करिब ४० मिनेटको यात्रा थियो। बाटो छेउमा लहरै रुख रोपिएका थिए। रुखहरु दुई लाइनमा उभिएका खम्बा जस्ता देखिन्थे।
तीखो छाना भएका एकैनासका घर देखिन थाले। पातलो बस्तीमा कुनै नयाँ घर, कुनै पुराना थिए। गाउँमा पो आइयो कि भने जस्तो लागे पनि होइन रहेछ।
अघि बढ्दै जाँदा घरको संख्या बढ्दै गयो। तला पनि थपिँदै गएको छायाँझै देखिँदै थिए। बाटो व्यवस्थित र ठूलो हुँदै गयो। उज्यालो हुने सुरसारै थिएन। पाँच बज्नै लाग्दा पनि किन अध्याँरो ? म त्यसैमा चिन्तित थिएँ।
प्रहरीको गाडीले हामीलाई ‘स्कटिङ’ गरिरहेको थियो। बाक्लो वस्तीको एक ठाउँमा पुगेर बस रोकियो। हामी ओर्लिर्यौं। सडक बत्तिले झिलिमिली उज्यालो थियो त्यहाँ, मैले फोटो र भिडियो खिचेँ।
बस गार्डेन होटेल अगाडि रोकिएको रहेछ। गार्डेन त देखिनँ तर सल्ला र धुपीका रुखले हामीलाई स्वागत गरे। दशर्नाभिलाषीका लागि कोही नआएकाले मिलन दाइले रिसेप्सनमा गएर कुरा गर्नुभयो।
रिसेप्सनमा बसेका मानिसलाई हाम्रो आगमन बारे सूचना रहेछ। उनले सबैको पासपोर्ट मागे। वाइफाइको पासवर्ड हालेर इन्टरनेटमा कनेक्ट भइयो। नेपाली फुटसल टिम विस्केके पुगेको जानकारी मैले नेपाल पठाएँ।
हाम्रो कोठा बि ब्लकको २०२ मा परेछ। अबको काम सुत्नु थियो।
सुत्नु अघि दुई कुरा थाहा भयो; ब्रेकफास्ट सात बजेदेखि १० बजेसम्म हुन्छ, र ९ बजे कोरोना परीक्षणका लागि पीसीआर गर्नुपर्छ।
सुत्न पाएइला जस्तो लागेन। मुकुन्द कोठामा पुग्नेबित्तिकै निदाइहाले। उनी निदाएपछि मैले सुत्न नमिल्ने भयो। नत्र पीसीआर र ब्रेकफास्टका लागि उठ्न सकिने अवस्था थिएन।
म काममा लागेँ। केही समाचार बनाएर प्रेषित गरेँ।
साढे आठ बजे होटेलको लबीमा भेला भयौँँ। हामीलाई किर्गिस्तानमा सहजीकरण गर्न त्यहाँको फुटबल संघबाट अजिज आएका रहेछन्।
किर्गिज फुटबल युनियका कम्पिटिसन डिपार्टमेन्टका अजिजको अंग्रेजीमा राम्रो दख्खल रहेछ। उनी दुबईमा हुँदा नेपालीसँग संगत पनि गरेका रहेछन्। उनी नेपालीको आनिबानी बारे राम्रै जानकार रहेछन्। केही समयको गफमा मैले यत्ति चाहिँ थाहा पाएँ।
‘तपाईं मिडिया अफिसर हो ?’ उनले सोधे।
‘हजुर,’ म हाँसे। उनी पनि मुस्काएँ।
केही समयमा नर्स आएपछि सबैको पीसीआर लिने, दिने काम सकियो। मैले पीसीआरबारेको फोटोसहित जानकारी नेपाल पठाएँ।
साढे १० बजिसकेछ। ब्रेकफास्टको समय सकियो। हामी छिर्दा छिटपुट खानेकुरा मात्र थिए। मैले ब्रेड, टमाटर, साग, चीज प्रयोग गरेर स्यान्डविच बनाएँ। अनि, अनारको जुस र केही ड्राइ फ्रुट्स लिएँ।
गौरव दाइले ४ बजे अभ्यास गर्ने भन्नुभएको थियो। रातभरी सुतेको छैन। बिहान पनि सुत्न पाइएन। कसरी उठ्ने होला भन्ने चिन्ताले घेर्यो। कोठामा गएर सामान मिलाउँदा वर्दा साढे १२ बजिसकेको थियो।
अनि एकैछिन भए पनि सुत्नु प¥यो भन्ने लाग्यो। मुकुन्द बिहान सुतेकाले उसले उठाउलान् भन्ने लागेर सुतेँ। तर दुवै भाइ नै भुसुभुसु भइएछ। ब्युझँदा ५ बज्नै लागेको थियो। अभ्यासमा जान पाइएन। तर त्यहाँ हाम्रो काम त थिएन। फोटो पठाउनु पर्ने थियो। मिलन दाइले खिचेका फोटो नेपाल पठाइयो।
मलाई अब एउटा यहिँको सिम र क्यामेराको लागि मेमोरी कार्ड चाहिएको थियो। ब्रेकफास्टपछि हामी छेवैको सुपरमार्केटमा गएका थियौं। त्यहाँ पैसा साट्ने व्यवस्था भए पनि सिम पाइएन। त्यसमाथि भाषाको समस्याले हैरान।
त्यहाँको बोलिचालीको भाषा रसियन थियो। हामीले बोलेको उनीहरुले नबुझ्ने। उनीहरुले बोलेको हामीले। किनमेलमा समस्यै समस्या। गुगल ट्रान्सलेसनले केही हदसम्म सहयोग गरे पनि धेरै समय धेरै लाग्ने।
यता मैलै लिएको डलरमा एउटा धर्सा देखिएको भन्दै सटही गर्न बसेका मानिसले मेरो पैसा चाहिँ साट्न मानेनन्। उनले चलेका भाउभन्दा छ सय ‘सोम’ थोरै दिन्छु भने। तर मैले मानिनँ।
मलाई पैसा साट्ने विश्वासिलो ठाउँ आवश्यक परेको थियो। होटेलको रिसेप्सनकी महिलालाई भनेँ, ‘मलाई डलर साट्नु छ र सिम कार्ड लिनुछ।’
‘दियर इज ए सुपर मार्केट, भेफा सेन्टर। यु क्यान भिजिट दियर,’ उनले भनिन्।
‘बट आइ डन्ट नो ह्वेर टू गो,’ मैले भने।
उनले म्याप निकालिन अनि देखाउँदै भनिन्, ‘टेक राइट फ्रम सेकेन्ड ट्राफिक लाइट।’ अनि थपिन्, ‘यू विल सी भेफा सेन्टर इन लेफ्ट, आफ्टर फाइभ मिनेट अफ वक फ्रम द्याट ट्राफिक लाईट।’
मैले लगभग बुझेझैँ गरेर सोधेँ, ‘क्यान आई क्लिक द म्याप फोटो।’
‘यस।’
हिँडेर १० मिनेटमै पुगिन्छ।
मैले विस्केको म्याप हेरेँ हामी सहरको दक्षिणी भेगमा रहेछौं। म्यापमा भेफा सेन्टर सेट गरेँ अनि निस्किएँ। म त्यहाँ कसैसँग बोल्नै सकिनँ। भाषाको समस्या होला भन्ने भयले न पैसा साटेँ न सीम, न मेमोरी कार्ड नै किनेँ। सुपरमार्केट हेरेर त्यत्तिकै फर्किएँ।
भोलिपल्ट बिहान नेपाली टिमले मैत्रीपूर्ण खेल्ने योजना थियो। नेपालको खेलको जाँच त हुने नै थियो। मैले क्यामेरा चलाउने सक्ने हो वा होइन भन्ने कुराको पनि जाँच हुनेवाला थियो।
बिहान ब्रेकफास्ट लिँदै थियौँ। करिब आठ बजेको हुँदो हो। प्रकाश पंगेनी दाइ आएर ब्रेकफास्ट लिन लागे। खाना चाहिँ सकिएको रहेछ।
‘खै यिनीहरुले भातै खान नदिने भए,’ उनले भने, ‘भात नभएपछि के खानु खै।’ ती दाइ के–के थोक लिएर खान बसे अनि एक कर्मचारीलाई भने, ‘राइस, राइस। ह्वेर इज राइस ? ब्रिङ मोर राइस।’
दाइको ठूलो स्वर सुनेर रेस्टुरेन्टमा भएका सबैजान हाँसे।
होटेलका वेटरले अचम्म मान्दै भने, ‘फिनिस्ट।’
उनले त्यसो भन्नुअघि भात राखिएको भाँडामा हेरेका थिए। खासमा होटेलले अरु खानाजति नै भातलाई स्थान दिने रहेछन्। कार्बोहाइड्रेटका लागि भातभन्दा धेरै ‘ब्रेड’लाई मान्यता दिइएको थियो। २३ जनाका लागि राखिदिएको खाना ७, ८ जनाले खाँदै सकिएको हुन्थ्यो।
म चाहिँ सुरुमै गएको थिएँ र पाएँ।
अब खेलमा जाँदै थियौँ। विस्केको पहिलो पटक दिनको यात्रा थियो त्यो। बसमा। नेपालले दर्दोइसँग खेल्ने तय भएको थियो। प्रतिस्पर्धी टिमबारे हिजो अजिज र मैले १० मिनेट कुरा गरेका थियौँ।
उनले किर्गिस्थानको फुटसलको अवस्थाबारे बताएका थिए। हामीले खेल्न लागेको दर्दोइ टिम किर्गिस्थानकै धनाढ्य व्यक्तिको थियो। उनको बारेमा पनि अजिजले मलाई धेरै बताए।
‘उनी पोलिटिक्समा छैनन्। होटेल, मल, क्लबलगायत धेरै व्यवसाय छ उनको,’ दर्दोइको मालिकबारे अजिजले भनेका थिए, ‘त्यसैले गर्दा उनलाई किर्गिस्तानका धेरै मानिसले मन पाउँछन्। किनभने उनी राजनीति गर्दैनन्।’
अजिजले दर्दोइको मालिकको नाम पनि भनेका थिए। तर मैले बिर्सिहालेँ। गुगलमा खोजेँ, भेटिनँ। त्यो क्लबले राम्रो तलब दिने हुँदा धेरै खेलाडी जान इच्छुक रहेछन्। दर्दोइको फुटबल क्लब पनि रहेछ। त्यसको फुटबल क्लबसँग चाहिँ धेरै पहिलो नेपाल पुलिस क्लबले एएफसी प्रेसिडेन्ट कपको फाइनलमा हार बेहोरेको रहेछ।
दर्दोइसँगको खेलमा मैले जति भाका पु¥याएर फोटो खिच्न खोजे पनि फोकस आउट मात्रै भयो। मैदानमा अटोमा राखेर खिच्दा फ्ल्यास आउने भएकाले त्यसो गर्न नपाइने गौरवले दाइले भन्नुभएको थियो। म्यानुएलमा चाहिँ फोकस मिलाउनै झन्झट।
धेरै फोटो खिचेपछि बल्ल–बल्ल केही फोटा पठाउन मिल्ने निस्किए। होटेलमा फर्किएपछि तीनलाई नेपाल पठाएँ।
खेलपछि गौरव दाइले क्यामेराबारे थप जानकारी दिनुभयो। मैले खिचेका फोटो हेरेर त्यसलाई कसरी राम्रो बनाउन सकिएला भन्ने सुझाव गौरव दाइले दिनुभयो। त्यसैले मलाई फोटो खिच्न हौसला मिलेको थियो।
‘मैले लकडाउनमा फुटसलबारे अध्ययन गरेको थिएँ,’ दाइले गफैगफमा भन्नुभयो, ‘त्यो बेलामा त म रातभरी फुटसलसम्बन्धी भिडियो हेरेर समय विताउँथेँ।’
दाइले त्यसका लागि एनिमेसन भिडियो बनाउन निकै महँगो सफ्टवेयर अमेरिकाबाट मगाएको बताउँदै हुनुहुन्थ्यो। उहाँको कोचिङबारे मुकुन्द र मैले धेरै बेर गफ सुन्यौँ। किनभने गौरव दाई नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल्दादेखि नै टिममा हुनुहुन्थ्यो।
केहीबेर गफिएपछि खाजा खान रेस्टुरेन्टतिर लाग्यौं। त्यहाँ खानाको शैली गज्जबको थियो। भलै नेपाली जिब्रोलाई बानी पर्न निकै समय लागोस्। टमाटर, लिफ लेटिसलगातयका ग्रिन भेजिटेबल नपाकाइनै राखिएका थिए। ग्रिन भेजिटेबलको सुपमा भेजिटेबल पाकेकै हुन्थेन। गाह्रो पर्यो हामीलाई। भेजलाई त झन् कुरै नगरौँ। नचिनेको जातको खाना कुन भेज कुन ननभेज, छुट्याउनै गाह्रो।
खाने बेला केही सोध्नुपर्यो भने अर्को समस्या। हामी रसियन नबुझ्ने, उनीहरुलाई अंग्रेजीमा समस्या। रिसेप्सनमा बसेकालाई रेस्टुरेन्टमा ल्याएर सोध्न नमिल्ने ! साह्रै सतायो सञ्चार समस्याले।
हाम्रा दाजुभाइ चिकेन र मटनमा धेरै बल गर्ने। तर किर्गिस्थानमा ल्याम र बिफ सुलभ रुपमा पाइने रहेछ। तेस्रो दिन र नेपाली टिमका फिजियो आदर्श दाइ होटेको खानाको व्यवस्थापन देखेर झोँक्किनुभएको थियो।
‘नेपाली शीरिरलाई फिट हुने खानेकुरा बनाउ’ भनेर दुई तीनपटक अनुरोध गरिसक्दा पनि बनाउन नसकेपछि त्यहाँको फुटबल युनियनकै सहारा लिनुपरेको थियो।
बल्ल आर्दशले होटेलका कर्मचारीलाई कुरा बुझाउन सकेपछि खाना नेपाली जिब्रोको बन्दै गयो। त्यो पछिको कुरा हो।
तर होटेलले फरक तरिकाले आफूले दिने क्वालिटी भने मेन्टेन गर्यो। धेरै भात दिनु परेपछि उसले तीन प्रकारको भात पकाउन थाल्यो।
अर्को दिन नेपालले अर्को टिमसँग अर्को अभ्यास खेल्यो। त्यो दिन मैले तुलनात्मक रुपमा राम्रा फोटा खिचेँ भन्ने लाग्छ। खेलिसकेपछि हामीले समाचार नेपाल पठाइदियौँ। आहो ! मैले त आफ्नो अफिसका लागि पनि काम गर्नुपर्ने थियो।
त्यसैले एकजान खेलाडीको प्रोफाइल स्टोरी लेख्ने सोचेँ। टिममा राम्रो खेलाडी थिए विजय श्रेष्ठ। लिगमा पनि उनले बेस्ट फिक्सोको अवार्ड जितेका थिए। उनीबारे धेरैको चासो हुनसक्ला भन्ने सल्लाह गौरव दाइले दिएपछि विस्केक बसाइको एक दिन त्यसमै बिताए।
रसियन भाषा नबुझेर हैरान
विस्केक पुगेको तीन दिन भइसकेको थियो। तर कतै निस्कन पाएको होइन। त्यहाँ कुनै राम्रो ठाउँ घुम्न जाने योजना बनायौं। धेरै ठाउँ थिए घुम्न लायकको। मलाई भने मानसको अग्लो मूर्ति भएको ठाउँ जाने मन भयो।
के हो कसो हो थाहा पत्तो थिएन।
होटेलको रिसेप्सनमा बसेका एकजनालाई सोधेँ, ‘कहाँ हो त्यो ?’
‘धेरै टाढा छैन। तपाईं ट्याक्सी लिएर सजिलै जान सक्नुहुन्छ,’ उनले अंग्रेजीमा भनेको कुरालाई मैले यसरी बुझेँ। दुई दिनअघि अजिजले पनि मलाई यसै भनेका थिए। त्यति बेला मैले ट्याक्सी अर्डर गर्न लागि यान्डेक्स ट्याक्सी भन्ने मोवाइल एप डाउनलोड गरेको थिएँ। तर त्यसलाई चलाएको थिइनँ। आज चाहिँ ओपन गरेँ।
यान्डेक्सलाई काम गर्न सिम कार्ड (फोन नम्बर) चाहिने रहेछ, तर मसँग थिएन। अनि मैले भेफा सेन्टर गएर सीमकार्ड लिएँ। कार्ड लिन भाषाको समस्या थियो नै। तर बीचमा एकजना अंग्रेजी जानेका मानिस भेटिए। उनले गर्दा केही सहज भयो।
उनलाई ट्याक्सी अर्डर गरिदिन अनुरोध गरेँ। उनले गरिदिए र भनेँ, ‘त्यहाँ बाहिर निस्किएर ट्याक्सी नम्बर खोज्नु भेटिन्छ।’ उनलाई मैले धन्यवाद भनेँ।
मुकुन्द र मैले धेरैबेर ट्याक्सि खोज्यौँ। अहँ भेटिएन। ड्राइभरको फोन पो आयो। लौ परेन फसाद ?
फोन उठाएर के भन्ने ?
मैले उठाएर भेफा सेन्टर, गेट भनेँ। उनले खै के भनेँ मैले बुझिन। मैले भनेको उनले बुझेनन्। मैले धेरै पटक भेफा सेन्टर भनेँ। उनले बोलेको वाक्यमा भेफा सेन्टर मात्र बुझेँ। अरु बुझिनँ।
अर्थात् उनले भनेको मैले केहि पनि बुझिनँ। दुई पटक फोनमा यस्तै भएपछि न हामीले ट्याक्सी भेट्यौं, न ड्राइभरले हामीलाई भेटे। उनले क्यान्सिल गरिदिए। यतिबेला हामी ट्याक्सी खोज्दै धेरैपटक यताउता डुलिसकेका थियौं। तर त्यो नम्बर फेला परेको थिएन।
मैले फेरि स्टेट हिस्ट्री म्युजियम सर्च गरेँ। अनि अर्को ट्याक्सी अर्डर गरेँ। अर्को पटक पनि त्यस्तै भयो। एकजनालाई गुगलमा त्यसरी नै भाषा ट्रान्सलेसन गराएर ट्याक्सी बोलाइदिन अनुरोध गरेँ। तर, त्यो ट्याक्सीले पनि प्लान क्यान्सिल गरिदियो।
हामी विकल्पहीन भएर बसिरहेको एकजनाले देखेछन्। आएर सोधे, ‘आई स यु आर मुविङ हियर एन दियर। इज दियर एनी प्रब्लम ?’
मुकुन्द र म थियौं। हामीले सारा वेलिविस्तार लगायौं।
‘ओ, यु कान्ट कम्युनिकेट,’ उनले समस्या बुजेझैं गरेर भने।
‘या वि कान्ट,’ मुकुन्दले भने।
एकजना अंग्रेजी बोल्ने मानिस भेट्दा हामीलाई देउता भेटेझैँ भयो। अब चाहिँ ढुक्कले ट्याक्सी अर्डर गर्यौं। पहिलो ट्याक्सी आइपुग्नै १० मिनेट लाग्ने भयो। क्यान्सिल गरेर अर्को गर्यौं। अंग्रेजी जान्ने देउताले फोनमा बात गरे। उनले ट्याक्सी बोलाइदिए। हामीलाई बस स्टेन्डमा जान भने। बस स्ट्यान्ड त्यहिँ अघि थियो। त्यहीँ ट्याक्सी आउने कुरा बताए। हामी नजिकै रहेको स्ट्यान्डमा पुग्यौं।
पाँच मिनेटसम्म ट्याक्सी आएन, बरु फोन नै पो आयो। हामी हेरेको हेर्यौ भयौं।
ती मानिस पनि हिँँडिसकेका थिए। अब के गर्ने होला त ? आपत् जस्तोको त्यस्तै रह्यो ?
हामीले ट्रायान्सलेटरकै सहयाताले एक जना मानिसलाई कुरा बुझाउन सफल भयौं। उनले निकैबेर कुरा गरेपछि आफ्नो पछि लाग्न भने। मुकुन्द र म उनको पछिपछि लाग्यौं। बाटो कटेर अर्कोपट्टि पुग्यौं।
‘लौ कता हिँडेको होला ? ट्याक्सी पो स्ट्यान्डमा आउनुपर्ने हो नि,’ मैले आफैंलाई भनेँ। तर आफैं बोलाउन सक्ने गरिको भाषा थिएन। पछि लाग्नुको विकल्प थिएन। मोटा अग्ला मानिस अघिअघि, हामी पछिपछि।
केही पर पुगेपछि मैले यान्डेक्समा देखाएको नम्बर देखेँ। ती मानिस यताउता हेरिरहेका थिए। मैले ‘त्यो हो’ भनेपछि उनले ड्राइभरलाई केही कुरा भने। हामी गाडीमा बसेर हिँड्ने भयौं। पुग्ने लोकेसन पहिले नै म्यापमा सेट गरिसकिएको थियो।
विस्केकमा डुल्ने हो भने ट्याक्सी भाडा चाहिँ सस्तो रहेछ। भाषा चाहिँ चाहिँ महँगो। मैले म्युजियम पुगेको १२९ सोम तिरेँ। हामी विस्केकमा पहिलो पटक त्यसरी बाहिर निस्किएका थियौं। मलाई त्यो संग्रहालय(स्टेट हिस्ट्री म्युजियम) धेरै ठूलो लागेको थियो। तर त्यति ठूलो चाहिँ रहेनछ।
टिकट शूल्क ३०० सोम तिरेर भित्र पसेपछि त्यहाँको इतिहासबारे धेरै कुरा देखियो।
नेपालमा प्रयोग हुने खालको काठको हलो थियो त्यहाँ। त्यसमा प्रयोग हुने फाली, काँजो, अनौ सबै राखिएका थिए। ठूला ठूला माटाका भाँडाकुँडा, बञ्चरो थिए। किर्गिस्तिानमा पाइने विशेष किसिमका ढुंगा स्थानीय पेन्टिङ र उर्दू भाषामा लेखिएका पर्चा र किताब त्यहाँ थिए।
चाँदीले बनेका गहना, घरबुना कपडा, किर्गिस्तान स्थापना हुँदा प्रयोग भएका बस्तुहरु संग्रहित रहेछन्।
संग्रहालयको एउटा रमाइलो कुरा फोटो खिच्न पाइने रहेछ। अक्सर संग्रहालायमा तस्बीर लिन पाइँदैन। त्यसैले त्यो स्मरण मैले पनि मोवाइलमा कैद गरे।
फोनमा चार्ज १० प्रतिशतभन्दा तल झरिसकेको थियो। अनि होटेल फर्किनका लागि त्यो नै मुख्य हतियार थियो। मैले धेरै फोटा खिच्नै पाइन। करिब छ बजेसम्म संग्रहालयमा बसेर हामी निस्कियौं।
मानस संग्रहालयको बाहिर त्यसरी नै घोडामा सवार थिए। त्यो विशाल आकृतिलाई पछि छोड्दै हामी अघि बढ्यौं