बुधबार, असार ३२, २०८२

सकियो निर्वाचन, कहाँ के भयो दिनभर?

कतिपय ठाउँमा बुथ क्याप्चरको प्रयास भएपछि झडप नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ। उता मतदान गर्नका लागि आफ्नो गृहजिल्ला पुगेका नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मतपत्र पट्याउन नजान्दा ‘ट्रोल’ को सिकार भए भने मतदान गरेको मतपत्र सार्वजनिक गरेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आलोचित भएका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

vianetvianet

काठमाडौं– स्थानीय निर्वाचनको दौरानमा देशभर दर्जनभन्दा धेरै ठाउँमा तनावको स्थिति सिर्जना भयो। कति ठाउँमा प्रहरीले स्थिति नियन्त्रणमा लियो भने केहि ठाउँमा आर्मी पनि लाग्नुपरेको थियो।

त्यस्तै, विभिन्न ठाउँमा विभिन्न दलहरुबीच भनाभन, कुटाकुट भएको छ भने स्याङ्जामा मतादाता बोकेको जीप दुर्घटनामा परेर ठूलो संख्यामा मानवीय क्षति पनि भएको छ।

त्यस्तै कतिपय ठाउँमा बुथ क्याप्चरको प्रयास भएपछि झडप नियन्त्रणमा लिनका लागि कति ठाउँमा प्रहरीले हवाई फायर गरेको छ। यता मतदान गर्नका लागि आफ्नो जिल्ला पुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मतपत्र पट्याउन नजान्दा ‘ट्रोल’ को सिकार भए भने भोट हालेको फोटो सार्वजनिक गरेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आलोचित भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो एक बजेसम्म सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको जानकारी दिएका थिए। दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले उपलब्ध गराएको जानकारीमा थियो। तर त्यसभन्दा धेरै ठाउँमा ताडफोड र झडप भएका छन्।

१. बुथ क्याप्चर गर्न खोजेपछि शुक्रबार बिहानै दोलखाको बैतेश्वरमा तनावको स्थिति सिर्जना भएको थियो। बुथ क्याप्चरको प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो। पालिकाको वडा नम्बर १ र दुईको मतदानस्थलमा मतदान सुरु भएपछि कांग्रेस र एमालेले मतदाता आउने बाटो बन्द गरेर ढुंगामुढा गरेका थिए।

२. बिहानै बझाङको दुई मतदान स्थलमा शंकास्पद वस्तु फेला परेका छन्। मतदान सुरु भएको केहि समयमै बझाङको जयपृथ्वी नगरपालिका –१ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा र बुंगल  नगरपालिका–८ पिजलीको महादेव मावी अठपाली मतदान केन्द्रतर्फ जाने बाटोमा शंकास्पद बस्तुहरु फेला परेका थिए। प्रेसर कुकर बमजस्तो देखिने वस्तुलाई पछि नेपाली सेनाले डिस्पोज गरेको थियो।

३. भोट हालेर ८४ वर्षे हरिसिंह भाट घर फर्कनै पाएनन्। दोगेडा केदार गाउँपालिका ३ कल्फटाका भाट सनातन धर्म माविमा भोट हालेर फर्कने तरखरमा थिए। एकाएक उनी अचेत बन्दै ढले। अनि उठेनन्। आफन्तले अस्पताल लग्ने क्रममा उनको मृत्यु भयो।

४. सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएपछि हुम्लाको चंखेली गाउँपालिकामा विहानै तनावको स्थिति सिर्जना भएको थियो। सो झडपमा मतदान अधिकृत कृष्ण प्रसाद प्रसाईँसँगै दुई जना घाइते भएका थिए। झडपमा सहभागी हुनेलाई नियन्त्रणमा लिनका लागि एपीएफले आठ राउन्ड हवाई फायर गरेको थियो।

त्यस्तै, सोहि जिल्लाको अदानचुली ४ को कुकुरफाल्नाको जलविद्युत आयोजनामा स्थापना गरिएको मतदान केन्द्रमा पनि झडप भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो। त्यहाँ केहि समय मतदान रोकिएपछि सर्वपक्षिय भेला गराएर फेरि मतदान सुरु भएको थियो।

५. रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएको थियो। झडप भएपछि प्रहरीले हवाई फायर पनि गरेको थियो। खाँणदेवीमा दुई पक्षको झडप भएपछि प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो। त्यस्तै, दोरम्बा सैलुङमा चाहिँ बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको थियो।

६. प्रदेश २ को बारामा चाहिँ एमाले र जसपाको कार्यकर्ताबीच झडप भयो। बाराको पचरौता नगरपालिका २ को मतदान केन्द्रमा एमाले र जसपा कार्यकर्ताबीच बरगाँछी र लक्ष्मीपुरको मतदान केन्द्रमा झडप भयो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो। वाराकै देवताल गाउँपालिकामा दुई पक्षको झडप हुँदा एक जनाको टाउकोमा चोट लागेको छ। यता, सीमा नजिकैको सिम्रौगढ नगरपालिका २ को मतदान केन्द्रमा झडप भएपछि चाहिँ मतदान नै रोकिएको थियो।

७. स्याङ्जामा मतदाता बोकेर वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ बजार नजिकै सडकबाट आधा किलोमिटर तल खसेको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

८. रौतहटको फतुवा विजयपुरमा नगरपालिकामा दुई पक्षबीच विवादबाट सुरु भएर स्थिति झडपसम्मै पुगेपछि मतदान स्थगित भएको थियो। पछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेपछि सामान्य अवस्थामा फर्काएर मतदान सुरु गर्न सहयोग गरेको थियो।

९. ओखलढुंगामा डेढ घण्टा मतदान स्थगित भयो। चम्पादेवी गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको थियो। लाइन बस्ने कुरामा विवाद भएपछि झडप भएको थियो। नौ बजे स्थगित भएको मतदान पौने ११ बजेबाट मात्र सुरु भएको थियो।

१०. सर्लाहीको धनकौल गाउँपालिकामा भने तीन पक्षको झडप हुँदा दिनको १२ बजेम्म पनि मतदान सुरु हुन सकेन। एमाले, कांग्रेस र माओवादीबीच झडप भएपछि प्रहरीले छ राउन्ड हवाई फायर पनि गरेको थिएन। गाउँपालिकाको वडा २ स्थित पशुसेवा मतदान स्थलमा नेपाली सेनाले हवाई गस्ती गरेको थियो। विहान आठ बजेबाट रोकिएको मतदान आठ घण्टापछि सेनाले पहिलो घेरा हालेर तीन बजेबाट मात्र मतदान सुरु गर्न सफल भएका थिए। झडप हुनुअघि १५ जनाले मात्र मतदान गरेका थिए।

११. कार्यकर्ताले मतदान केन्द्रको बार भत्काएर ब्यालेट बक्स भित्र लुकाएपछि एमाले र माओवादीबीच गोरखाको गण्डकी गाउँपालिका ७ मा घ्याल्चोकको ज्ञानमार्ग माविमा तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीले हवाई फायर गरेपछि रोकिएको मतादान सुरु गर्न सहयोग पुगेको थियो।

१२. बझाङमा झडप भएपछि मतपत्र नै च्यातिएको छ। गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएपछि मतपत्र च्यातिएको हो।

१३. रोल्पाको लुग्री ४ मा दलका प्रतिनीधिबीच विवाद सुरु भएपछि मतदान नै केहि समयका लागि रोकियो। केहि समयको विवादपछि सर्वदलिय बैठक सुरु भएपछि मतदान प्रकृया फेरि सुरु भएको थियो।

१४. महोत्तरीको बलवा नगरपालिकामा एक राउन्ड हवाई फायरपछि फेरि मतदान प्रकृया सुरु भयो। मतदाता नामावली विवरण रुजु गर्ने विषयमा सुरु भएको विवादले निकै ठूलो रुप धारण गरेपछि विवाद बढ्दै गएको थियो।

१५. रोल्पामा निर्वाचनको अघिल्लो दिन राति दुई जना सम्पर्कविहिन भएका छन्। उनहरुलाई प्रहरीले खोजी जारी राखे पनि सम्पर्कमा पाउन सकेका छैनन्।

१६. बाजुराको बुढीगंगा नगरपालिका–५ भानोदय माविको मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप केहि समय मतदान स्थगित भयो। दुवै पक्षबीच ढुंगा हानाहान भएपछि व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भए। दुवै पक्षबीच छलफल भएपछि मात्र मतदान प्रकृया सुरु भएको थियो।

१७. वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान स्थलबाट नजिकबाट चाहिँ छाता बरामद भएको छ। मतदानस्थल बाहिर जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयबाट १०० भन्दा धेरै छाता बरामद भयो। जसपाको चुनाव चिन्ह पनि छाता रहेको छ।

१८. सप्तरीको डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता माविमा खटिएका मतदान अधिकृत विपिन यादव घाइते भए। त्यसपछि उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ। जनता मावि रहेको मतदानस्थलमा तोडफोड भइ मतदान अधिकृतमाथि कुटपिटमेत भएपछि मतदान स्थगित भएको थियो। मतदान स्थलमा मानिसको समूहले मतपेटिका तोडफोड र अधिकृतमाथि कुटपिट गरेका थिए। दुई हजारभन्दा धेरै मत खसिसकेपछि यस्तो भएको थियो।

१९. लोकतान्त्रिक गबवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच मतदान प्रक्रियाको विषयमा विवाद हुँदा सहिदभूमि गाउँपालिका, धनकुटामा मतदान प्रकृया रोकियो। त्यहाँ मत हाल्ने क्रममा विवाद भएपछि सो विवाद बढ्दै गएको थियो।

२०. दैलेखको ठाटीकाँध गाउँपालिकामा चाहिँ नेपाल मजदुर किसान पार्टी र एमालेका कार्यकर्ताबीच भयो। स्वतन्त्र मतदानमा बाधा पुर्याएको भन्दै गाउँपालिकाको मालिका माध्यामिक विद्यालयको केन्द्रमा दोहोरो झडप भएपछि मतदान रोकिएको थियो। पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्नुपर्यो।

२१. लमजुङको बेशिसहर वडा ११ मा कांग्रेस र एमाले बिच झडप भएपछि मतदान प्रकृयामा केहि समय प्रभाव परेको थियो।

२२. झापाको कमला गाउँपालिका–६ र झापा गाउँपालिका ६ मा खटिएका दुई जना मतदान अधिकृत कारबाहीमा परे। अधिकृत शैलेन्द्र कर्ण र सुरेन्द्र कर्ण कारबाहीका कारण फिर्ता बोलाइएका थिए। कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र दिएका थिए भने झापाको सरणामतिको जनता माविमा मादक पदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा बस्नेत कारबाहीमा परेका हुन्।

२३. पर्सामा मतदान जारी थियो। तर ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिका एक्कासी पानी पर्न थालेपछि मतदान रोकिन पुग्यो। वर्षाका कारण लामो समयसम्म छ मतदान केन्द्रमा मतदान प्रकृया रोकिएको थियो। पानी र हावाहुरीका कारण सुर्खेतमा पनि केहिबेर मतदान अवरूद्ध भएको थियो। त्यस्तै, सल्यान जिल्लाको २ सय १ मतदान केन्द्रको मतदान पनि वर्षाकै कारण प्रभावित भयो। हुरी र वर्षाका कारण दिउँसो ३ बजेदेखि मतदान प्रभावित भएको थियो।

२४. वर्षाकै कारण सिन्धुलीको तीनपाटन गाउँपालिका–२ भिमस्थानमा एक घण्टाभन्दा धेरै समय मतदान रोकिएो। मतदाताहरू मतदान केन्द्रसमेत रहेको श्री भवानी माविको भवनमा ओत लागेर बसिरहेका स्थानीय केदार श्रेष्ठले जानकारी दिए।

२५. काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्रमा अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरे। मतदान अधिकृतले धाँधली गरेपछि आक्रोशित भएको भिडले मतदान केन्द्रमा मतपेटिका, कुर्सी, टेबल तोडफोड गरेपछि निर्वाचन केन्द्र नै तहसनहस भएको थियो।  यता, मतदान गर्न पुगेका मतदाताहरु भने केन्द्रको अवस्था देखेर अन्योलमा परेका थिए।

२६. गोरखा, बारपाक सुलिकोट गाउँपालिकाको माइकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका सन्जीव थापा चाहिँ अन्यत्रै मतदान गर्न गए। आफ्नो केन्द्रको  जिम्मेवारी पूरा नगरी हिँडेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्ताले विरोध जनाए। उनी गएपछि सुरु भएको विवाद बढ्दै जाँदा मतदान प्रकृया नै रोकियो। थापाले बिहान वडा नम्बर ५ को चन्द्रकला माविमा पुगेर मतदान गरेका थिए। २ बजेदेखि रोकिएको मतदान सर्वदलीय बैठकपछि पुन सुरु भएको हो।

२७. अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भए। अछामको साँफेबगर नगपालिका १३ को बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ को लयाटी र ढकारी गाउँपालिका २ को हिच्मामा झडप हुँदा मतदान नै केहि समयका लागि रोकिएको थियो। पाँच दलिय गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएपछि ढकारीमा दुई र पन्चदेवलमा चार जना घाइते भए।

२८. जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लाग्यो। नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडपको क्रमाम भण्डारी घाइते भए। मतदाताले परिचयपत्र च्यात्न खोज्ला विवाद सुरु भएको थियो भने सर्वदलिय बैठकपछि रोकिएको मतदान सुरु भएको थियो।

२९. एक अशक्त महिलाले मतदानका लागि आग्रह गर्दा अधिकृतले फरक चिन्हमा मतदान गरेको भन्ने आरोपबाट सुरु भएको विवादका कारण सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ को एक मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ। हरिरबा जनता माविको मतदान स्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो। निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिएका छन्।

३०. तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपकराज जोशीमाथि त निर्वाचनकै दिन कुटपिट पनि भयो। ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए। उनको टाउकोमा चोट लागेको थियो। जोशीले एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको आरोप लगाइएको छ।

३१. रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भयो। बौधीमाई नगरपालिका वडा नम्बर २ को रहेको इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको थियो। झडप र आगजनीपछि इनरुवा टोल तनावग्रस्त बनेपछि मतदान प्रकृया केहि समयका लागि रोकिएको थियो।

३२. पर्साको छिपहरमाई गाउँपालिका १ मिर्जापुरमा लामो समय रोकिएर ढिलो गरि मतदान पुनः सुरु भयो। सत्ता गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। यसकारण समयभन्दा केहि लामो समयसम्म मतदान कार्य चलेको थियो।

३३. आफैंले चुनाव चिन्ह देखाएर मतदान गर्न सिकाएपछि सर्लाहीको बलरा नगरपालिका को एक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरियो गरियो। मत दुरूपयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पछि सर्वदलीय बैठकमा साहलाई बर्खास्त गर्न माग गरेपछि उनी बर्खास्त भए। त्यहि कारण बलराको मतदान केहि समय प्रभावित बनेको थियो।

३४. कञ्चनपुरको पुनर्वासमामा चाहिँ कहि मानिसले मृत व्यक्ति र विदेशमा भएका मानिसको नाममा मतदान गर्न खोजे। त्यसपछि सुरु भएको विवाद पनि सर्वदलिय बैठक बसेपछि मात्र सकियो। पुनर्वास नगरपालिका–१०को विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादपछि मतदान कार्य स्थगित भएको हो। मतदान केन्द्रमा फर्जी मतदान गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

३५. कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि दार्चुलाको शैल्यशिखर नगरपालिका ६ मा रहेको पशुपति भवन माध्यमिक विद्यालयका मतदान केन्द्रमा पनि मतदान कार्य रोकियो। झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो भने थप केहि बल पनि प्रयोग गर्नुपरेको थियो। तनाव कम भएपछि मतदान कार्य सुरू गरियो।


१. चितवन भरतपुर–१४ स्थित पुलिस स्कुल, शान्तिपुरबाट मतपत्रमा छाप लाइसकेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतपत्र पट्याउन नजानेको दृव्यदृष्यले विहानभरी सामाजिक सञ्जालमा चर्चा पायो। उनले छाप लगाएपछि मतपत्र पट्याउन नजान्दा केहि समय हाँसोको स्थिति पैदा भएको थियो।

बाहिर निस्किएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले मतपत्र ठूलो भएकाले केही समय लागेको बताए। उनले भने, ‘मतपत्र अलि ठूलो भएकाले केही समय लगाएको हो, खासै अलमलिएको हैन। केही प्रतिशत सामान्य अवस्थामा पनि बदर हुन्छ तर अहिले गठबन्धनका कारण बदर हुने प्रतिशत बढ्न सक्छ।’

उनले भोट हालेको ठाउँमा मेयरको रुपमा उनकै छोरी रेणु दाहाल मेयरको उम्मेदवार छिन्। रेणुले भने मतपत्रमा छाप लगाएर त्यसलाई ढोगेर मतपेटिकामा खसालेकी थिइन्। 

भरतपुरको राष्ट्रिय आधारभूत माविमा भएको मतदान केन्द्रमा गठबन्धनले नमुना मतपत्र बाँडेपछि केहि बेर होहल्ला भयो। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धन पक्षले बाँडेका नमुना मतपत्र देखाएर केहि समय हल्ला मच्चाएका थिए।

पौडेलले गठबन्धनले मतदान केन्द्रमै नमूना मतपत्र बाँडेर आचार संहिताको उल्लंघन गरेको भन्दै आवश्यक कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरे।

२. यता बाबुराम भट्टराईले भने मतदान गरेपछि मतपत्र सार्वजनिक गरे सामाजिक सञ्जालमा। आलोचना भएपछि उनले ट्विट गरेर त्यसको बचाउ गरे। यही विषयमा निर्वाचन आयोगले भट्टराईलाई स्पष्टीकरणसमेत सोधेको छ।

३) काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन साहले चाहिँ साइत हेराएर मतदान गरेका छन्। काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण स्कुलमा मतदान गर्ने क्रममा उनले ढिलो गरि ११ बजेर तीन मिनेटको उत्तम साइत हुने भन्दै सोहि समयमा मतदान गरेका हुन्।


प्रकाशित: May 13, 2022| 18:06 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...