काठमाडौं– नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले केपी ओलीको उखानटुक्काले चितवनको गठबन्धनलाई हराउन नसक्ने बताएका छन्। पाँचदलीय गठबन्धन चितवनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ३० गतेको निर्वाचनमा केपी ओलीको उखान टुक्काले गठबन्धनलाई हराउने तागत नराख्ने बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको केन्द्रीय निर्णयलाई शिरोपर गरेर २९ वटै वडामा गठबन्धन गरेको भन्दै कांग्रेसका नेताकार्यकर्ताले गठबन्धनलाई जिताउने संकल्प गर्ने दाबी गरे।
उनले भने, ‘भरतपुर महानगरको मेयरमा रेणु दाहाल लगाएत गठबन्धनलाई जिताउने प्रतिवद्धता गर्छौं तर यो भन्दै गर्दा पुष्पकमल दाहाललाई आग्रह गर्न चाहन्छु हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यहि गर्नुहुन्छ। भोलिको दिनमा हिजोको जस्तो ढाँट्ने काम, धोका दिने काम नहोस्। जुन प्रतिवद्धता ५ वर्ष अगाडि यहीँ आएर गरेका थियौं, तीन महिनापछि टुट्यो त्यस्तो धोका अब नहोस्।’
कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई इंगित गर्दै श्रेष्ठले पार्टीको निर्णय नमानेकोप्रति आपत्ति जनाए। उनले भने, ‘जगन्नाथ पौडेललाई निवर्तमान सभापतिको हैसियतले आग्रह गर्न चाहन्छु, गुनासाहरु हाम्रा पनि थिए, कहिँकतै हाम्रा पनि कमजोरी थिए होलान्, तर यो पार्टी हो, पार्टीको निर्णय नहुन्जेल हामी पनि लडेका थियौं तर पार्टीको सेनापतिले निर्देशन गरेपछि सेनाले मान्नेछ।’