मंगलबार, असोज ६, २०८३

चुनावको लहर आयो बरीलै...

कोटेश्वरमा बिहान देखिएको भीडले स्थानीय निर्वाचनमा जनताको बढ्दो उत्साह पुष्टि गर्छ। धेरैजना स्थानीय तहका पार्टी र उम्मेदवारको खर्च र व्यवस्थापनमा घर फर्किंदै थिए। नाम खुलाउन नचाहे पनि उनीहरूले पार्टीले यातायात व्यवस्थापन गरिदिएको कुरा भन्न हिचकिचाएनन्।
 |  बुधबार, वैशाख २८, २०७९

सृजना राई

सृजना राई

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– बुधबार झिसमिसेमै कोटेश्वर–जडीबुटी क्षेत्रमा गाडी चढ्ने यात्रुको ठेलमठेल थियो। दसैं–तिहारमा घर फर्कनेजस्तै भीड देखिए पनि यी यात्रु कुनै चाड मनाउन घर हिँडेका होइनन्। यी सबैजना चुनावमा भोट हाल्न गाउँ जान लागेका मतदाता हुन्।

रमाइलो त के भने, घर जान गाडी कुरिरहेका यात्रुको साथमा टिकट छैन।  मात्र बसको चाँजोपाजो मिलाउने व्यक्तिको फोन नम्बर छ। उक्त फोन नम्बर व्यक्ति कुनै पार्टीको प्रतिनिधिको हो, जसले काठमाडौंबाट मतदातालाई गाउँ लाने जिम्मा पाएको छ।   

काठमाडौंमा परिवारसहित बस्दै आएकी ८० वर्षीया वृद्ध पनि यही घर जाने भीडमा भेटिइन्। बिहान पाँच बजे नै जडीबुटी पुगेकी उनीसहित छोरा, बुहारी, नातिनातिनाको टोली मन्थली जाने बस कुरिरहेका थिए। उनीहरूको लागि गाडी मिलाउने काम पनि पार्टीले गरेको थियो। दुई घण्टासम्म कुर्दा पनि गाडी नआएपछि ती वृद्ध आमा झोलालाई नै सिरानी बनाएर आराम गर्न थालिन्।

जडीबुटीमै बस कुर्दै गरेकी अर्की वृद्ध महिला पनि समयमै गाडी नआएपछि निराश देखिन्थिन्। ‘भोट हाल्न हैन के। उता मेरो माइती रामेछापमा देवाली छ। अब छोरा बुहारी हिँडेपछि म पनि देवालीमा जान पाउँछु भनेर हिँडेकी हुँ,’ ती महिलाले आफ्नो कुरा मसिनो स्वरमा भनिरहेकी थिइन्। जडीबुटीमा वृद्धवृद्धादेखि तन्नेरी पुस्ता भोट हाल्न घर जाने गाडी कुरिरहेका थिए। उनीहरूलाई काठमाडौंदेखि घरसम्म लाने जिम्मा सम्बन्धित पार्टीले नै मिलाएको थियो। केही दिनअघि नै फोन गरेर पार्टीका मान्छेले को–कतिजना घर जाने सोधेका थिए। 

सात वर्षीय छोरी र श्रीमतीसहित दोलखाको शैलुङ जान लागेका एक युवक  निकै उत्साहित देखिन्थे। ‘बाउबाजेदेखि नै हामी यही पार्टीमा भोट हाल्दै आएका छौं। चुनाव प्रचारमा पार्टीलाई सघाउन भ्याइएन। अब भोट त हाल्न त जानैपर्यो। त्यही भएर परिवारसहित जान लागेको हुँ,’ उनले सुनाए।

मतदान गर्न घर फर्किंदा उत्साहित देखिने अनुहारमा ओखलढुंगाको एक राई परिवार पनि थियो। ‘हामीलाई गाउँबाट फोन आएको धेरै भयो। अस्ति दसैंमा घर गइएन। आफ्नै दाजुभाइ उम्मेदवारमा छन्। युवालाई जिताउन भनेर जान लागेका हौं,’ एक युवकले भने। 

मतदानका लागि जान पार्टीले रिजर्भ गरेको बस कुरिरहेकी सिन्धुपाल्चोकको एक तामाङ युवती पनि उत्साहित थिइन्। ‘भोट घर लानेलाई नै हाल्नुपर्छ भन्ने होइन। अब उता गएपछि सोच्नुपर्छ। राम्रो काम गर्नेलाई हाल्ने हो,’ उनले भनिन्।

रमाइलो त के भने, घर जान गाडी कुरिरहेका यात्रुको साथमा टिकट छैन।  मात्र बसको चाँजोपाजो मिलाउने व्यक्तिको फोन नम्बर छ। उक्त फोन नम्बर व्यक्ति कुनै पार्टीको प्रतिनिधिको हो, जसले काठमाडौंबाट मतदातालाई गाउँ लाने जिम्मा पाएको छ।   

भीडमा उत्साहसँगै अन्योलका अनुहार पनि देखिन्थे। वृद्धवृद्धा धेरैजना छोरा र परिवारको जिद्दीले मत हाल्न हिँडेको बताउँथे। महिला भने श्रीमान् र आफन्तको करबलमा भोट हाल्न जान लागेको बताइरहेका थिए। केटाकेटीहरू भने हातमा पार्टीको झण्डा लिएर बसपार्क वरपर खेलिरहेका थिए। 

कोक्रोमा आठ महिनाको बच्चा बोकेर बस कुरिरहेकी भेटिइन् सविता खड्का। भोट हाल्ने बहानामा उनीसँगै वृद्ध सासुससुरा र दुई बच्चा सिन्धुली जाने मेसो जुरेको थियो। व्यस्त सडकमा घण्टौंसम्म कोक्रो बोकेर उभिएकी सविता दूधे नानी र दुई साना बच्चा कसरी घर पुर्याउने होला भनेर चिन्तित देखिन्थिन्। ‘बच्चा भएका अरू पनि धेरै छन्। के सिट पाउँला र,’ उनी गुनासो गरिरहकी थिइन्।  

कोटेश्वरमा बिहान देखिएको भीडले स्थानीय निर्वाचनमा जनताको बढ्दो उत्साह पुष्टि गर्छ। धेरैजना स्थानीय तहका पार्टी र उम्मेदवारको खर्च र व्यवस्थापनमा घर फर्किंदै थिए। नाम खुलाउन नचाहे पनि उनीहरूले पार्टीले यातायात व्यवस्थापन गरिदिएको कुरा भन्न हिचकिचाएनन्। सडकमा सार्वजनिक यातायात निकै कम थिए। अधिकांश गाडी मतदाता बोकेर गाउँ जान तयार थिए। 

थानकोट नागढुंगामा भने यातायातको अवस्था केही सहज देखियो। बालाजु बसपार्कका यातायात व्यवसायी मदन लामाका अनुसार रिजर्भमात्र नभई रूटका गाडी पनि उत्तिकै चलिरहेका छन्। ‘नेपालगञ्ज जाने ३५ वटा गाडी सिट फुल भइसकेको छ। निर्वाचनमा घर फर्किने यात्रुका कारण हाम्रो व्यवसायलाई चाड नै लागेको छ,’ लामाले भने।

घर फर्किनेमात्र नभई यातायात व्यवस्थापनमा सक्रिय युवाहरूलाई पनि चुनावले निकै व्यस्त बनाएको छ। सम्बन्धित गाउँपालिका, नगरपालिकासम्म आफ्ना मान्छे पुर्याउने जिम्मा पाएका उनीहरू मदातालाई फोन गर्ने, घरसम्म लिन जानेदेखि बसमा यात्रुलाई मिलाएर राख्ने काममा व्यस्त देखिन्थे।

चन्द्रागिरी प्रहरी प्रभागका अनुसार मंगलबारदेखि बुधबार बिहानसम्ममा करिब ३५ सय सवारीसाधन काठमाडौंबाट बाहिरिएका छन्। सोमबारदेखि काठमाडौं बाहिरिने सवारीको चाप बढेको हो। प्रहरीका अनुसार एक साता अघिसम्म काठमाडौं छाड्ने सवारीको संख्या २४ घण्टामा २८ सयसम्म हुन्थ्यो। अहिले काठमाडौं बाहिरका सवारीसाधनले समेत यात्रु ओसार्दा चाप बढेको छ। 

ट्राफिक प्रहरीका अनुसार २४ घण्टामा ९ हजार ९ सय ५६ सवारीसाधनबाट ५९ हजार ८१ यात्रु काठमाडौंबाट बाहिरिएका छन्। अन्य समयमा २४ घण्टामा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ४९ हजारसम्म हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार एक सातायता ११ लाख  मानिसले काठमाडौं छोडेका छन्।

‘निर्वाचनको समयमा काठमाडौं उपत्यका छोड्ने यात्रुको अत्यधिक भीड बुधबार देखिएको छ। दसैंमा घर फर्किनेको जस्तो भीड छ। झण्डै ३० प्रतिशत सवारीसाधन रिजर्भमा गएका छन्,’ सिटौलाले भने। भोट हाल्न जिल्ला फर्किनेहरू काठमाडौंको जडीबुटी, कोटेश्वर, बालाजु बसपार्क, बल्खु र कंलकीबाट बिहान पाँच बजेदेखि दिउँसोसम्म गाडी चढ्ने गरेका छन्। अधिकांश पार्टीले बस, मिनिबस, टाटा सुमो र हाइसमा यात्रु लगिरहेका छन्।

प्रकाशित: May 11, 2022| 16:48 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...