काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने समय शुक्रबार बेलुका ५ बजेसम्म तोकिएको थियो। उक्त समय घर्किँदा पनि उनले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि उनी कांग्रेसबाट स्वत: निष्काशनमा परेका हुन्।
यसअघि शुक्रबार दिउँसो कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धनविरुद्ध उम्मेदवारी दिने उम्मेदवार पार्टीबाट स्वत: निष्काशन गरिने बताएको छ। विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ ९१३० (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ।'
भरतपुरमा पाँच दलीय गठबन्धनले माओवादीकी रेणु दाहाललाई उम्मेदवार बनाएको छ। पौडेलले दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका हुन्।
पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पौडेललाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै बिहीबार गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरुलाई शुक्रबार बेलुका ५ बजेसम्म फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले उक्त आग्रह अस्वीकार गर्दै आफू कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएका थिए।