काठमाडौं– क्या जमाना थियो त्यो! मानिसको घर–भित्तामा पेण्डुलम थिएन। हातमा घडी थिएन र थिएनन् काँटाहरु पनि। उनीहरु समयको ‘पर्फेक्ट’ अनुमान लगाउँथे, घाममा आफ्नो छाया हेरेर। चराहरु चिरबिर–चिरबिर गर्न थालेपछि थाहा हुन्थ्यो कि अब बिहानी हुँदैछ। साँझमा पनि चराहरु चिरबिर–चिरबिर गर्न थालेपछि थाहा हुन्थ्यो अब रात पर्नेवाला छ।
साँच्चै! क्या जमाना थियो त्यो! अहिले ती चराहरु सर्वहारा बनेका छन्। सुकुम्बासी बनेका छन्। अझै मूलतः काठमाडौंमा झन् चराहरु मार्मिक जीवन बाँच्न बाध्य छन्। कुनै झुम्म परेका ठूला वृक्षहरु छैनन यहाँ। र छैनन् बलिया हाँगाहरु पनि गुँड बनाउनलाई।
यहाँसम्म कि मानिसविरुद्ध बारम्बार मोर्चा र जुलुस निकाल्न बाध्य छन्, चराहरु।
०००
समय अनुकूल प्रविधिले मानिसको जीवनलाई ‘डिजिटल’ बनाइदिएको छ। केही हदसम्म यो राम्रै कुरा पनि हो। तर, मानिसहरुले बाँचिरहेको ‘डजिटल जीवन’मा प्रकृति गायब छ। प्रकृति आफैंले गुहार मागिरहेको छ, अस्तित्व सुरक्षित राखिदिन सभ्यताको एउटा लकरमा। प्रकृतिलाई सामान्य मान्ने मानिसहरुको ठूलो जमात छ, यहाँ। तर त्यही भीडमा दीक्षा जे थापा भने प्रकृतिलाई सबैभन्दा ‘सिरियस म्याटर’ भन्न रुचाउँछिन्। प्रकृतिसँग खुब प्रेम छ उनको।
रुख, हाँगा, पात, जंगल, खोला, भीरका साँघुरा गोरेटा र डाँडामा आफ्नो वैंश पोखिरहेका गुराँसहरुसँग उनको अपत्यारिलो लगाव छ। उनी घण्टाैसम्म पनि चराहरुसँग वातचित गर्न सक्छिन्। घण्टौंसम्म उनी दोहोरी खेल्न सक्छिन्, हाँगा र पातहरुसँग। त्यसो त दीक्षा आफैँ पनि एक गायिका हुन्। त्यो पनि सुन्दरताको बोनससहित ‘पर्फेक्ट’ र ‘स्मार्ट’ गायिका।
समय अनुकूल प्रविधिले मानिसको जीवनलाई ‘डिजिटल’ बनाइदिएको छ। केही हदसम्म यो राम्रै कुरा पनि हो। तर, मानिसहरुले बाँचिरहेको ‘डिजिटल जीवन’मा प्रकृति गायब छ।
अब दीक्षाको सांगीतिक किस्साहरु पढौँ। काठमाडौँ र ललितपुरका ठूला रेष्टुराँ, लाउन्ज वा क्लबमा जानुभएको छ वा जाँदै हुनुहुन्छ भने त्यहाँ गुञ्जने युवतीको स्वर दीक्षाकै हुने प्रवल सम्भावना हुन्छ। किनकि, ती रेष्टुराँ, लाउन्ज वा क्लबमा आउने दर्शक–स्रोता ग्राहकले नै दीक्षाको स्वरलाई स्थापित गराएका हुन्।
काठमाडौँ र ललितपुरमा दीक्षाले लाइभ कन्सर्ट नगरेका ठूला रेष्टुराँ, लाउन्ज वा क्लब सायदै भेटिएलान्। उनी भन्छिन्, ‘नाम चलेका ठूला ठाउँहरुमा लगभग कन्सर्ट गरिसकेकी छु, तर कोभिड महामारी डरले पछिल्लो समय सतर्क तथा छनोट गरेर मात्र कन्सर्ट गरिरहेको छु।’
दीक्षाले ०७१ सालमा पहिलो पटक ‘लाइभ कन्सर्ट‘ गरेकी थिइन्, लाजिम्पाटस्थित त्रिशारा रेष्टुराँमा। त्यसपछि उनले आजसम्म पछि फर्केर हेर्नुपरेको छैन। ’मैले पहिलो पटक लाजिम्पाटमा रहेको त्रिशारा रेष्टुरेण्टमा लाइभ गाएकी थिएँ। त्यसयता थुप्रै रेष्टुराँ, लाउन्ज वा क्लबहरुमा गाउने मौका पाएँ। कुन ठाउँमा कति पटक गाएँ, आफैँलाई थाहा छैन,‘ दीक्षाले सुनाइन्। त्रिशारा आफ्नो सांगीतिक करिअरको पहिलो ‘टर्निङ पोइन्ट’ हो भन्न उनी हिचकिचाउँदिनन्।
त्यसो त दीक्षा गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा समेत सहभागी भएकी थिइन्। तर प्रतिस्पर्धामा उनी खुसी बनेरै आउट भइन्। जित नै अन्तिम गन्तव्य नरहेको उनको तर्क छ। त्यतिबेलाको क्षणलाई सम्झँदै उनी भन्छिन्, ‘भ्वाइस अफ नेपालमा मैले जित्नैपर्छ भनेर गएको होइन। मलाई जित्नैपर्ने लोभ कहिल्यै आएन–भएन। म आफ्नो स्वरको क्षेत्राधिकार फराकिलो बनाउन मात्र गएकी हुँ।’
उक्त रियालिटी शोमा दीक्षाले एउटा गीत गाएकी थिइन्, विपुल क्षेत्रीको ‘जुनकिरी’। त्यो गायनले दीक्षालाई विजेता हुँदाको सम्भावित खुशीभन्दा दोब्बर खुशी दिलायो। त्यो गीतले दीक्षाको लोभलाग्दो क्रेज बनायो। उनलाई सुन्ने स्रोता र दर्शकहरु ह्वात्तै बढे।
दीक्षाले त्यसअघि गाएका केही कभर गीतहरु पनि चर्चित बनिसकेका थिए। ‘हाँसु कसरी’, ‘के यो माया हो’ लगायतका कभर गीतहरुले दीक्षालाई ठूलो राहत दिइसकेको थियो। तर उनी नोटिसमा परेकी थिइनन्। भ्वाइस अफ नेपालको सहभागिताले भने उनको क्रेज लोभलाग्दो तरिकाले बढ्यो। पहिलेभन्दा धेरै अफर आउन थाले, लाइभ कन्सर्टको लागि। दीक्षाले सुनाइन्, ‘मेरो कभर गीतहरु त पहिल्यै आइसकेका थिए। तर भ्वाइस अफ नेपालले मेरो स्वर धेरै स्रोता तथा दर्शकहरुसम्म पुर्याउन सहयोग गर्यो।’ अचेल साथीहरु दीक्षालाई ‘स्वरको जादूगर’ भनेर सम्बोधन गर्छन्।
दीक्षाको जन्मथलो धरान हो। तर उनी सानै छँदा बा–आमासँग काठमाडौँ आइन्। उनको बालापन र किशोरावस्था काठमाडौँमै बित्यो। उनी यतै हुर्किन्, यतै पढिन्। यतैबाट सांगीतिक यात्राको सुरु गरिन्। अहिले उनी गायनसँगै एउटा मोन्टेश्वरी स्कुलको प्रमुख भएर जिम्मेवारी सम्हालिरहेकी छन्। अब केही महिनामै नयाँ एल्बम निकाल्ने तयारीमा पनि छिन्, दीक्षा।
उनले जानकारी दिइन्, ‘मन्टेश्वरी स्कुलको जिम्मेवारीले अचेल अलि व्यस्त छु। तर केही महिनाभित्रै एउटा एल्बम निकालुँ कि भनेर योजना बुन्दै छु।’ प्रकृतिसँग अगाध प्रेममा रहेकी दीक्षा जति सुन्दर गाउँछिन्, त्यत्तिकै सुन्दर पनि छिन्। ‘तपाईंको घाँटीमा ईश्वरले नै आफ्नो कण्ठ राखेको हुनुपर्छ है? दीक्षा हाँसिन्, ‘खै, मलाई आफ्नो स्वर त्यति राम्रो त लाग्दैन। तर पनि स्रोता–दर्शकले मेरो स्वर मन पराइदिनु भएको छ, यसमा खुशी छु।’ स्वरको जादू चलाउने दीक्षाको अनुहार पनि त सुन्दर छ।
त्यसो त दीक्षा गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा समेत सहभागी भएकी थिइन्। तर प्रतिस्पर्धामा उनी खुसी बनेरै आउट भइन्।
दीक्षाले दुई वर्षअघि आफैंले एउटा गीत निकालिन्, ‘तिम्रो मेरो’। शब्द र स्वर उनकै थियो। भिडियोमा मुख्य पात्र पनि उनै। दीक्षाले अरुलाई खुशी पार्न कहिल्यै गाइनन्। उनले जति गाइन्, आत्मसन्तुष्टिको लागि गाइन्। उनलाई पैसा र प्रसिद्धिसँग खासै ‘अट्याचमेन्ट’ छैन रे। आफूले सधैँ सन्तुष्टि र खुशीको लागि गाएको दीक्षाको तर्क छ। भन्छिन्, ‘गीत भन्ने कुरा कसैले कसैलाई दबाब दिएर गाउने कुरा होइन। यो त विशुद्ध कलाको कुरा हो। मैले आफ्नै हृदयको आवाज सुनेर गाउँछु।’ दीक्षालाई नेपालमा सबैभन्दा मन पर्ने गायिका अभया सुब्बा हुन्। अभयाबाट आफूलाई सधैं प्रेरणा मिल्ने र धेरै कुरा सिकेको उनले सुनाइन्।
संसारमा सबैभन्दा सुन्दर भाषा के होला? कुनै पुस्तक? कविता? कुनै सिनेमा? ड्रामा? कुनै पेन्टिङ? वा अरु नै केही। दीक्षाको हकमा भने सबैभन्दा सुन्दर भाषा भनेको ‘गीत’ हो। गीतलाई मनोरञ्जनको रुपमा मात्र लिनेहरुलाई दीक्षाको जवाफ छ, ‘गीत भनेको रमाइलोका लागि मात्र होइन, भावनाहरुको अभिव्यक्ति स्वतन्त्रता पनि हो।’ गीतको एक पंक्तिले मानिसको जीवनमा ठूलो अर्थ राख्ने उनी बताउँछिन्। ‘फ्युजन क्राफ्ट’का गीतहरु रुचाउने दीक्षालाई अंग्रेजी गीतहरु गाउन पनि निकै चासो छ।
जे गाए पनि, जस्तो गाए पनि संगीतबाट अछूत रहने कल्पनासमेत गर्दिनन्, दीक्षा। गीतले आफ्नो जीवनको लय नै कलात्मक बनाएको उनको अनुभूति छ। ‘गीतमा जीवन आवश्यक कि जीवनमा गीत?’ उनको जवाफ छ– हरेका मानिसको जीवनमा गीतले एउटा ठाउँ बनाएको हुन्छ। फरक यत्ति हो कि कसैले बाहिर देखिएर गाउँछन्, कसैले हृदयदेखि चुपचाप गाएर बस्छन्।’