एजेन्सी- युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि-सिजन अर्न्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ। रियलले इटालियन क्लब युभेन्टसमाथि ३-१ को सहज जित निकालेको हो।
यसअघिको खेलमा म्यानचेस्टर युनाइटेडसँग २-१ ले पराजित भएको रियलको यो पहिलो जित हो। रियलको सहज जितमा मार्काे एसेन्सियोले दुई तथा ग्यारेथ बेलले एक गोल गरे। युभेन्टस्ले आत्मघाती गोल उपहार पाएको थियो।
अमेरिकाको मेरिल्यान्डस्थित फेडेक्सफिल्ड ल्यानोभरमा आइतबार बिहान भएको खेलमा युभेन्टस्ले खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। रियलका डिफेन्डर ड्यानियल कार्भाजोलले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो।
शुरुवातमै १-० ले पछि परेपछि रियलले सम्हालिएको प्रदर्शन गर्दै ३९ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। ग्यारेथ बेलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मार्काे एसेन्सियो नायक बने।
दोस्रो हाफको शुरुमै इस्कोको स्थानमा मैदान छिरेका एसेन्सियोले ४७ औं र ५६ औं मिनेटमा गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए। यसै सिजन रियलबाट १ सय मिलियन पाउन्डमा युभेन्टस् पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो उक्त खेलमा सहभागी थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४