बिहीबार, पुस ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ओलीले भोट हाल्ने पालिकामा यस्तो छ एमालेको अवस्था

पार्टी फुटेका कारण यसपालि नेकपा एमालेलाई सूर्यविनायक नगरपालिकामा आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिएको छ।
 |  आइतबार, वैशाख १८, २०७९
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, वैशाख १८, २०७९

ntc landingntc landing

काठमाडौं– राष्ट्रिय राजनीतिका माहिर खेलाडी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको चर्चा भइरहँदा  उनले भोट हाल्ने भक्तपुरको सूर्यविनायक नगरपालिका भने छायामा परेको छ। ओलीमात्र हैन, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि सोही नगरपालिकाका मतदाता हुन्।

himalayan bank box

ओली र बस्नेतले भोट हाल्ने सूर्यविनायक नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ। नेकपा एमालेले सो नगरपालिकाको मेयरमा वासुदेव थापा, उपमेयरमा सरिता तिमल्सिना भट्टराई र केही वडाध्यक्षबाहेक सबै पदमा पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ भने सत्ता गठबन्धनले नेपाली कांग्रेसका निशान ढुंगेललाई मेयर र नेकपा एसको तर्फबाट श्याकृष्ण बस्नेतलाई उपमेयरमा अगाडि सारेको छ। सत्ता गठबन्धनबाट उपमेयर पदमा उमेदवारी दिएका बस्नेत गत स्थानीय तहको चुनावमा नेकपा एमालेको तर्फबाट उपमेयर जितेकी जुना बस्नेतका देवर हुन्।

०७४ सालको निर्वाचनमा मेयर र उपमेयर दुवै एमालेले हात पारेको थियो। मेयरमा वासुदेव थापा १२ हजार ८८६ र उपमेयरमा जुना बस्नेत १२ हजार ८३२ मत प्राप्त गरी विजयी भएका थिए।

थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ र बस्नेतकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९०२ मत प्राप्त गरेका थिए।

पार्टी फुटेका कारण यसपालि नेकपा एमालेलाई सूर्यविनायक नगरपालिकामा आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिएको छ। ‘नेकपा एमालेले मेयर र वडाध्यक्षका सबै पदहरु दोहोर्याएका कारण पनि मानिसले उसलाई भोट हाल्दैनन्,’ एमालेकै एक नेताले नेपाल समयसँग भने। जिल्ला तहका नेताहरुले महेश बस्नेतको इसारामा चल्नेलाई मात्र टिकट दिएका कारण कार्यकर्ता रुष्ट रहेको उनले बताए। तर अन्तिम समयमा पार्टीले कार्यकर्ताहरुलाई मिलाएर लान सकेमा भने फेरि बल  एमालेकै हातमा हुने पनि उनले दाबी गरे।

vianet

सूर्यविनायकका मेयर वासुदेव थापा आफूले गत पाँच वर्षमा शिक्षा, स्वास्थ, पूर्वाधार विकास र कृषिको क्षेत्रमा धेरै राम्रो काम गरेकोले पुनः आफूसहित सम्पूर्ण वडामा नेकपा एमाले नै आउने दावी गर्छन्। उनले भने, ‘उपत्यकाको कर्णाली भनेर चिनिने सूर्यविनायक नगरपालिकाका दुर्गम स्थानहरुमा पनि सडक पुर्याएको छु। स्थानीय जनताको समस्या आफ्नो समस्या ठानेर काम गरेको छु। मेरो नेतृत्वमा जनताले विकासको प्रत्यक्ष महसुस गरेका कारण मलाई नै पुनः मतदान गर्नेमा म ढुक्क छु।’

पार्टी फुटेका कारण यसपालि नेकपा एमालेलाई सूर्यविनायक नगरपालिकामा आफ्नो विरासत जोगाउन मुस्किल पर्ने देखिएको छ।

थापाका मुख्य प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार निशान ढुंगेल पनि आफूसँग पाँच दलको गठबन्धन र जनताको मनबन्धन भएकोले आफूले जित्ने दाबी गर्छन्। भन्छन्, ‘आपराधिक मानसिकताको राजनीतिबाट आजित भएका जनताले मलाई भोट दिन्छन्। म शतप्रतिशत भन्दा पनि बढी विश्वस्त छु। नागरिक समाज र जनता अहिले मेरा पक्षमा छन्।‘

वडा नम्बर ९ का अध्यक्षका प्रत्याशी तथा निवर्तमान वडाध्यक्ष उपेन्द्र केसी पनि सूर्यविनायक एमालेको लालकिल्ला भएकोले एमालेले सहजै जित्ने दावी गर्छन्। अघिल्लो २०७४ को स्थानीय चुनावमा तीन वटा वडा (२, ३ र ६) नेपाली कांग्रेसले जितेको थियो। पूर्वप्रधानमन्त्री ओली वडा नम्बर २ का मतदाता हुन्। ओलीले भोट हाल्ने वडा नै नेपाली कांग्रेसले जितेको हो।

अघिल्लो चुनावबाट नेकपा एमालेले पाठ सिकेकोले यसपालिको स्थानीय चुनावमा नेकपा एमाले नै जित्ने दावी नेताहरुले गरिरहेका छन्। गठबन्धन भएकोले एमालेले नै जित्न सक्छ भनेर भन्न नसकिने स्थानीय नेताहरु बताउँछन्। गत चुनावमा आफू बसेकै वडामा एमालेले हारेपछि ओली तनावमा थिए। त्यसैले पनि यसपालि सो वडामा अध्यक्षको प्रत्याशी फेरिएको छ। ओलीले आफ्नो वडामा आफूले चाहेको नेता हुनुपर्ने अडान राख्दै धेरै आकांक्षीहरुलाई पाखा लगाएर विश्वराज विष्टलाई २ नम्वरको वडाध्यक्षमा अगाडि सारेका छन्।

हुन त विपक्षी नेताहरुको पनि कसरी वडा कव्जा गर्ने भन्ने रणनीति त हुन्छ नै, त्यसैले एमालेका अध्यक्ष आफैं बसेको वडामा गठबन्धनले ठूलो अपेक्षा नगरेको गठबन्धनका नेताहरुको भनाइ छ। ओलीको वडामा सत्ता गठबन्धनले भने नेपाली कांग्रेसबाट प्रदीपकुमार कार्कीलाई वडाध्यक्षको टिकट दिएको छ।

त्यस्तै चर्चित युवा नेता महेश बस्नेतको वडामा पनि यसपालि निकै प्रतिष्पर्धा देखिएको छ। नेकपा एमालेबाट पुरानै वडाध्यक्ष रविन्द्र सापकोटा उठेका छन्। उनले राम्रो काम गरेकोले पुनः सो वडा एमालेकै कव्जामा जाने पक्का भएको एमाले नेताहरुले बताइरहे पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट पनि सापकोटाका तल्लाघरे हरि खड्का उठेकोले प्रतिष्पर्धा हुने कांग्रेसका नेताहरुको दावी छ।

वडा नम्वर १ र ९ मा पनि चर्को प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा सहजै एमालेले जिते पनि यसपालि वडा नम्वर १ मा सत्ता गठबन्धनबाट नेकपा एसका मिलनजंग थापाको वडाध्यक्षमा उमेदवारी परेपछि एमाले तर्सिएको छ। थापा पहिले एमालेमै थिए। नेकपा एमालेले भने पुरानै वडाध्यक्ष सानुकाजी कायश्थलाई दोहोर्याएको छ भने अर्कोतर्फ स्थानीय जनतासँग भिजेका भाइकृष्ण श्रेष्ठ टिकट नपाएपछि मौन बसेका छन्। जसको असर वडा नम्वर १ मा एमालेलाई पर्ने देखिएको छ।

अघिल्लो चुनावमा नै टिकटको प्रमुख दावेदार रहेका भाइकृष्णलाई यसपालि पनि एमालेले झुक्याएपछि उनी एमालेले गर्ने सभा–सम्मलेनमा सहभागिता जनाइरहेका छैनन्। उनलाई टिकट नदिएपछि स्थानीय एमालेहरु पनि रुष्ट देखिन्छन्, जसको फाइदा गठबन्धनबाट अध्यक्ष उठेका थापाले लिने सम्भावना रहेको छ।

त्यस्तै वडा नम्वर ९ का उमेदवार उपेन्द्र केसीलाई पनि यसपालि जित्न मुस्किल पर्नेछ। भाइरल भएको प्लटिङका कारण उनलाई समस्या पर्ने स्थानीय नेताहरु बताउँछन् तर उनी भने सो प्लटिङले स्थानीय जनताको जग्गाको मूल्य एकैपटक दश गुणाले बढ्न सफल भएकोले उनीहरुले झन् भोट दिने दावी गर्छन्।

त्यस्तै कांग्रेसले जितेको वडा नम्वर ३ र ६ मा एमाले बलियो हुँदै आएको छ भने एमालेको गढ मानिएको ७ नम्बर वडामा भने गठबन्धनका कारण एकदमै प्रतिष्पर्धा हुने सम्भावना बढेको छ।

गठबन्धनको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति नारायणभक्त ख्यामलीले मेयरका लागि उम्मेदवारी दिएका थिए। तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै वडा नम्वर १ मा पनि नेपाली कांग्रेसले गठबन्धनको विरोधमा भीमसेन श्रेष्ठलाई वडाध्यक्ष उठाएको थियो तर पछि श्रेष्ठले फिर्ता लिएका छन्।

सूर्यविनायकमा एमालेले शतप्रतिशत जित्ने दावी स्थानीय पत्रकार रमेश गिरीको छ। उनका अनुसार सो वडामा एमालेको नेतृत्वको स्थानीय निकायले निकै राम्रो काम गरेको छ। उनी एमालेले गुमाएका ३ वटा वडा आफ्नो पक्षमा पार्न एमालेले ठूलो मेहनत गरिरहेको र अन्य स्थानमा साख जोगाउनका लागि धेरै काम गरेकोले पनि सूर्यविनायक नगरपालिका पुनः एमालेको कव्जामा आउने विश्वास व्यक्त गर्छन्। ‘टिकट नपाएका केही आकांक्षीहरुले विरोध गरे पनि एमालेको नेतृत्वले उनीहरुको विवाद मिलाउने पक्का छ। सत्ता गठबन्धन बलियो दावेदार भए पनि आन्तरिक किचलो मिलाउन नसक्दा कमजोर हुन्छ,’ उनले भने।

प्रकाशित: May 01, 2022| 09:38 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...