काठमाडौं– अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाको भारत भ्रमणप्रति चीनले आक्रोश व्यक्त गरेको छ। बिहीबार धर्मशालामा पुगेर तिब्बती धर्मगुरु र निर्वासनमा रहेको तिब्बती सरकारका प्रतिनिधिहरुसँग जियाले भेट गरेपछि चीन आक्रोशित बनेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत चेतावनी दिएका छन्। चाइना डेलीका पत्रकारले अमेरिकी उपमन्त्री तथा तिब्बत मामिला विशेष संयोजकको भ्रमण र भेटघाटका विषयमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता लिजियानले भने, ‘तिब्बत चीनको एक हिस्सा हो भन्ने कुराको प्रतिबद्धतालाई अमेरिकाले सम्मान गर्नुपर्छ।’
निर्वासनमा रहेको भनिएको कथित तिब्बत सरकार एक बाहिरी पृथकतावादी राजनीतिक समूह भएको पनि उनले टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘निर्वासनमा रहेको भनिएको तिब्बत सरकारको गठन चीनको संविधान र कानुनको पूर्ण उल्लंघनमा अवैध संगठन हो। यसलाई विश्वको कुनै पनि देशले मान्यता दिएको छैन।’
१४ औं दलाई लामा एक धार्मिक व्यक्तित्वको रूपमा एक राजनीतिक निर्वासनमा रहेको र उनी लामो समयदेखि चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न रहेको प्रवक्ता लिजियानले बताएका छन्। उनले तिब्बतलाई चीनबाट अलग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै भनेका छन्, ‘कथित तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजकको नियुक्ति चीनको आन्तरिक मामिलामा हस्तक्षेप हो। चीनले यसको कडा विरोध गर्दै आएको छ र यसलाई कहिल्यै मान्यता दिएको छैन।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत चेतावनी दिएका छन्।
अमेरिकाले तिब्बतसम्बन्धी मुद्दाहरूको बहानामा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने चेतावनीसमेत उनले दिएका छन्। उनले थपे, ‘अमेरिकाले दलाई लामा गुटको चीन विरोधी पृथकतावादी गतिविधिहरूलाई कुनै समर्थन प्रस्ताव गर्नु हुँदैन। चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्ने छ।’
जियाले बुधबार र बिहीबार धर्मशालामा रहेर निर्वासित तिब्बत सरकार र संसद्को भ्रमण र प्रतिनिधिहरुसँग भेट गरेकी थिइन्। उक्त भ्रमण सकेर जिया शुक्रबार नेपाल आउन लागेकी हुन्। जेठ ६ देखि ८ गतेसम्म हुन लागेको जियाको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।
उपमन्त्री जियाले नेपालमा नेपाली अधिकारीहरूका अलावा तिब्बती शरणार्थीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। जियाको नेपाल र भारत भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ सुदृढ बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन केन्द्रित रहने विदेश मन्त्रालयले जनाएको छ।
धर्मशालामा दलाई लामासँगको वार्ता
दलाई लामासँगको भेटका क्रममा उपमन्त्री जियाले आफू दलाई लामाको आध्यात्मिक वाणीहरुको स्रोता हुन पाउँदा सम्मानित भएको महसुस गरेको बताएकी छन्। उनको भनाइ उदृत गर्दै तिब्बत डटनेटले भनेको छ, ‘तपाईंको स्रोता हुन पाउनु मेरो लागि ठूलो सम्मान हो। म तिब्बती मुद्दाका लागि राष्ट्रपति जो बाइडेनको विशेष संयोजक हुँ। तपाईंसँग भेट गर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो सम्मान हो। म हाम्रा राष्ट्रपति र अमेरिकी जनताको तर्फबाट तपाईंको सुस्वास्थ्यको लागि शुभकामना र विश्वका लागि तपाईंको शान्तिको सन्देशको लागि कृतज्ञता व्यक्त गर्दछु।’
आध्यात्मिक गुरु दलाई लामा र जियाबीच प्रजातान्त्रिक संस्कारका विषयमा पनि कुराकानी भएको जनाइएको छ। प्रजातन्त्रको महत्वको विषयमा उल्लेख गर्दै लामाले भनेका छन्, ‘अमेरिका र भारत पूर्ण लोकतन्त्र र स्वतन्त्रता भएका देशहरु हुन्। भारतमा विभिन्न धर्मका मानिसहरु एक ठाउँमा मिलेर बसेका छन्। यो नै एकता हो।’
चिनियाँ कम्युनिस्ट पार्टीका विषयमा कुरा गर्दै दलाई लामाले थपे, ‘पिपुल्स रिपब्लिक चीन तिब्बती जनता र उनीहरुको विचारलाई परिवर्तन गर्न असफल भएको छ। उल्टै चिनियाँ जनताको विचार नै परिवर्तन भइरहेको छ।’ यसअघि सन् २०१७ मा अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले धर्मशाला पुगेर तिब्बत मुद्दाका लागि अमेरिका साथै तिब्बतीहरुको साथमा रहेको बताएकी थिइन्। बिहीबार उपमन्त्री जियाको टोलीसँगको भेटमा निर्वासनमा रहेको तिब्बती संसद्की सभामुख खेन्पो सोनाम तेन्फेलले अमेरिकी सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘तपाईंको धर्मशाला भ्रमणले चीनलाई स्पष्ट सन्देश दिएको छ।’
जियाले बुधबार र बिहीबार धर्मशालामा रहेर निर्वासित तिब्बत सरकार र संसद्को भ्रमण र प्रतिनिधिहरुसँग भेट गरेकी थिइन्। उक्त भ्रमण सकेर जिया शुक्रबार नेपाल आउन लागेकी हुन्। जेठ ६ देखि ८ गतेसम्म हुन लागेको जियाको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।
यसअघि सन् २००२ मा तत्कालीन तिब्बत मामिला विशेष संयोजक जुलिया टाफ्टले धर्मशाला भ्रमण गरेकी थिइन्। त्यसपछि सन् २००६ मा उपमन्त्री पउला जे डोब्रियस्काइ, सन् २००९ मा मारिया ओटेरो र सन् २०१४ र २०१६ मा सारा सेवालले धर्मशाला भ्रमण गरेका थिए। तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान (आईसीटी) ले जियाको भारत–नेपाल भ्रमण चीनले ध्वस्त बनाउनुअघि तिब्बती संस्कृतिलाई जोगाउनका लागि निकै महत्वपूर्ण र आवश्यक भएको जनाएको थियो। आईसीटीका उपप्रमुख तेन्चो ग्यात्सोले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘अमेरिकी तिब्बत मामिला विशेष संयोजकको धर्मशाला भ्रमणको कुराले हामी निकै उत्साहित छौं। उहाँले यहाँ तिब्बती प्रजातन्त्रको महत्वबारे फर्स्ट ह्यान्ड सूचना पाउनु हुनेछ र यसलाई समर्थन गर्नुहुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीले ध्वस्त बनाउनुअघि तिब्बती संस्कृतिको सुन्दरतालाई जोगाउन पनि निकै आवश्यक छ।’
तिब्बत मामिला संयोजक धर्मशाला प्रस्थान गर्नुअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग भेट गरेकी थिइन्। उक्त भेटमा क्षेत्रीय स्थायित्व र इन्डो(प्यासिफिक क्षेत्रको मानवीय र प्रजातान्त्रिक लक्ष्यहरु प्राप्तिका लागि अमेरिका–भारत सम्बन्धलाई बलियो बनाउने उपायहरुको विषयमा छलफल भएको उपमन्त्री जियाले ट्विटमार्फत जानकारी गराएकी छन्।