काठमाडौं- बसन्तपुर दरबार क्षेत्र पछाडि इन्द्रचोक जाने बाटो पूरै होलसेलदेखि खुद्रा पसलले ढाकिएका छन्। अनि त्यही फुटपाथमा महिलाले लगाउने भित्री वस्त्र बेच्दै गरेका भेटिन्छन्, ५४ वर्षीय बिजु शाही।पुरातात्त्विक कथाले भरिएको इन्द्रचोक आसपास शाहीले २५ वर्षयता नियमित गर्दै आइरहेको कर्म यही नै हो।
देश यतिखेर स्थानीय चुनावमा होमिएको छ। वैशाख ३० गते हुने चुनावका लागि आ–आफ्नो जनप्रतिनिधि चुन्न सबै आ–आफ्नो गाउँ फर्किंदैछन्। तर, शाही यतै छन्। किनभने उनी यहीँकै रैथाने हुन्। हनुमान ढोका नजिक ढोकाटोलमा उनको घर छ। यद्यपि उनलाई यसपटक पहिलेजस्तो भयंकर चुनाव लागेको छैन। ‘चुनावका बेला ‘भोट, भोट’ भन्दै आउँछन्, अनेक आश्वासन पनि बाँढ्छन् तर जितेपछि केही पूरा गरे पो!,’ कुराकानीको सुरुवातमै उनी निरस सुनिए।
०४८ सालको चुनावदेखि नै उनी काठमाडौंका नियमित भोटर रहेछन्। आधा दर्जनभन्दा बढी चुनावमा मतदान गरिसकेका छन्। तर, जनप्रतिनिधि र नेताप्रति उनको विश्वास हराएको छ।
क्याम्पस पढ्दा पनि बिजु विद्यार्थी राजनीतिमा भने कहिल्यै लागेनन्। राजनीतिबारेमा बुझेदेखि नै उनलाई यो फोहोरी खेल लाग्यो। ‘राजनीतिलाई सेवा भन्छन् तर व्यवसायको रुपमा प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गरिरहेका छन्,’ उनी भन्दै थिए, ‘म सँगै पढेका कतिपय साथी त्यतिबेला क्याम्पस पढ्दा खुब राजनीतिमा लागे। त्यही कारण पढाइ पनि पूरा गर्न सकेनन्। अहिले सुन्छु, जीवन बर्बाद भयो रे। कम्तीमा म त यो व्यापार गरेर पनि बाँचिरहेको त छु।’
बिजुलाई लाग्छ, जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि यहाँ विकास हुन सक्दैन।
‘किन नि?’
‘यहाँ सबैले आफू र आफन्तको बारेमा मात्रै सोचे,’ जवाफमा उनी भन्छन्, ‘जबसम्म म र मेरो भन्ने यो भावना त्योगिँदैन, तबसम्म विकास असम्भव छ। तर, हाम्रा नेतालाई आफ्नाबाहेक अरुबारे सोच्नु फुर्सद भए पो!’
यत्तिकैमा भित्रीवस्त्र खरिद गर्न एक महिला त्यहाँ आइपुग्छिन्। रुचिअनुसारको वस्त्र छान्छिन्, अनि खरिद गरेर जान्छिन्।