काठमाडौं– भोजपुरमा वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मंगलबार दिउँसो जिल्लाका ९ वटै गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो।
२०७४ सालको तुलनामा यसपटक नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक तह गुमाएका छन्। दुई दलले एक–एक तह एकअर्काबाट खोसेका छन्। यस्तै माओवादीले एक तह थपेको छ। एक तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेले समान ४–४ तह जितेका थिए भने माओवादीले एक तह जितेको थियो। यसपटक भने कांग्रेस र एमाले ३–३ तहमा खुम्चिएका छन् भने माओवादीले २ तह जितेको छ। एक तहमा स्वतन्त्र उम्मेदवारले बाजी मारे।
कांग्रेसले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका जितेको थियो। तर, यसपटक कांग्रेसको पञ्जाबाट साल्पासिलिछो र षडानन्द गाउँपालिका फुत्किएका छन्। साल्पासिलिछो गाउँपालिकामा यसपटक स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान अध्यक्ष महेश राईलाई पराजित गरेका थिए। कुलुङ १ हजार ८१४ मत ल्याएर विजयी हुँदा राईले १ सय ८६ मत प्राप्त गरे।
यस्तै षडानन्द नगरपालिका पनि कांग्रेसले यसपटक गुमाएको छ। अघिल्लो निर्वाचनमा षडानन्दको मेयरमा कांग्रेसका वीरवल राई निर्वाचित भएका थिए। तर, यसपटक उनै राई एमालेका सुरेन्द्र उदाससँग पराजित भएका छन्। अघिल्लो निर्वाचनमा राईले उदासलाई हराएर मेयर बनेका थिए। मेयरमा निर्वाचित उदासले ६ हजार ७७२ मत प्राप्त गरेका छन्। पराजित राईले ५ हजार ७५७ मत प्राप्त गरे।
त्यसो त कांग्रेसले एउटा पालिका एमालेबाट खोसेको छ। टेम्के मैयुङ गाउँपालिका एमालेबाट खोसेर कांग्रेसले विजयको झण्डा गाडेको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सरोज बस्नेत ३ हजार ९८० मत ल्याएर विजयी भएका छन्। उनले नेकपा एमालेका ध्रुवराज राईलाई पराजित गरेका हुन्।
गाउँपालिकाका निवर्तमान अध्यक्ष रहेका राईले ३ हजार २५५ मत ल्याएका छन्। कांग्रेसले अघिल्लो पटक जितेका भोजपुर नगरपालिका र अरुण गाउँपालिकामा भने विरासत जोगाएको छ। भोजपुर नगरपालिकाको मेयरमा कैलाशकुमार आले ५ हजार ६१५ मत ल्याएर निर्वाचित भएका छन्। दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका आलेले एमालेका भरतकुमार तामाङलाई पराजित गरेका हुन्। तामाङले ५ हजार १०० मत प्राप्त गरे।
यस्तै अरुण गाउँपालिकाको अध्यक्षमा २ हजार ८८७ मत ल्याएर शालिकराम खत्री निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणप्रसाद घिमिरे २ हजार ४२४ मत प्राप्त गरेका छन्।
एमालेले अघिल्लो पटक जितेका पौवादुम्मा गाउँपालिका र हतुवागढी गाउँपालिकामा विरासत जोगाएको छ। पौवादुम्मा गाउँपालिकाको अध्यक्षमा २ हजार ४९९ मत ल्याएर किरण राई विजयी भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नगेन्द्र बहादुर भुजेलले १ हजार ६८८ मत प्राप्त गरेका छन्। राई दोस्रो कार्यकतालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै हतुवाढी गाउँपालिकाको अध्यक्षमा पुनः प्रेमकुमार राई निर्वाचित भए। उनले ४ हजार ०४२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत प्राप्त गरेका छन्। अघिल्लो पटक जितेको रामप्रसाद राई गाउँपालिका भने एमालेले जोगाउन सकेन। रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा यसपटक माओवादी केन्द्र विजयी भयो। गाउँपालिकाको अध्यक्षमा ३ हजार ७७ मत ल्याएर थाम बहादुर राई विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका बलराम राईले २ हजार ८५१ मत प्राप्त गरे। रामप्रसाद राई गाउँपालिका थपेको माओवादीले आमचोक गाउँपालिकामा पुनः विजयको झण्डा गाडेको छ। आमचोक गाउँपालिकाको अध्यक्षमा ३ हजार ६८५ मत ल्याएर अशोक राई विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त राईले ३ हजार २५८ मत ल्याएका छन्।