शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनप्रतिनिधि मान्दैनन् आचारसंहिता, निर्वाचन आयोग भन्छ - समाचार हेरेर कारबाही गर्ने फुर्सद छैन

जनप्रतिनिधि मान्दैनन् आचारसंहिता, निर्वाचन आयोग भन्छ - समाचार हेरेर कारबाही गर्ने फुर्सद छैन

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) मा लेखिएको छ-‘स्थानीय तहका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्‍न हुन नहुने।’
 |  सोमबार, वैशाख १९, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, वैशाख १९, २०७९

बुटवल- निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) मा लेखिएको छ-‘स्थानीय तहका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा  विपक्षमा प्रचार प्रसारमा संलग्‍न हुन नहुने।’ 

triton college

त्यस्तै (ख) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ। तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले भने आइतबार बेलुका पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगले ठूलाले आचारसंहिता उल्लंघन गर्दा केही नगरेको भन्दै आफूले यी दुवै काम नमान्‍ने चुनौती दिए।

निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वारको प्रचारमा खटिएको भन्दै समाचार आएपछि त्यसबारे स्पष्ट पार्दै घिमिरेले एमालेको नेता पनि भएकाले आफ्नै उम्मेद्वार जिताउन लागि परेको बताए । 

उनले निर्वाचन आयोगले राज्यशक्तिको दुरुपयोग गरेर हेलिकोप्टरमा ओहोर दोहोर गरेको उदाहरण दिँदै उनले भने, ‘माननीय मन्त्रीज्यूहरुले जे पनि गर्न हुने, हामीले मात्रै मान्नुपर्ने हुन्छ र?' घिमिरेले गृहमन्त्री बालकृष्ण खाणलाई इंकित गर्दै उम्मेदवार फिर्ता गराउन हेलिकोप्टरमार्फत चितवनमा ओहोर दोहोर गरेको बताएका हुन् ।   

त्यसो त घिमिरे एमालेका तर्फबाट उम्मेदवा बनेका मोहन चापागाईंलाई जिताउन नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक नै बनेका छन्। तिलोत्तमामा एमालेका तर्फबाट मेयर र उपमेयरका उम्मेदवारको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने पत्रकार सम्मेलनसमेत आचारसंहिताको धज्जी उडाउने घिमिरेकै अध्यक्षतामा भएको थियो।

corrent noodles
Metro Mart

घिमिरेले पत्रकार सम्मेलनमा बोल्न सुरु गर्दा नै आचारसंहिता उल्लंघन गरेको समाचारको खण्डन गर्दै ठूलाले उल्लंघन गर्दा निर्वाचन आयोग मौन बसेको आरोप लगाए। 

‘आज पनि एमालेकै ब्यानरमा कार्यक्रम भएको छ, मेयरका हिसाबले आचार संहिता उल्लघन भएको छ भनेर तपाईहरुले भोली समाचार नलेख्नुहोला भन्न सक्दिन’ उनले भने, ‘मैलै टिकट पाएको भए, राजीनामा दिन्थेँ, मैलै पाइन, मैलै मोहन जीलाई जिताउनैपर्छ, प्रचारमा त खटिनै पर्‍यो नी।’ उनले पत्रकारहरुलाई आचार संहिता उल्लघनको नियमन गर्न आग्रह गर्दै भने,‘ठूलाले नमाने पनि हुने म जस्ताले मात्रै मान्नुपर्ने हो, पत्रकारहरुले छिनोफानो गर्दिनुपर्‍यो।’  

उनले देशभरकै पालिकाहरुमा आफूले जस्तै गरि आचारसंहिता उल्लंघन गरेको बताए। ‘म पार्टीको कार्यकर्ता हुँ, अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटिमा छु, यो त मेरो दायित्व हो नी।’ उनले पटक-पटक निर्वाचन आचारसंहिता उल्लंघन गर्न पाउनुपर्ने आशयले कुरा उठाएपछि खुल्ला छलफलमा एक जना पत्रकारले ‘त्यसो भए कसैले भ्रष्टाचार गर्‍यो भने मैलै किन नगर्ने भनेर भन्न मिल्छ, मन्त्रीले पालना गरेनन् भनेर तपाईले गर्दिन भन्‍न मिल्छ र?,’ प्रश्न गरे। प्रतिउत्तरमा मेयर घिमिरेले भ्रष्टाचारसँग आचार संहिता जोड्न नमिल्ने भन्दै सबै पालिकाहरुमा यस्तै भइरहेको बताए । 

‘यस्तो आचारसंहिता विगतदेखि बनेको थियो, निर्वाचन आयोगले जे पनि गर्न हुने, आचारसंहिता उल्लंघन हुँदा जनतालाई कुठराघात हुने केही काम हुँदैन,’ घिमिरेले भने। उनले घुमाउरो पाराले निर्वाचन आयोगले नै निष्पक्ष काम गर्न नसकेको भन्दै आचारसंहिता उल्लंघन हुँदैमा केही नहुने तर्क अगाडि सारेका हुन्। 

एमालेका तर्फबाट यो पटक तिलोत्तमाको मेयरमा मोहन चापागाई र उपमेयर जागेश्वरीदेवी चौधरी उम्मेदवार छन्। चापागाईं नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत भएको र करिब ३ दशक पत्रकारितामै क्रियाशील भएकाले पत्रकार सम्मेलनमा रुपन्देहीका धेरैजासो पत्रकारहरु सहभागी थिए। २०७४ सालमा बहालवाला मेयर वासुदेव घिमिरेले टिकट पाउँदा पनि चापागाईं आकांक्षी थिए। यो पटक पनि घिमिरेले फेरि मेयरमा दोहोरिने आकांक्षा राखेका थिए। चापागाईँले टिकट पाएपछि घिमिरेले एमालेको विरासत जोगाउन आचारसंहिताको समेत ख्याल नगरी दैनिक जसो प्रचार प्रसारमा संलग्‍न भएका हुन्। घिमिरेले आफूहरुको जित सुनिश्चित भएको मात्रै बताएनन्। 

चाहे भने बैठक राखेर भटाभट निर्णय गर्न सक्छु 

आचारसंहिताबारे लामै समय खर्चिएका उनले आफूले नयाँ कार्यक्रम घोषणा गर्ने काम नगरेको बताए। तर, उनले स्थानीय तह सञ्‍चालन ऐन २०७४ अनुसार आफूले दैनिक बैठक राखेर विभिन्‍न निर्णय भने गर्न सक्ने बताए। ‘म मेयर छँदै छु, उपमेयर र केही वडाध्यक्षहरु उम्मेदवार हुनुहुन्छ, प्रवक्ता जी यही हुनुहुन्छ, केही वडाअध्यक्ष बोलाएर भटाभट निर्णय गर्न सक्छु,’ उनले भने। उनले कार्यपालिका बैठकले पैसा दिने वाहेक अन्य निर्णय गर्न सकिने समेत बताए। ‘बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसैले रोक्न सक्दैन,’ घिमिरेले भने । 

प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन्।  नगरको जनप्रतिनिधि तर्फको प्रवक्ता बहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिमा रहेको पत्रकार सम्मेलनमा उनैले बताएका थिए। 

त्यसो त यसरी स्थानीय तहका पदाधिकारीहरुले आचार संहिता उल्लघन गर्नेमा घिमिरे मात्रै एक्लो भने होइनन्। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये धेरैजसो जनप्रतिनिधिले मतदाता प्रभावित पार्ने गरि प्रचारमा खटिएका छन्। सिद्धार्थ नगरपालिकाका प्रमुख हरि अधिकारी, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य पनि प्रचारमा ब्यस्त छन्। 


 


निर्वाचन आयोगको जवाफ : समाचार हेर्ने फुर्सद छैन

रुपन्देहीका अधिकांश स्थानीय तहका पदाधिकारीहरुले आचारसंहिता उल्लंघन गरे पनि निर्वाचन आयोगले भने देखे पनि नदेखे जस्तै गरेको छ। निर्वाचन आयोग केन्द्रीय कार्यालयले दैनिक रुपमा पत्रकार सम्मेलन गर्दै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने चेतावनी दिए पनि जिल्ला तहमा भने कर्मचारीले फर्सद नपाएको भन्दै गैरजिम्मेवार बन्‍ने गरेका छन्। 

तिलोत्तमाका मेयरले आचारसंहिता उल्लंघन गरेको भनेर सञ्चारमाध्यममा केही दिनदेखि समाचार आइरहेको छ। सोमबार निर्वाचन आयोगमा उजुरीसमेत परेको छ।

उजुरी पर्नुअघि उनले भनेका थिए, 'समाचार हेर्ने हामीलाई फुर्सद छैन, कहाँ आयो थाहा छैन, उजुरी आए हेर्छौं,’ उनले भने। उनले पदाधिकारीहरु प्रचार प्रसारमा संलग्न हुन नपाउने आचारसंहितामा उल्लेख भएको बताए। मुख्य निर्वाचन अधिकृतले उजुरी आउनुपर्ने बताए पनि निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाको भने ध्यानआर्कषण भएको जनाएको छ। निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले आचारसंहिता पालना गर्ने निकायले नै उल्लंघन गर्दा आफूहरुलाई असहज भएको बताए। जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा त्यसो नभएको बताए। 

‘विकासलाई केन्द्रमा राख्‍ने प्रतिबद्धता’ 

तिलोत्तमा नगरपालिकामा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विकासलाई प्राथमिकतामा राखेको बताएको छ। एमालेका तर्फबाट मेयरका उम्मेदवार मोहन चापागाईंले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा टेकेर काम गर्ने बताए। 

चापागाईंले तिलोत्तमामा रहेका करिब २०० टोलमा उद्यमशीलताको विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताए। त्यस्तै फराकिला सडक, आधारभूत स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिने, हरियाली प्रबर्द्धनलाई निरन्तरता दिने, गाडी हिंड्नै लागि ओभरफ्लाई ब्रिज निर्माण गर्ने, कृषिमा अनुदान वृद्धि गर्नेलगायतका कामलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उनले बताए।

उपमेयर पदकी उम्मेदवार जगेश्वरदेवी चौधरीले तिलोत्तमामा चुनावका लागि एमालेसँग प्रशस्त एजेण्डा रहेको बताइन। घिमिरेले विपक्षीले भ्रमपूर्ण प्रचार गरेको भन्दै राम्रो काम देख्‍न अनुरोध गरे। 

प्रकाशित: May 02, 2022| 19:24 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।