शुक्रबार, वैशाख २१, २०८१

चुनावको चटारोमा बुटवलको सुकुम्बासी बस्ती पुग्दा...

बुटवल उपमहानगरपालिकाका ९० हजार ६५ मतदातामध्ये करिब ३० प्रतिशत तिनाउ नदी किनार आसपासका अव्यवस्थित बसोबासी र सुकुम्बासी हुन्।
 |  बुधबार, वैशाख २८, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, वैशाख २८, २०७९

बुटवल– बुटवल उपमहानगरपालिका–११ बुुद्धनगर शिवालय टोलकी ५० वर्षिया सानु सुनार साेमबार अपराह्न घरमा तरकारी केलाउँदै थिइन्। म पुग्नासाथ केलाउँदै गरेको तरकारी छाडेर भत्किएको घरबाहिर निस्किन्। 

triton college

‘को आउनुभयो, के काम थियो?’ उनले सोधिन्। मैले नमस्कार गर्दै भनेँ–‘ म तपाईंसँग कुरा गर्न आएको, पत्रकार हुँ।’ चुनावको मुखमा कोही नयाँ मान्छे देख्दा सायद उनमा कोही दलका प्रतिनिधि वा उम्मेदवारले आश्वासन बोकेर आएछन् कि भन्ने सोचेकी रहिछन्। म भने स्थानीय तहको चुनावमा दलका उम्मेदवारले उच्च प्राथमिकतामा राखेका तिनाउ किनारका बासिन्दाको अवस्था बुझ्न सुनारको घर छिरेको थिएँ। पोहोर भदौ १३ गते राति आएको बाढीले बुद्धनगर शिवालय टोलका ९ घरमा क्षति पुगेको थियो। पत्रकार भन्ने थाहा पाएपछि उनले सानुले ८ महिनादेखि भोगेको पीडाको फेहरिस्त सुनाउन थालिन्।

‘पोहोर भदौको बाढीले हामीलाई घरवारविहीन बनायो। केही दिन स्कुलमा बस्यौं, त्यसपछि कोठा भाडा लिएर बस्यौं,’ सानुले अगाडि थपिन्, ‘रोइकराइ गरेपछि १५ हजार त राहत पाइयो, तर पछि पैसा नै नपाउने भएपछि बाध्य भएर यही भत्किएको घरमा बसेका छौं।’ सुनारको घर नदीको डिलमा झुन्डिएको छ। घर अगाडिको सडकमा खोला बगेको छ। ‘हामीलाई यहाँ बस्ने रहर पटक्कै छैन, नुनभात खाएर पनि राम्रोसँग सुुत्न पाइँदैन,’ सानुले दुखेसो पोखिन्, ‘सुकुम्बासीका लागि केके गर्छाै‌ भनेर नेताहरुले भनेका थिए। आज ८ महिनादेखि नदीको किनारमा झुन्डिएको घरमा बस्दा पनि कोही कसैले सोध्न खोज्न आएनन्।’ सानु २०५९ सालदेखि यही नदी किनारको बस्तीमा बस्न थालेकी हुन्। ‘गरिबले कहाँ बस्ने त? बाढीले घर भत्कायो, सरकारले कतै सुरक्षित ठाउँमा राखिदिए पनि हुुन्थ्यो,’ सानु भन्छिन्। 

बुटवल उपमहानगरमा मेयरका उम्मेदवार नेकपा एमालेका बाबुराम भट्टराई र कांग्रेसका खेलराज पाण्डे दुवैले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्छौं भनेर चुनावी प्रतिबद्धता जनाएका छन्। तर, नदी छेउको बाढी पीडित सुकुम्बासी बस्तीमा कसैको नजर परेको छैन। ‘जनताको लागि काम गर्छौं भन्ने नेताहरु हाम्रो समस्या सुन्नुपर्छ भनेर हो कि अहिलेसम्म आउनुभएन,’ सानुले भनिन्। उनका श्रीमान् विजय सुनार दैनिक घरखर्चका लागि मकै पोल्ने काम गर्दा रहेछन्। आफ्नो पीडा पोख्दै गर्दा सानु भक्कानिइन्, ‘हाम्रो त भोट मात्रै चल्दोरहेछ, यति जोखिममा बस्दा पनि हामीले सरकार भेटेनौं।’

बुटवल बुद्धनगरका स्थानीय वीरहादुर तामाङ, रत्ना दर्जी र भारती तामाङ 
पोहोर भदौ १३ गतेको बाढीले घर तिनाउमा झुन्ड्याएको छ। वर्षा शुरु भएपछि यहाँ बस्न सक्ने अवस्था छैन। ‘पानी पर्न थाल्यो भने पाक्दै गरेको भात बोकेर दौडनुपर्छ,’ उनले दुःख बिसाइन्। बुटवल सहरको छेउमा पीडा पोख्न नपाएर सुकुम्बासी नागरिक रोइरहेका छन्। बजारमा चर्का भाषणमा समृद्धिको नारा घन्किरहेको छ। केही दिनअघि पाँच दलीय गठबन्धन र एमालेको चुनावी सभाको भाषण घरबाटै सुनेकी सोही ठाउँकी रत्ना दर्जी (४०) भेटिइन्। ‘घरैबाट अस्ति प्रधानमन्त्री, केपी ओलीको भाषण सुनेको थिएँ, आफूहरुले जिते देश बनाउने भन्दै हुनुहुन्थ्यो, तर आज हामी घरवारविहीन भएर बसेको वर्षौं भयो। हामीले भोट दिएका नेता मात्रै जिताउने हो कि हाम्रो पनि जीवन फेरिनुपर्छ?’ उनको प्रश्न छ। 

corrent noodles
Metro Mart

रत्नाको २०६७ सालमा आएको बाढीले घर बगाएको थियो। अहिले बुद्धनगर शिवालय टोलमा आमाको घरमा शरणमा बसेकी छन्। भूमिहीन दलितका लागि सरकारले जग्गा दिने भनेर फाराम संकलन पनि भएको सुनेकी उनले केही नपाएको बताइन्। ‘वैशाख ३० गते फेरि चुनाव आउँदैछ, हाम्रो जीवनमा सुधार नै नहुने भए किन भोट दिने?’ उनले आक्रोश पोखिन्। आडैमा रहेका वीरबहादुर तामाङ (५४) ले पनि मुख खोले, ‘म पनि आजित भइसकेँ, कतिवटा चुनावपछि लालपुर्जा पाउने हो हामीले?’ तामाङ २५ वर्षअघि मकवानपुरबाट बुटवल आएका हुन्। उनी पनि २०५९ सालदेखि शिवालय टोलमै बस्छन्। उनको घर केही सुरक्षित देखिन्छ। तर, लालपुर्जा पाउने उनको आश कहिले पूरा हुन्छ थाहा छैन। 

बुद्धनगर बस्तीमै घुम्दै गर्दा भर्खर मकै बेचेर फर्कंदै गरेकी टीका परियार भेटिइन्। पोहोर बाढीले घर बगाउँदा उनले आफ्नो पीडा पोखेकी थिइन्। मलाई देख्नासाथ उनले त्यही भत्किएको घर देखाउन लगिन्। पोहोर तिनाउले जुन अवस्थामा भत्काएको थियो, अवस्था उही रहेछ। ८ महिनापछि भेटिँदा पनि टीकाको परिवारको पीडा उही थियो। ‘हामी कति ठाउँमा रोइकराइ गर्यौं, अहिले बस्ने बास छैन,’ उनले भनिन्, ‘कसैले पनि समस्या सुनेन।’ गत वर्ष टीका र उनको परिवार छिमेकको घरको गारो फोडेर बाँच्न सफल भएका थिए। उनले स्थानीय तहको चुनावका लागि भोट तान्न सबै पार्टीका नेताहरुले आश्वासन दिन थालेका छन्। तर, विगतको चुनावमा पनि त्यस्तै आश्वासन पाएका उनीहरु विश्वस्त छैनन्।  

सानु सुनार भत्किएको घरबाट तिनाउ नदी नियाल्दै 
टीकाजस्तै पीडितहरुको बस्तीमा अहिलेसम्म उम्मेदवारहरुको खास चासो छैन। न त हिजो जितेका जनप्रतिनिधिले नै चासो देखाए। नागरिकका यी समस्या देखेपछि के भन्न सक्छौं भने सुकुम्बासी समस्या चुनावी नारा त बन्यो, तर समाधान गर्ने कुनै कार्यक्रम भएन। 

बस्ती डुल्दै गर्दा लालपुर्जाको भन्दा दैनिक रोजीरोटी र गाँसकै चिन्तामा थिए उनीहरु। विडम्बना कतिसम्म कि स्थानीय सरकारले विपदमा राहत दिनकै लागि भनेर कोष बनाएको हुुन्छ। तर, विपदबाट प्रभावित भएका यी नागरिकको पीडा ८ महिनासम्म पनि ज्यूँका त्यूँ रहनु आफैमा विडम्बना हो। २०७४ सालको स्थानीय तहमा बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी विजयी भए। उनले शपथ लिँदै गर्दा यिनै बुटवलका सुकुम्बासी बस्तीका नागरिकका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका थिए। तर, पाँच वर्ष बित्यो, लालपुर्जा त परको कुरा, दैनिक जीवनयापनमै सुकुम्बासी बस्तीका नागरिक तड्पिरहेका छन्। 

सधैं मुद्दा, सधैैं उपेक्षा 

भेटिएका प्रतिनिधिमूलक व्यक्तिहरुको एउटै आक्रोश छ– समस्या नै समाधान नहुने भए भोट किन दिने? तर, बुटवलको निर्णायक बुटवल नै यही तिनाउ किनारको बस्तीमा छ। स्थानीय यो पटक आक्रोशित देखिए पनि दलहरु फकाउन सिपालु छन्। अभावमा बाँचेकाहरुलाई विभिन्न आश्वासन लिएर उम्मेदवारहरु पुग्न थालेका छन्। बुटवल उपमहानगरकाको तथ्यांक अनुसार बुटवलमा सुकुम्बासी र अव्यवस्थित बसोबासी १७ हजार छन्। यसमध्ये ६ हजार ५ सय घरधुरी बुटवल–११ का हुन्। निर्णायक मतदाता नै यहाँ छन्। बुटवल उपमहानगरमा रहेका ९० हजार ६५ मतदातामध्ये करिब ३० प्रतिशत मतदाता तिनाउ नदी किनार आसपासका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरु हुन्। 

त्यसैले अहिले गठबन्धनबाट मेयरका उम्मेदवार खेलराज पाण्डे र एमालेका तर्फबाट उम्मेदवार बाबुराम भट्टराईले चुनावी मुख्य एजेन्डामा सुकुम्बासी समस्या समाधान गर्ने भनेका छन्। ५ वर्षसम्म स्थानीय सरकारको नेतृत्व गरेको एमालेलाई गठबन्धनबाट मेयरका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता पाण्डेले स्थानीय सरकारकै कारण बुटवलका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान नभएको आरोप लगाएका छन्।

बुटवल बुद्धनगरका बाढीले घरवारवीहिन टीका परियार र उनको परिवार। अहिले उनीहरु भाडामा बस्छन्। 

‘एमालेले सुकुम्बासीका नाममा राजनीति गर्न खोज्यो, प्रतिनिधि, प्रदेश र स्थानीय तह जित्दा पनि काम नगर्नु दुखद् छ,’ उनी भन्छन्, ‘हामी निर्वाचित भएपछि केन्द्रीय सरकारले नदिए पनि त्यसको स्थानीय स्तरबाट दीर्घकालिन रुपमा समाधानको प्रयास गरिन्छ। सुकुम्बासीका नाममा राजनीति गर्न दिँदैनौं।’ 

एमालेका उम्मेदवार बाबुराम भट्टराई कांग्रेसकै कारण लालपुर्जा दिन रोकिएको बताउँछन्। स्थानीय सरकारले सबै काम गरिसकेको अवस्थामा संघमा सरकार फेरिँदा लालपुर्जा बाँड्न नसकिएको उनले बताए। ‘उपमहानगरले तथ्यांक लिइसकेको छ, जहाँबाट रोकिएको छ, त्यहीँबाट काम सुरु हुन्छ,’ उनले भने। उनले पनि स्थानीय प्रतिबद्धतापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरेका छन्। 

बुटवल–११ को वडाध्यक्ष भएर पाँच वर्ष नेतृत्व गरिसकेका र पुनः एमालेका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र क्षेत्रीले अब सुकुम्बासी बस्तीका नागरिकले कुनै पनि पीडा भोग्न नपर्ने बताए। कांग्रेसबाट ११ का वडाध्यक्षका उम्मेदवार जितबहादुर मल्लले सुकुम्बासीको भोटलाई एमालेले दुरुपयोग गरेकाले अब काम नगर्नेलाई जनताले तह लगाउने मौका आएको टिप्पणी गरे।

चुनावको मुखमा दलहरुले प्रतिबद्धता गर्ने कुरा नौलो होइन। बुुटवलमा विगत दुई दशकदेखि सुकुम्बासीको नाममा दलहरुले राजनीति गरिरहेका छन्। २०६४ सालको संविधानसभा, २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि यही एजेन्डा थियो। एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबासीलाई लालपुर्जा दिने प्रतिबद्धता गरेर २०६४, ०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा निर्वाचन जितेका हुन्।

तिनाउ नदीले भत्काएको घर। ८ महिनादेखि यही अवस्थामा छ।  
एमालेले स्थानीयदेखि प्रदेश र केन्द्रसम्म नै यही एजेन्डालाई आधार बनाएर चुनाव जितेको हो। त्यस्तै विपक्षी कांग्रेसका नेताहरुले पनि सुकुम्बासीलाई नै मुख्य एजेन्डा बनाएर निर्वाचन लडेका हुन्। निर्वाचन जित्नेले समस्या समाधान गर्न नसकेकोमा कुनै पछुतो गर्दैनन् भने विपक्षीले यसैलाई निशाना बनाएर राजनीतिक एजेन्डा बनाउने गरेका छन्। सुकुम्बासी बस्तीमा सबै भूमिहीन नै छन् भन्ने ग्यारेन्टी छैन। तर, सहरले मजदुरी खोजे पनि उनीहरुका लागि बासस्थान दिन नसक्दा नदी किनारमा बस्ने गरेको पाइएको सहर र सुकुम्बासीका बारेमा अध्ययन गरेका अध्येता तथा लेखक रामचन्द्र श्रेष्ठ बताउँछन्।

‘तिनाउ नदी छेउछाउका बस्ती पूरै सुकुम्बासी छैन। भूमिहीन पनि होइन तर, सहर पसेकाहरुलाई राज्यले बासस्थानको व्यवस्था नगर्दा बसेको बस्ती हो,’ उनी भन्छन्। उनका अनुसार तिनाउ नदी छेउका बस्तीलाई दलहरुले भोट बैंकको नवीकरण सहज हुने भएकाले समस्या समाधान गर्न रुची नदेखाएका हुन्। ‘पटक पटक आश्वासन दिने, उनीहरुबाट भोट बटुल्ने काम भइरहेको छ,’ उनले भने, ‘अब जमिन भन्दा पनि सहरमा आवासको ग्यारेन्टी गर्नुपर्छ, तब मात्रै सधैका लागि सुकुम्बासीका नाममा राजनीति गर्न बन्द हुन्छ।’ 

प्रकाशित: May 11, 2022| 14:57 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।