शुक्रबार, वैशाख २१, २०८१

गृहमन्त्रीको गृहनगरमा यस्तो छ चुनावी जोडघटाउ

विगतमा २ हजार ७ सय ७४ मतले हार भोगेका रामकृण खाणले नयाँ मतदाताको मत कति तान्छन् र नेकपा एसले कति मत काट्छ त्यसले जितहारको टुंगो लगाउनेछ।
 |  शनिबार, वैशाख २४, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, वैशाख २४, २०७९

बुटवल– ‘हेभिवेट’ नेताहरु रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो पटक रोचक प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेस २०७४ मा भोगेको हारको बदला लिन कम्मर कसेर लागेको छ भने एमाले आफ्नो विरासत जोगाउन आक्रामक प्रचारमा होमिएको छ। 

triton college

बुटवल र भैरहवाको मध्य भागमा पर्ने तिलोत्तमा तीव्र रुपमा सहरीकरण भइरहेको नगरपालिका पनि हो। अर्कोतर्फ ‘हेभिवेट’ नेताहरुको नगर समेत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालको गृहनगर पनि हो। ‘हेभिवेट’ का यी दुवै नेताका कारण मात्रै होइन, ०७४ सालमा तिलोत्तमा एमालेबाट विजयी भएका वासुदेव घिमिरेका कारण पनि चर्चामा आइरहेको नगरपालिका हो।

यो पटक नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति समेत रहेका रामकृष्ण खाण नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर अघिल्लो चुनावमा भोगेको हारलाई जितमा परिणत गर्ने जमर्कोमा छन्। उनी २०७४ सालमा एमालेका वासुदेव घिमिरेसँग २ हजार ७ सय ७४ मतान्तरले पराजित भएका थिए। यो पटक तिनै खाण एमालेसँगको हारको बदला लिन आकर्षक एजेन्डासहित चुनावी मैदानमा उत्रेका छन्। खाण गृहमन्त्री बालकृष्ण खाणका सहोदार भाइ पनि हुन्। ०७४ मा रामकृष्णले १९ हजार ९४ मत ल्याउँदा एमालेका वासुदेव घिमिरेले २१ हजार ८ सय ६८ मत ल्याएर विजयी बनेका थिए। यो पटक एमालेका तर्फबाट मोहन चापागाईंलाई अघि सारिएको छ। चापागाईं लामो समय पत्रकारितामा क्रियाशील थिए। 

नेकपा एमालेका उपाध्यक्ष विष्णुु पौडेल अर्थमन्त्री हुँदा उनी सञ्चार विज्ञका रुपमा कार्यरत थिए। त्यसका अलावा चापागाईं २०७४ सालमा पनि मेयरका आकांक्षी थिए। लगभग टिकट सुनिश्चित भइसकेका चापागाईंले अन्तिममा घनश्याम भुसालको अडानका कारण घिमिरेले एमालेबाट टिकट पाएका थिए। यो पटक निकै रस्साकस्सीपछि टिकट पाएका चापागाईं एमालेको विरासत जोगाउन आक्रामक प्रचारमा होमिएका छन्। नेकपा एमाले विभाजन भएको र गठबन्धन कायम भएकाले त्यसबाट जित निकाल्न चापागाईंका लागि चुनौतीपूर्ण छ। 

तिलोत्तमामा पाँच दलीय गठबन्धन भने कायम छैन। नेपाली कांग्रेस र नेकपा माओवादीबीच मात्र गठबन्धन बनेको छ। कांग्रेस र माओवादी केन्द्रबाट मेयरमा खाण र उपमेयरमा हेमन्त पाण्डे उम्मेदवार छन्। एमालेबाट मेयरमा चापागाईं र उपमेयरमा जागेश्वरीदेवी चौधरी चुनावी मैदानमा छन्। तिलोत्तमामा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले मेयरमा महिला उम्मेदवार खडा गरेको छ। 

corrent noodles
Metro Mart

मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारी उम्मेदवार छन्। समाजवादीले भ्रष्टाचार नियन्त्रण, जनप्रतिनिधिको सेवा सुविधा कटौती सहित नागरिकलाई राहत दिने खालका प्रतिबद्धता सहितको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। अघिल्लो पटक नेपाली कांग्रेससँग गठबन्धन गरेको राष्ट्रिय जनमुुक्ति पार्टी एक्लै चुनावमा उठेको छ। मेयरमा सुन्दर गुुरुङ र उपमेयरमा गीता सारु उम्मेदवार छन्। यसअघि कांग्रेसबाट मेयरमा खाण उम्मेदवार हुुँदा सारु उपमेयरकी उम्मेदवार थिइन्। उनले १८ हजार ७ सय ८४ मत ल्याएकी थिइन्। 

कांग्रेस–माओवादी आकर्षक एजेन्डासहित घरदैलोमा 

कांग्रेस–माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका रामकृष्णका लागि यो निवार्चन जित्नै पर्नेछ। उनी कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणका भाइ भएकाले विपक्षीको निशानामा पनि परेका छन्। अर्को, उनी दोस्रो पटक उम्मेदवार भएका हुन्। यी कारणले गर्दा रामकृष्णका लागि यो पटक जित्नैपर्ने दबाब छ। खाणले निर्वाचनमा यो पटक एमालेको पाँच वर्षे कार्यकालमा भ्रष्टाचार बढेको भन्दै चर्को आलोचना गरेका छन्। 

कांग्रेस–माओवादी गठबन्धनको संयुुक्त प्रतिबद्धतापत्रमा ‘भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार’ भन्ने नारा तय गरेको छ। त्यति मात्रै होइन, नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने प्रतिबद्धता गरेको छ। घोषणापत्रमा रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा हाल नगरवासी उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा अन्त्य गरी सरकारी बजेटमा बनाउने प्रतिवद्धता गरिएको छ।

विगतमा २ हजार ७ सय ७४ मतले हार भोगेका रामकृण खाणले नयाँ मतदाताको मत कति तान्छन् र नेकपा एसले कति मत काट्छ त्यसले जितहारको टुंगो लगाउनेछ। 

यस्तै ३० युनिट विद्युत महशुल र खानेपानीको न्यूनतम महशुल निःशुल्क गरिने तथा इन्डक्सन चुल्हो खरिदमा ६० प्रतिशत अनुदान दिने प्रतिवद्धता छ। यस्तै एक घर एक रोजगार वा व्यवसाय नीति कार्यान्वयन, अव्यवस्थित वस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी सुकुम्बासी समस्या सधैंका लागि अन्त्य गर्ने, जनताबाट उठाएको करले शालिक, गेट, स्तम्भ, भ्यु टावर नबनाउने घोषणापत्रमा भनिएको छ।

यस्तै उपहार र भोजभतेरमा पूर्णरुपमा बन्देज लगाउने, जन्म विवाह, मृत्यु दर्ता, बसाइँसराइ प्रमाणपत्र नागरिकको घरमै गएर सेवा दिने प्रतिवद्धतापत्रमा छ। नगरपालिकाको नयाँ प्रशासनिक भवनलाई अस्पताल बनाउने घोषणा गरेको छ। जसको एमालेले विज्ञप्ति नै जारी गरेर खण्डन गरेको छ। कांग्रेस माओवादी गठबन्धन यो पटक तिलोत्तमामा जसरी पनि नेतृत्व हत्याउन आकर्षक प्रतिबद्धता पत्र मात्रै सार्वजनिक गरेको छैन, घरदैलोमा पुुगेर नयाँ काम गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले समेत तिलोत्तमालाई विशेष महत्व दिएका छन्। बेला बेला सुरक्षा संयन्त्रसँग भेटघाटको निहुँ पारेर कार्यकर्ता भेट्ने काममा व्यस्त छन् उनी। पार्टीभित्रको संस्थापन र संस्थापन इतर समूूहको जोखिम टार्न महामन्त्री विश्वप्रकाश शर्मालाई प्रमुख अतिथि बनाएर बिहीबार मात्रै निर्वाचन लक्षित आमसभा गरेको छ। कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, पुुष्पा भुसाल लगायतका नेताहरु सहभागी थिए। 

एमाले पाँच वर्षे कार्यकालको उपलब्धि देखाएर जनता फकाउँदै 

कांग्रेसका लागि जसरी पनि चुनाव जित्नैपर्ने दबाब छ, त्यस्तै जीवन–मरणको सवाल बनेको छ एमालेलाई पनि। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये ७ वटा पालिका एमालेले जितेको थियो। यी ७ पालिकामध्ये शुरुदेखि नै तिलोत्तमाले चर्चा कमायो। नेपाली कांग्रेस र माओवादीले वासुदेव घिमिरे नेतृत्वको तिलोत्तमा सरकारलाई भ्रष्टाचारको अखडा नै भनेको छ। तर, राष्ट्रिय स्तरमा तिलोत्तमा उत्कृष्ट नगरपालिकाकै मानक बनिसकेको छ।

नेकपा एमालेका उम्मेदवार मोहन चापागाईं अहिले घिमिरे नेतृत्वको सरकारले गरेका कामहरुको फेहरिस्त लिएर घरदैलोमा छन्। पत्रकारिता मार्फत बटुलेको विश्वासलाई यो पटक राजनीतिक सफलतामा चापागाईंलाई चुनाव जित्नैपर्ने दबाब छ। अघिल्लो पटक मेयर पदको टिकटका लागि जिल्ला कमिटीले निर्णय गरिसके पनि अन्तिममा घिमिरेले नेता घनश्याम भुसालको साथले टिकट पाएका थिए। 

यो पटक पनि घिमिरे प्रमुख दावेदार थिए। त्यसो त एमालेका जिल्ला सचिव यज्ञ गैरे पनि आकांक्षी थिए। टिकटको लडाइँ जितेका चापागाईंलाई गुट परिवर्तनको आरोप पनि छ। यद्यपि यो कुरा झुुट भएको स्वयं चापागाईंले बताइसकेका छन्। चापागाईंलाई यो पटक एमालेको विरासत त जोगाउन छँदैछ, त्योसँगै एमाले नेतृत्वको सरकारको सफलतालाई प्रमाणित गर्र्नु पनि छ। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्यूरो लिला गिरीको गृहनगर पनि हो तिलोत्तमा। यी नेताहरु एमाले जिताउन लागि परेका छन्। भुसाल निकटकी जागेश्वरीदेवी चौधरी उपप्रमुखको उम्मेदवार छिन्।

भुसालको सक्रियता गत निर्वाचनमा भन्दा सुुस्ताएको एमाले कार्यकर्ताहरु बताउँछन्। तर, केहि दिनयता भने भेटघाटमा व्यस्त हुन थालेका छन्। एमालेले पाँच बर्षे उपलब्धीलाई लिपिबद्ध गरेर घोषणापत्र बनाएको छ। अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने चुनावी प्रतिबद्धता गरेको उसले छ। ‘तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजानको लागि यसअघि राम्रो आधार तयार भएको छ,” चापागाईंले भने, ‘अब त्यसलाई थप गति दिन प्रतिबद्ध छु।’

तिलोत्तमामा रहेका करिब २०० टोलमा उद्यमशिलताको विकास गर्ने र रोजगारी सिर्जना गर्ने उनले बताए। फराकिला सडक, आधारभूत स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिने, हरियाली प्रवर्द्धनलाई निरन्तरता दिने, गाडी हिँड्ने ओभरफ्लाइ ब्रिज निर्माण गर्ने, कृषिमा अनुदान वृद्धि गर्ने एमालेको प्रतिबद्धता छ। 

यस्तो छ गणित 

१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा ८५ हजार ७ सय ४७ मतदाता छन्। २०७४ मा भन्दा यो पटक २५ हजार २ सय ९७ हजार मतदाता थपिएका छन्। 

तिलोत्तमामा विवेकशील साझा पार्टीले समेत मेयरमा उम्मेदवारी दिएको छ। राप्रपाले पनि मेयरमा उठाएको छ। यी दलहरुले नयाँ पुुस्ताका केहि मत काट्ने छ। ०७४ सालमा एमालेका उम्मेदवारले २१ हजार ८ सय ६८ मत पाएको हो। नेपाली कांग्रेसका उम्मेदवारले १९ हजार ९४ मत ल्याएका थिए। कांग्रेसलाई राष्ट्रिय जनमुुक्तिले साथ दिएको थियो। नेकपा माओवादीले २ हजार ६ सय ५१ मत ल्याएको थियो। अहिले जनमुुक्तिले साथ दिएकाले केही मत बढेको कांग्रेसको दावी छ। 

नेकपा एमाले विभाजन भएकाले नेकपा एकीकृत समाजवादीले केही मत काट्नेछ। जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले मेयर र उपमेयरमा कांग्रेस माओवादीलाई समर्थन गरेका छन्। एकीकृत समाजवादीका तर्फबाट मेयर पदकी उम्मेदवार आशा कुमारी चौधरीले समेत थारु समुदायको मत काट्ने बताइएको छ। 

विगतमा २ हजार ७ सय ७४ मतले हार भोगेका रामकृण खाणले नयाँ मतदाताको मत कति तान्छन् र नेकपा एसले कति मत काट्छ त्यसले जितहारको टुंगो लगाउनेछ। तर, पछिल्लो राजनीतिक घटनाक्रमले यो पटकको निर्वाचनमा ठूूलो भूमिका खेल्ने राजनीतिशास्त्रका प्राध्यापक डा. बुुद्धबहादुर थापाले बताए।

करिब दुई तिहाइ नजिक मत पाएको नेकपाले पाँच वर्षसम्म सरकार सञ्चालन गर्न असफल भएकाले त्यसबाट नागरिकमा देखिएको नैराश्यता वैशाख ३० को निर्वाचनमा देखा पर्ने उनको विश्लेषण छ। ‘यो पटक नागरिकले नेतृत्व परिवर्तन गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘विगतको परिणामले मात्रै यो पटक असर पार्नेछैन, नयाँ मतदाताको मनोविज्ञान नेतृत्व परिवर्तन खोजेको देखिन्छ।’ उनका अनुसार नेपालको राजनीतिमा पहिलो पटक विश्वास गर्ने तर, अर्को कार्यकालमा नयाँ व्यक्ति र दलको खोजी हुने गरेको छ। 

प्रकाशित: May 07, 2022| 14:44 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।