काडमाडौं- अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन कार्यकर्ता पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्।
क्षेत्र नम्बर २ का क्षेत्रीय सहसचिव पुष्पराज भण्डारीसहित दुई दर्जन नेता कार्यकर्ता कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ६ ठूलासैनमा एक कार्यक्रमकाबीच उनीहरूलाई एमालेमा स्वागत गरिएको छ।
कांग्रेसको मंगलसैन नगरपालिका कार्य समितिका निवर्तमान सभापतिसमेत रहेका भण्डारी स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका आकांक्षी थिए। पार्टीले आफूभन्दा जुनियर नेतालाई टिकट दिएको भन्दै भण्डारी असन्तुष्ट थिए।
भण्डारीसहितका नेता तथा कार्यकर्ताहरूलाई ठूलासैन बजारमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सहइन्चार्ज यज्ञ बोगटी, प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायतले स्वागत गरेका छन्।