्छ।

मेयरमा एसका उम्मेदवार भए पनि उपमेयरमा र वडा तहमा कांग्रेसकै उम्मेदवार छन्। उनीहरुलाई जिताउन पनि कांग्रेसीहरु सक्रियतापूर्वक लागे। आफ्ना अन्य उम्मेदवार जिताउन पनि विद्रोह गर्नुभन्दा मिलेर जाँदा ठिक हुने यहाँका कांग्रेसीहरुले देखे।

तर, यहाँ अर्को ख्याल गर्नुपर्ने कुरा के भने यहाँ एमालेसँग पहिल्यैदेखिको असन्तुष्टि थियो। कलम चिन्ह भने नयाँ भएकोले त्यस्तो रिसराग पनि बसिसकेको थिएन। अनि कांग्रेसको आफ्ना उम्मेदवार पनि थिएनन्। त्यसैले सबै कांग्रेसीले बरु एसलाई नै उम्मेदवारी दिनु ठिक हो भन्ने ठाने भन्ने लाग्छ।

धनराज आचार्यले भोट माग्न वडावडामा जाँदा पनि कांग्रेसको मन जित्नेगरी भूमिका खेले। उनको पार्टीका भन्दा कांग्रेसका कार्यकर्ता धेरै हुने भएकोले जहाँ जाँदा पनि ‘जय नेपाल’ भन्दै कार्यक्रम सुरु गर्नुहुन्थ्यो। कांग्रेसभन्दा बाहिर आफूलाई जान दिनुभएन। सबैलाई माया र सम्मान दिनुभयो।

यद्यपि, कतिपयले रुखमा मात्र मत दिएको अवस्था पनि छैन। जे होस्, अधिकांश कांग्रेस कार्यकर्ताले कलममा मत दिएको पाइयो। यसबाहेक माओवादी लगायतका दलले पनि उनलाई नै मत दिए।

पोखरामा २५ वैशाखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनका शीर्ष नेताहरु।
अर्को कुरा, एमालेभित्रैको असन्तुष्ट मत गठबन्धनको उम्मेदवारमाथि थपियो। किनभने एमालेका उम्मेदवार पहिल्यै मेयर लड्नुभएको थियो, संघीय सांसदको चुनाव लड्नुभएको थियो। अरु थुप्रै ठाउँमा अवसर लिनुभएको थियो। त्यसैले ०४९ सालदेखि लगातार चुनाव लडेको मान्छेलाई अहिले किन दिने भनेर एमालेभित्रै एउटा समूह असन्तुष्ट थियो।

एमालेका अहिलेका उम्मेदवारभन्दा पहिला अर्का उम्मेदवार दीपक पौडेललाई टिकट दिइएको थियो। उहाँलाई सिक्री चोरेको काण्डको नाममा एमालेभित्रैका कार्यकर्ताले त्यो पुरानो इस्यूलाई उचाले। जसकारण उनको टिकट खोसिएको थियो। यसैले एमालेभित्र पनि दुई खेमा भएको देखियो। भित्रभित्रै अन्तरघातसमेत गरे। जस्तो, सबै छापहरु सूर्यमा रहँदा एउटा कलममा हालेको पनि मतगणनाका क्रममा देखियो। उपमेयरमा भने कांग्रेस र एमालेले आलोपालो ‘लिड’ गरिरहेको अवस्था छ।

यसरी विभिन्न कारण यसपटक एमालेले पोखरा महानगर गुमाउने छाँट देखिन्छ। जबकी यो क्षेत्र भनेको पञ्चायतदेखि नै कम्युनिस्टको प्रभाव क्षेत्र मानिन्छ। पोखरा बजार क्षेत्र चाहिँँ कांग्रेसको प्रभाव क्षेत्र मानिन्थ्यो। तर, पछि पोखरा महानगरपालिका बनाउँदा अन्य छिमेकी गाउँहरु मिसाएपछि यो एमालेको प्रभाव क्षेत्र भयो। उपमहानगरबाट महानगर बनाएर भूगोल विस्तार गर्दा एमालेहरुकै प्रभाव बढ्न थालेको थियो।

त्यस्तै, रवीन्द्र अधिकारीपछि आशालाग्दा युवा नेताको रुपमा उदाए। नेपाली कांग्रेसकै कार्यकर्ताले पनि उनलाई मत दिएका थिएर सांसद बनाएका थिए। उनै अधिकारीसँगै काम गरेका हुन्, अहिलेका धनराज आचार्यले। त्यसैले आचार्यले एमालेभित्रको द्वन्द्व र असन्तुष्टि राम्रैसँग बुझेका थिए। यता एकीकृत समाजवादीमा गएपछि उनले त्यसभित्र खेल्न पनि सफल भए भन्ने लाग्छ। यसरी उनलाई कांग्रेस, माओवादी र आफ्नो पार्टीको मात्र भन्दा पनि एमालेबाट आएका मतले पनि विजयी हुन सघाउ पुर्यायो।

(नेपाल समयकर्मी कौशल काफ्लेसँगको कुराकानीमा आधारित)

प्रकाशित: May 22, 2022| 10:39 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...