बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मोदी फर्किएलगत्तै नेपालका लागि नयाँ राजदूतमा 'चीन विज्ञ' श्रीवास्तव नियुक्त

मोदी फर्किएलगत्तै नेपालका लागि नयाँ राजदूतमा 'चीन विज्ञ' श्रीवास्तव नियुक्त

लुम्बिनीको एक दिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएको २४ घण्टा नबित्दै भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। मोदीले सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमण गरेका थिए।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- लुम्बिनीको एक दिने भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएको २४ घण्टा नबित्दै भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। मोदीले सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमण गरेका थिए। 

भारतीय विदेश मन्त्रालयका अनुसार नेपालका लागि नयाँ राजदूतमा विदेश मन्त्रालयका अतिरिक्त सचिव नविन श्रीवास्तवलाई नेपालका लागि नयाँ राजदूतको रुपमा नियुक्त गरेको हो। उनले चाँडै जिम्मेवारी सम्हाल्नेसमेत भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

भारतीय सञ्‍चारमाध्यम हिन्दुस्तान टाइम्सले 'चीन विज्ञ'का रूपमा परिचित कूटनीतिज्ञ नवीन श्रीवास्तवलाई नेपालको नयाँ राजदूतको रुपमा नियुक्त गरिएको जनाइएको छ। 

श्रीवास्तव यसअघि भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया मामिला डेस्कको जिम्मेवारीमा थिए। भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको 'संवेदनशील सम्बन्ध' सम्हाल्ने हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने पनि हिन्दुस्तान टाइम्सले जनाएको छ। 

श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए।

यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेपछि भारतले काठमाडौंमा नयाँ राजदूतको रुपमा श्रीवास्तवलाई पठाउन लागेको हो। 

क्वात्राले वैशाख १८ गते भारतीय विदेश सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो।

प्रकाशित: May 17, 2022| 19:22 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...