घारो र कात्रो बोकेर युद्धमा हाम फालेका नरेन्द्रजंग पिटर किन अझै जिउँदा छन्? यो अहिलेको सर्वाधिक महत्वको प्रश्न हो। तर यस्ता प्रश्नबाट प्रचण्डहरुलाई खतरा छैन। बाबुराम, बादल र वैद्यहरुलाई झन् हुने कुरै भएन।
पिटर यतिबेला वैचारिक मृत्युको कुरा गरिरहेका छन्। दोस्रो संविधानसभाको निर्वाचनपछि उत्पन्न राजनीतिक भुलभुलैयाले पिटरलाई जंग छुट्छ। संविधान निर्माणपछि आएको ज्वरो सेलाएको छैन पिटरलाई। त्यहि झोंकमा देश दुनिँयाभरको विचार–वेदना बोकेर बर्बराउँदै हिँड्छन्। पढे–लेखेको जस्तो मान्छे देख्ने वित्तिकै सुरु भैहाल्छन्, अहिले मोहन भागवतले १५ वर्षमै अखण्ड भारत बन्छ भनेर बोलेपछि पिटर भत्र आगो बलेको छ। विडम्बना! यस्ता इस्यू नेपाली राजनीतिमा बहसका विषय बन्दैनन्।
केहि समयअघि केपि ओलीका कारण पिटरको निद्रा हराम भयो। राम जन्मस्थल अयोध्यापुरी र दशरथ, मेसोपेटामिया र पांग्राको आविष्कार, शिव भगवान र फलामको त्रिशूल निर्माणका एक पछि अर्को ओलीको अभिव्यक्तिले पिटरलाई भाउन्न छुटिरह्यो।
इतिहास र पुरातत्व शास्त्रसँग कुनै साइनो र सम्बन्ध नै नजोडिएको विषय भन्दै पिटर केहि पत्रिका र टेलिभिजन अन्तर्वार्ताहरुमा बर्बराईरहे।
यसरी दिग्भ्रमित विचारका अवशेष बोकेर बाँचेका राष्ट्रिय–अन्तर्राष्ट्रिय ‘लिडर’हरु पिटरको दृष्टिकोणमा पात हुन्, झरिसकेका। उनी भन्छन्, ‘विचारको स्खलन मानिसको मृत्यु भन्दा बढी खतरनाक हुन्छ।’
पिटर यतिबेला वैचारिक मृत्युको कुरा गरिरहेका छन्। दोस्रो संविधानसभाको निर्वाचनपछि उत्पन्न राजनीतिक भुलभुलैयाले पिटरलाई जंग छुट्छ।
मृत्यु र मार्क्सवादको सम्बन्ध पनि रोचक छ। सर्वहारा मुक्तिका लागि मृत्यु छुन सक्ने एक विश्वव्यापी आन्दोलन बारे पिटरले के भन्दा हुन्? या सोध्नुपर्ने छ। तर, ६५ वटा वर्षको आयु निलेका पिटरलाई आफु युवा हुँ भन्ने कसरी लाग्छ? लामबद्ध सहयात्रीको वैचारिक मृत्युको हाकाहाकी घोषणा गर्ने पिटरलाई आफू जिउँदो छु भन्ने भावानुभूति कसरी छुट्छ? के यो साच्चिकै आश्चर्य होइन?
पिटरको भौतिक कायामा कालो रौंको छाया छैन। के उनी बुढो भैसकेनन्? डबल पावरको चस्मा भित्र एक जोर आँखाहरु झन् झन् गड्दै गैरहेको पिटरलाई थाहा छैन? गालाको छालाहरु पनि झोल्लिन थालिसकेछन्, पिटरहरु किन ऐना हेर्दैनन्?
एकाउन्न सालमा माओवादीले सशस्त्र युद्धको उद्घोष गर्दै पहिलो पटक थ्रि नट थ्रि पट्काउँदा पिटर नेपालगन्जको थम्बोजी चौक र घरवारी टोल आसपासका भित्तामा ‘नेकपा माओवादी जिन्दावाद!’ लेखिएका पोष्टर टाँस्दै थिए। उनीसँगै पोष्टर टाँस्ने विष्णु पोख्रेल भौतिक रुपमा जिउँदा छैनन्।
जहाँ उभिएर पिटरहरु बाँचिरहेका छन्, यो व्यवस्थाको पर्खालमुनी रगतको आहाल छ। गुप्त चिहानको ओढारमा सहिदका हाडखोरहरुको रुवाबासी छ। तर पिटरले बोक्ने कालो डायरीमा के छ?
०००
‘बलैगाउँदेखि बाकुसम्म’ यात्रा गरेका नियात्राकार सागर गैरेले नरेन्द्रजंग पिटर नेपालगन्ज प्रवेश गरेको ओपन तर सेक्रेट कुरा सुनाएपछि मेरा त्रिनेत्र खुले। सक्रिय राजनीतिबाट टाढा भएपछि पिटरको विचार सुन्न चाहनेहरु झन बढेका छन्। निर्वाचनको सम्मुखमा एउटा अन्तर्वार्ता त गर्नैपर्छ भन्ने लागेपछि मेरो हाकिम विजय वर्मासँग सल्लाह मागेँ।
समाज निर्माणको विज्ञान, इतिहासको गठन पुनर्गठन र सैद्धान्तिक विश्वको अन्तर–आवरणलाई मिहिन रुपमा भन्न–बोल्न सक्ने पिटरलाई यो चुनाजबारे के भन्न लगाउनु? एक हजार वर्षदेखिको इतिहास र मानव विकास र स्वतन्त्रताको विषयमा विमर्श गर्ने योजना बनाएर एनटिभी कोहलपुर टेकेका पिटरले दुर्भाग्यवश निर्वाचनकै बारेमा बोल्नुपर्यो। जसको मृत्युको घोषणा गरेका थिए, उनीहरुले निर्माण गरेको राजनीतिका प्रवृत्तिहरु माथि विचार छेड्नुपर्यो।
तर व्यवस्था आफैँमा केहि हैन पनि भन्न सक्दैनन् पिटरले, आफैँले बङ्कर भित्रबाट बन्दुक चलाएर ल्याएको व्यवस्थामा सन्तुष्ट पनि छैनन् क्यारे। जब जुत्ता फुकालेर खोला तर्न थालिन्छ, त्यो समयमा थाहा हुन्न, कुन ढुंगामा टेक्दा चिप्लिन्न र सुरक्षित भइन्छ। अहिलेको राजनीति पनि ठ्याक्कै त्यस्तै छ भन्ने पिटरको मुखाकृति हेरेर अनुमान लगाउनै पर्दैन।
‘सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि हाम्रा आदर्श र भूमिकाहरु पनि सुविधा अनुसार नै व्यवस्थापन हुँदै गएका छन्।’ निर्वाचन पनि वर्गीय हुन्छ भन्ने कुरामा भने पिटरको मत छ।
दोस्रो निर्वाचनसम्म आइपुग्दा देखा परेका दृश्यहरुले दलका जैविक कार्यकर्ताहरु आयातित नेताको सहयोगी र मतदातामा मात्र खुम्चिनु परेको देखाउँछन्। ‘हिजो युद्ध लडेको, इमान्दार भएर संगठन निर्माण गरेको, सिद्धान्त पढेको कार्यकर्ताले अहिले निर्वाचन लड्न सक्दैन, त्यसको लागि आयातित नेताहरु दललाई जरुरी पर्छ,’ पिटरका आँखाहरुमा झन तेज बढ्छ। भन्छन्, ‘आयातित नेतासँग इतिहास छैन, आफैँले निर्माण गरेको संगठन पनि छैन र सिद्धान्त त हुने कुरै भएन।’
‘सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि हाम्रा आदर्श र भूमिकाहरु पनि सुविधा अनुसार नै व्यवस्थापन हुँदै गएका छन्।’ निर्वाचन पनि वर्गीय हुन्छ भन्ने कुरामा भने पिटरको मत छ।
आफैँले जग हालेको यो परिवर्तनको रुप आँखा अगाडि यसरी दुर्घटित हुँदा पिटरलाई कस्तो लाग्दो हो? सक्रिय राजनीतिका झण्डै पैतालिस वर्षमध्ये १० वर्ष जंगलका बारुदी ओढारमा लुकेर प्रचण्डहरुलाई विचार निर्माणमा सहयोग गरेका छन् उनले। प्रचण्ड निर्माणमा पिटरले पारेका इँटाहरु थिए।
अहिले बुढो मस्तिष्कमा युद्धका राता डोबहरु लिएर पिटर फगत विश्लेषकको पगरी गुथेर बर्बराइरहेका छन्। राजनीतिक व्यवस्था मात्र होइन, सत्ताका चरित्रहरु पनि फेर्यौं भन्ने पिटरसँग अचेल राती निदाउने एउटा मात्र तर्क छ, ‘राजतन्त्रबाट गणतन्त्रात्मक व्यवस्था, एकात्मकबाट संघात्मक शासन प्रणाली र धर्म सापेक्षताबाट निरपेक्षतामा रुपान्तरण’
तर हजार मानिसको प्राणले फुकेको यो शासनको बेलुन कति समयसम्म फुलिरहन्छ? त्यो स्वयं पिटरहरु चिन्ता गर्दैनन्। मात्र मिडियामा पिटरहरु ‘हामीले राजनीतिक संस्कार र त्यसका प्रवृतिहरु भने फेर्न सकेनौं’ भनेर बोल्छन् र पन्छिन्छन्।
संसारका सबै क्रान्ति र परिवर्तन हेर्दा नेतृत्व ध्वस्त हुन सक्छ, पलायन हुन सक्छ, उनीहरुले गद्धारी गर्न पनि गक्छन् तर आन्दोलन र एजेण्डा कमजोर भएको देखिँदैन। पिटरले एक टेलिभिजनमा भनेका छन्, ‘क्रान्ति र विद्रोह सूत्र र भद्रतामा चल्दैन, त्यो निर्मम हुन्छ, त्यो निर्ममताले कहाँ के भयो? त्यो इतिहासको समीक्षाको पाटो हो।’
युद्ध र आन्दोलनपछि परिवर्तनको फिल नहुनुमा ‘नेचर’, ‘कल्चर’ र ‘सिग्नेचर’ परिवर्तन गर्न सहज नहुनु हो भन्ने पिटरको तर्क छ। प्रचण्ड चालीस वर्षदेखि पार्टीको सत्तामा छन्, सिंगो देशको राजनीतिक योजनाकार आफू नै भइरहेकोमा गर्व गर्छन् र लामबद्ध कार्यकर्ताहरु निरन्तर ताली बजाइ नै रहेका छन्।
‘अहिलेको नेतृत्वले जनतालाई भिडमा रुपान्तरण गर्न खोज्छ, तर असल नेताले भिडलाई जनतामा बदल्ने गर्छ।’ पिटरले टेलिभिजनमा बोल्ने, पत्रपत्रिका र अनलाइनमा बारम्बार दोहोर्याउँछन्, ‘साइन बोर्ड, ब्यानर, झण्डा हटाइदिने हो भने नेपालमा कुनै दलमा फरक देखिँदैन।’ यति भनेर पिटरको आक्रोश सेलाउँदैन, ‘अहिलेका दलहरु उद्योग हुन्, ट्रेडमार्क हुन्, नेताहरु त्यसका मालिक।’
वर्गसंघर्षको फेरिएको रुप झन् निर्मम हुन्छ, वर्गसंघर्ष जति कमजोर भयो, त्यसको शक्ति झन् आक्रामक हुन्छ। यदि त्यसो हो भने विश्वमा कम्युनिष्टको जित सुनिश्चित छ? तर कसरी? त्यसको उज्यालो आभा किन देखिएको छैन? प्रश्न उस्तै छन्।
पिटरलाई भोक लाग्यो, एउटा बसाइ सकियो। पिटरले आफ्नो गह्रुँगो कालो डायरी उठाए, हामी क्याफेतर्फ सोझियौं।
युद्ध र आन्दोलनपछि परिवर्तनको फिल नहुनुमा ‘नेचर’, ‘कल्चर’ र ‘सिग्नेचर’ परिवर्तन गर्न सहज नहुनु हो भन्ने पिटरको तर्क छ। प्रचण्ड चालीस वर्षदेखि पार्टीको सत्तामा छन्, सिंगो देशको राजनीतिक योजनाकार आफू नै भइरहेकोमा गर्व गर्छन् र लामबद्ध कार्यकर्ताहरु निरन्तर ताली बजाइ नै रहेका छन्।
कोहलपुरको गुराँस क्याफेमा ६ घण्टा निरन्तर मैले पिटरलाई सुनेँ। साहित्यकार महानन्द ढकाल, नियात्राकार गैरे पनि साथमा थिए। गैरेलाई इतिहासमा इच्छा छ, उनी सयौं वर्ष पुराना रहस्यको धरातल खोज्न चाहन्छन्। क्याफेमा पिटर बोलिरहे, गैरेले कागजमा टिपिरहे।
‘नाम र मिति बाहेक कतिपय इतिहास कल्पनाको पुञ्ज मात्र हुन्छ,’ क्यापाचिनोको वान सट लिएपछि पिटर बोल्न थाले। पिटरको भनाइले मलाई विश्वप्रसिद्ध इतिहासकार इरफान हविवको एउटा भनाइ याद आयो, ‘तपाईं इतिहासलाई फेर्न सक्नुहुन्न, तर तथ्यलाई सिर्जित गर्न सक्नुहुन्छ भने त्यो इतिहास नभई कल्पनामात्र हुन्छ।’
कस्तो गज्जब! इतिहास सधै विजेताहरुबाट लेखिएको हुन्छ। तर पिटर भन्छन्, ‘इतिहासको उत्खनन् सधै बाँकी नै रहन्छ।’ त्यसमा पनि दक्षिण एसियाको चरित्र झन् अनौठो छ, रुढिवादलाई सांस्कृतिक विरासतको रुपमा निर्माण गर्ने र त्यसैलाई समातेर संविधानमा ‘समाजवाद उन्मुख’ लेख्नेमा नेपाल पनि हो। कम्युनिष्टहरुले फगत धार्मिक आस्थालाई राजनीतिक पहिचानको रुपमा बुझ्न बुझाउन थालेपछि पिटर आफैँ जिल खाइरहँदा हुन्।
पिटर भन्छन्, ‘इतिहास हामीले नपढ्दैमा इतिहासले हामीलाई नपढ्ने होइन, हामीले इतिहास भुल्न सक्छौँ, तर इतिहासले हामीलाई भुल्दैन।’ इतिहास पढ्न जरुरी छ भन्ने पिटरको जोड छ, किनकी सुगौली सन्धी, फिर्ता आएको नयाँ नेपालको भूगोल र त्यो समयमा अंग्रेजसँग कसले कति लाभ लिए भन्नेबारेमा पिटरले नयाँ कुराहरु खोले।
इतिहासबारे बोल्दै जाँदा पिटरले एउटा नयाँ रहस्य खोले, ‘तपाईंहरुलाई थाहा छ कि छैन? कुनै समय नेपालगन्जमा मान्छे काटिन्थ्यो नि!’ पछि बुझ्दै जाँदा तत्कालिन समयमा मान्छे काट्ने त्यो स्थानको अवशेष नेपालगन्जमा अझै रहेको पाइयो र मान्छे काट्नेहरु परिवारको तेस्रो पुस्ता पनि नेपालगन्जमै रहेछन्।
पिटरका रहस्यले भरिएको इतिहासको नालीबेली सुन्दा ६ घण्टा बित्यो। टेबलमा अघिदेखि रहेको पिटरको कालो डायरी अब मलाई विशेष लाग्न थाल्यो। तर पिटरले त्यो डायरी पल्टाउन दिएनन्। तर, त्यो डायरी पिटर जिउँदो रहँदै खोल्नुपर्छ। अरु के के छ पिटरको कालो डायरीमा?