काठमाडौं– संघीय संसद्को बजेट अधिवेशन सुरु भएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार आज अपराह्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
बैठक सुरु हुनेबित्तिकै सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन्। रोष्ट्रममा गएर बोल्दै ज्ञवालीले दलीय पद्धतिका लागि आफूहरुले सदनमा विरोध गरेको बताए।
‘सदनमा दोहोरो मापदण्ड भयो, दलहरुबीच फरक व्यवहार भयो। दलले कारबाही गरेको सूचना जाँच्ने अधिकार सभामुखलाई छैन, त्यो विवेक सभामुखले प्रयोग गर्न पाउँदैन,’ उनले भने।
पार्टीको मान्यता अहिले पनि यथावत् रहेको तर विरोध फरक ढंगको हुने उनले बताए। गएको हिउँदे अधिवेशन एमालेले पूरै समय अवरोध गरेको थियो। पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदबारेको सूचना सभामुखले टाँस नगरेको भन्दै उसले सदन अवरुद्ध गरेको हो।