एजेन्सी-इंग्लिस क्लब लिभरपुलले प्रभावशाली जितसहित प्रि-सिजन भ्रमण अन्त्य गरेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा इटालियन क्लब टोरिनोमाथि ३-१ को प्रभावशाली जित निकाल्दै लिभरपुलले प्रि-सिजन जितसहित अन्त्य गरेको हो ।
लिभरपुलको जितमा रोबर्टो फिर्मिनो, जर्जिन्हो विज्नल्डम र ड्यानियल स्टुरिजले गोल गरे । टोरिनोका एन्द्रिया बेलोट्टीले एका गोल फर्काए । २१ औं मिनेटमा फिर्मिनोको गोलबाट लिभरपुलले शुरुवाती अग्रता बनाएको थियो । फिर्मिनोले मोहम्मल सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
२४ औं मिनेटमा फिर्मिनोको पासमा विज्नल्डमले गोल गरेपछि लिभरपुल २-० ले अघि बढेको थियो । ३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गरेपछि पहिलो हाफ २-१ मा सकिएको थियो । ८७ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल ३-१ ले विजयी हुन सफल भयो । त्यसअघि पहिलो हाफमा यसै सिजन क्लबमा अनुबन्ध भएका ब्राजिली फाविन्होले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
लिभरपुलले यसअघि प्रि-सिजनमा नपोली, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । लिभरपुलले आइतबार वेस्टह्यामसँग खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४