बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्क अभियान : सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ- प्रधानमन्त्री

मास्क अभियान : सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन्।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए। उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे।

देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गरे। उनले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पुर्‍याएको हुँदा संक्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गरे।

उनले सही ढंगबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान सुरु गरिएको जानकारी दिए। राज्यमन्त्री श्रेष्ठले संक्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

उनले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा संक्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गरे। ‘आवश्यकताले काम बाहिर जाँदा र खोपका लागि खोप केन्द्रमा जाँदा सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्दछ।’ उनले भने।

स्वास्थ्य सचिव डा. रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए। ‘मास्क आफूलाई बच्न मात्र नभएर आफ्नो परिवार, समाजलाई बचाउन महत्वपूर्ण भूमिका खेल्दछ’ उनले भने, ‘त्यसैले सबै नेपालीलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न चाहन्छाँै।’ उनले जनस्वास्थ्य मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि हेलचक्र्याइँ गरेकाले स्वास्थ्य मापदण्ड र मास्कको महत्वबारे जानकारी गराउन अभियान गरिएको जानकारी दिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी विच्छाले घर बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह गरे। उनले यही साउन २५ गतेदेखि एस्ट्राजेनिका खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको लगाउने जानकारी दिए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले मास्क लगाउनु आफ्नो समुदायप्रति सहयोगी बन्नु पनि रहेको बताए। सवारी साधन चलाउँदा अघि सिटबेल्ट, मोटरसाइकल चलाउँदा हेलमेटजस्तै घरबाट निस्कदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरे।

मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्नका लागि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धताः मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ सुरु गरेको अभियान यही साउन २९ गतेसम्म सञ्चालन गरिने छ। म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो।

स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभई मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्नका लागि अभियान सुरु गरिएको बताइन्। रासस

प्रकाशित: Aug 07, 2021| 19:08 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।