काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ओलीले लोकतन्त्रलाई कमजोर तुल्याउन पटक-पटक संघीयताको मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्। धुनीवेँसी नगरपालिका धादिङमा आयोजित कांग्रेस भेलालाई सम्बोधन गर्दै महरले ओलीकै अकर्मण्यताका कारण मुलुक ठूलो दुर्घटना हुने अवस्थामा पुगेको बताए।
'माओवादीसँग मिलेर ओलीले स्थिर सरकार, खुसी नेपाली समृद्ध नेपालको नारा दिए। ती त केवल जनतालाई भ्रममा पार्ने कुरा थिए। उल्टै ओलीले संसदमाथि प्रहार गर्ने काम गरे। आफ्नै पार्टीलाई फुट हुनबाट जोगाउन सकेनन्। दुई तिहाइको सरकार हुँदा पनि स्थिर सरकार चलाउन सकेनन्। उल्टै उनले पटक-पटक संघीयताको मर्ममाथि प्रहार गरिरहे,' महरको आरोप छ।
राजनीतिको उद्देश्य जनताको समृद्धि भएको उनको भनाइ छ। 'विकास गर्ने, जनतालाई समृद्ध बनाउने काम राजनीतिको हो। केपी ओली प्रधानमन्त्री बन्ने बेलामा ६ खर्वको हाराहारीमा नेपालको ऋण थियो। तर, ओलीले त्यो ऋण बढाएर १८ खर्व पुगाए। विदेशी ऋणले नेपाल गाँजिएको छ। ओलीले थपेको ऋण कता गयो? खै कता के विकास भयो?,' महरको प्रश्न छ।
विकासमा त्यो ऋण नदेखिएपछि ओलीले एमालेका नेता कार्यकर्ताहरूलाई पोस्नमा खर्च गरेको महरको दाबी छ। उनले कांग्रेसले नेतृत्व गर्दा त्यस्तो कहिले नहुने बताए। जनताको म्यान्डेट अनुसार आफूहरूले प्रतिपक्षमा बस्न चाहे पनि देश अप्ठ्यारोमा पर्दा जोगाउनका लागि कांग्रेसले सत्ता सम्हाल्नु परेको महरले बताए।
जनताको सुख, दुःखको सारथि घरदैलोको स्थानीय सरकार हुने भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको धारणा छ। 'तर, ओली नेतृत्वको सरकारले पालिकाको अधिकारलाई मानेन। प्रदेशको अधिकारलाई पनि मानेन। ६ प्रदेशमा ओलीकै पार्टीको नेतृत्व हुँदा पनि ओलीले कसैको कुरा सुनेनन्। र, प्रदेश प्रमुखहरूले नै ओलीले असहयोग गरेको गुनासो गरे,' उनले भने।
उनले त्यो अवस्था आउनहुन्न भन्नेमा कांग्रेस सचेत रहेको बताए। त्यसैले यतिबेला स्थानीय तहमा गठबन्धनमा आबद्ध नेताहरूलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन्। गठबन्धनका नेताहरूले विजयी भइसकेपछि जनजीवनसँग जोडिएका प्रत्येक कामको ग्यारेन्टी गर्ने महरको भनाइ छ।
उनले गाउँको सानो कलभर्ट पनि जनताको आवश्यकता भएको बताउँदै जनताका सामान्य आवश्यकताको पनि नेताहरूले ध्यान दिनुपर्ने महरले बताए।