काठमाडौं- सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले २२ वर्षपछि एक दिवसीय मान्यता प्राप्त गरेको थियो। आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ बाट यात्रा थालेको नेपालले यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताका लागि प्रयास गरेको थियो।
तर, न्युजिल्यान्डमा भएको उक्त प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नवौं स्थानमा सीमित भयो र नेपाल फेरि एक पटक डिभिजन-३ मा घटुवा भयो। त्यसबेला हङकङ, युएई, स्कटल्यान्ड र पपुआ न्युगिनीले एक दिवसीय राष्ट्रको मान्यता पाएका थिए। सन् २०१४ मै भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा च्याम्पियन बन्यो।
सोही क्रममा मार्च २०१८ मा जिम्बाबेमा भएको 'प्ले अफ' खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एक दिवसीय मान्यता पक्का भएको थियो। विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको थियो। समूह चरणबाट बाहिरिए पनि नेपालले 'प्ले अफ' खेलमा उत्कृष्ट जित निकाल्दै पहिलो पटक एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो। नेदल्यान्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेताका रूपमा एक दिवसीय राष्ट्रको मान्यता पायो।
नेपालले पाएको एक दिवसीय मान्यतासँगै नेपाललाई पहिलो श्रेणीको क्रिकेटमा ढोका खोलेको थियो, जसमा एक दिवसीय मान्यतासँगै नेपालले चार दिवसीय क्रिकेट खेल्न पनि पाउने छ। यसलाई टेस्ट मान्यताको खुड्किलोका रूपमा हेरिन्छ।
नेपालले करिब पाँच महिनामा नेदरल्यान्ड्ससँग एक दिवसीय सिरिज खेल्ने मौका पायो। यसका लागि केही अघिबाट नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै छनोट गरिएको थियो। बन्द प्रशिक्षणबाट १५ खेलाडीको छनोट भएको थियो, जसमा केही वर्ष चोटमा कारण मैदान बाहिर रहेका सुवास खकुरेलले राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।
यस्तै, लामो समय नेपाली क्रिकेटलाई यो अवस्थासम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका स्पिनर बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरे। उनले नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय क्रिकेट खेलेपछि नेपालमा हुने एक दिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै संन्यास लिने घोषणा गरेका थिए।
ऐतिहासिक एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय टोली ३ साउनमा बेलायत प्रस्थान गरेको थियो। जहाँ नेपालले केही मैत्रिपुर्ण खेल खेलेको थियो। यस्तै, २९ जुलाईमा लन्डनको लर्डस्मा त्रिकोणात्मक ट्वान्टी-ट्वान्टी खेलेको थियो। त्यसपछि नेपाल एक दिवसीयका लागि नेदरल्यान्ड्स पुगेको थियो। नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय क्रिकेट १ अगस्टमा उसैको मैदानमा भयो।
निकै आशाका साथ मैदानमा उत्रेको नेपाल आफ्नो पहिलो एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित हुन पुग्यो। नेदरल्यान्ड्सले दिएको एक सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३४ रन मात्र बनाउन सक्यो। बलिङमा मध्यमखाले प्रदर्शन गरेको नेपालको ब्याटिङ पुनः उही प्रवृत्तिको देखिन पुग्यो।
क्रिजमा कप्तान पारस खड्का चल्न नसक्दा अन्य ब्याट्सम्यान पनि नचल्ने उही कुरा दोहोरियो। पारस १२ रनमा आउट हुँदा नेपालले त्यसपछि एकपछि अर्को गर्दै ज्ञानेन्द्र मल्ल, आरिफ सेख, सोमपाल कामी र वसन्त रेग्मीलाई गुमाउन पुग्यो। धरमराएको नेपाली ब्याटिङलाई सम्हाल्न खोजेका दीपेन्द्रसिंह ऐरी पनि ३४ ओभरमा आउट हुन पुगे।
त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। फिल्डिङमा लागेको चोटका कारण पहिलो रोजाइका ब्याट्सम्यान शरद भेषवाकर पनि अन्तिम विकेटका रूपमा क्रिजमा आउँदा चार रनमा आउट भए। झिनो आशा बोकेको नेपाल पहिलो खेलमा बेहोरेको हारले निराशा छायो।
त्यसपछि दोस्रो एक दिवसीय क्रिकेटका लागि नेपालले ३ जुलाईमा खेल्यो। जहाँ नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। यस खेलमा केही खेलाडीमा समेत परिवर्तन गरिएको थियो। भेषवाकरको स्थानमा सुवास खकुलेर आएका थिए भने शक्ति गौचनको स्थानमा रोहितकुमार पौडेल आएका थिए। रोहित दोस्रो एक दिवसीयको प्लेइङ ११ मा परेसँगै उनी एक दिवसीय क्रिकेट खेल्ने विश्वकै कान्छा चौथो खेलाडी बने।
रोहितअघि नेपालबाट कम उमेरमा एक दिवसीयमा डेब्यू गर्ने लेग स्पिनर सन्दीप लामिछाने थिए। नेपालले बुधबार पहिलो ओडीआई खेल्दा सन्दीपको उमेर १७ वर्ष तीन सय ६४ दिन थियो। रोहित भने शुक्रबार १५ वर्ष तीन सय ३५ दिनका भए।
सबैभन्दा कान्छा क्रमशः पाकिस्तानका हसन राजाले १४ वर्ष दुई सय ३३ दिन, केन्याका गुरदीप सिंहले १५ वर्ष दुई सय ५८ दिन, क्यानडाका नितिश कुमारले १५ वर्ष दुई सय ७३ दिन र नेपालका रोहितकुमार पौडेलले शुक्रबार १५ वर्ष तीन सय ३५ दिनको उमेरमा डेब्यू गर्दै विश्वको एक दिवसीय खेल्ने चौथो कान्छा खेलाडी बने।
नेपालले ब्याटिङ गर्दै गर्दा दोस्रो खेलमा पनि नेपालको अवस्था उस्तै देखियो। पहिलो विकेटको रूपमा नेपालले मल्ललाई गुमायो। ७.३ ओभरमा मल्ल आउट हुँदा नेपालको रन २९ मात्र थियो। पहिलो खेलमा अर्धशतकीय पारी खेलेका उनले दोस्रो खेलमा १३ रन मात्र जोड्न सके।
त्यसलगत्तै ८ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई गुमायो। यस्तै, ११.१ ओभरमा तेस्रो विकेटको रूपमा खकुरेल गुमाउँदा नेपालले ४७ रन मात्र जोडेको थियो। त्यसपछि आएका ऐरीले कप्तान खड्कालाई साथ दिइरहेका थिए। उनी १७ बलमा तीन चौका प्रहार गर्दै १९ रन जोड्दा नेपालले चौथो विकेटको रूपमा ऐरीलाई गुमायो। उनी रन आउट भएका थिए। चौथो विकेट गुमाउँदा नेपालको ७२ रन थियो।
त्यसको केही समयमा पुनः नेपालले विश्वका चौथो कान्छा खेलाडी रोहितलाई गुमायो। सोही क्रममा ५१ रन जोड्दै कप्तान खड्का पनि आउट भए। उनी आउट हुँदा नेपालको रन एक सय ३५ थियो। त्यसपछि झनै नेपाली ब्याटिङ धरमरायो।
आठौं ब्याट्सम्यानको रूपमा क्रिजमा आएका तीव्र गतिका बलर सोमपाल कामीले धरमराएको नेपाली ब्याटिङलाई सम्हाले। नेपाललाई संकट परेका बेला सधैं एक खम्बा बनेर उभिने सोमपालले नेपालका लागि सर्वाधिक ६१ रन जोड्दै धरापमा परेको नेपाली ब्याटिङ उकासेका थिए। अन्य ब्याट्सम्यानले सान्त्वना रन जोड्दै नेपालले नेदरल्यान्ड्स सामु दुई सय १६ रन जोड्यो।
दुई सय १७ रनको विजय लक्ष्य लिएर मैदानमा आएको नेदरल्यान्ड्सले पहिलो ओभरको दोस्रो बलमै पहिलो विकेट गुमायो। पहिलो विकेट नेपालका तीव्र गतिका बलर सोमपालले बोल्ड गर्दै ओपनर ब्याट्सम्यान स्टेफन माइबर्गलाई आउट गरेका थिए। पहिलो ओभरको दोस्रो बलमै विकेट लिनु नेपालका लागि खुशीको विषय थियो। ७.२ ओभरमा पुनः नेदरल्यान्ड्सले दोस्रो विकेट गुमायो। त्यतिबेला नेदरल्यान्ड्सले ३० रन जोडेको थियो।
दोस्रो विकेटको रूपमा ललित भण्डारीले विकेट लिँदा झनै नेपालको आशा उच्च भएको थियो। तर, तेस्रो विकेटका लागि नेपालले धेरै कुर्नुपर्यो। ३९ रन जोडेका डानिएल ब्राकलाई सन्दिपले आउट गर्नु नै खेलमा केही परिवर्तन आउनु थियो। एउटै ओभरमा दुई विकेट लिँदै सन्दिपले खेलको स्वरूप नै बदलिदिएका थिए।
त्यसपछि नेपालले लगातार विकेट लिन थाल्यो। नेदरल्यान्ड्सका लागि सर्वाधिक स्कोरकर्ता वेस्ले बासीलाई आउट गर्न नेपाललाई धौ-धौ पर्यो। उनलाई समयमै आउट गर्न नसक्दा नेपालले अन्तिम बलसम्म जितका लागि संघर्ष गर्नुपर्यो। उनलाई ऐरीले एलबीडब्लु आउट गरे। यो नै नेपालको खेलमा ठूलो सफलता थियो।
यससँगै नेपालको अन्तिम ओभर नेदरल्यान्ड्सलाई ६ रन चाहिएको थियो। ६ बलमा ६ रन दुवै टोलीलाई जितका लागि उत्तिकै सकस थियो। किनकि, नेदरल्यान्ड्ससँग अन्तिम विकेट थियो भने नेपाललाई विकेट लिनुको विकल्प थिएन। बलिङ गर्न कप्तान खड्का आए। खड्काको पहिलो बलमा नेदरल्यान्ड्सले एक रन लियो। दोस्रो बल डट गर्दा तेस्रो बलमा पुनः एक रन लियो। नेदरल्यान्ड्सलाई अब जितका लागि तीन बलमा ४ रन चाहिएको थियो। चौथो बलमा दुई रन लिन पुग्यो।
नेपाल र नेपाली समर्थकले जितको आशा मारे। तर, बलिङ गरिरहेका कप्ता खड्का र मैदानमा तैनाथ रहेका नेपाली खेलाडीले भने हार मानेका थिएनन्। अब दुई बल दुई रन। पाँचौं बल पुनः डट गरे। अन्तिम बलमा नेदरल्यान्ड्सलाई एक बलमा जितका लागि दुई रन र ड्र गर्न एक रनको आवश्यकता थियो। खड्काले अन्तिम बल फाले, नेदरल्यान्ड्सका खेलाडी एक रन लिन खोज्दै थिए तर बल खड्काको हातमा हुन पुग्यो र उनले रन आउट गरे।
जितका लागि दुई रन र ड्र गर्न एक रनको स्थितिमा हुँदा रन जोड्न नसक्दा नेदरल्यान्ड्सले १ रनले खेल गुमाउनुपर्यो। नेदरल्यान्ड्सको १ रनको पराजयसँगै २२ वर्ष पछि पुनः नेपालको ऐतिहासिक जित सम्भव भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४