चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई भूइँकटहर चुनाव चिन्ह प्रदान गरेको हो। पौडेलले घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानसमेत थालेका छन्।
उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन्। मतदान यही वैशाख ३० गते हुनेछ।
पाँच दलीय गठबन्धनका तर्फबाट भरतपुरको मेयरमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेनु दाहालले उम्मेदवार बनाएपछि रुष्ट बनेका काँग्रेस नेता कार्यकर्ताको तर्फबाट पौडेलले उम्मेदवारी दिएका हुन्।
भरतपुरको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएकोमा शुक्रबार तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेसले मेयरका उम्मेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निष्कासन गरिसकेको छ।