ललितपुर- ११औं पटक वडाध्यक्ष हुने तयारीमा रहेका ललितपुर महानगरपालिका–१० का नरसिंह व्यञ्जनकारलाई राति दुई बजे नै निद्राले छाडिसक्छ। आफ्नै वडाको सेरोफेरोमा दैनिकी व्यतित गर्ने व्यञ्जनकारको सुरुवात राति तीन बजे घरमै गर्ने प्रार्थनाबाट सुरु हुन्छ। ज्वागलमा उनको घर छ। आठ बजे खाना आएर घरबाट निस्कने उनी आजभोली वडाबासीसँग कुराकानी गर्न व्यस्त छन्।
२०२९ देखि निरन्तर वडाध्यक्ष जित्दै आएका उनलाई चुनावी चटारो उतिसारो लागिसकेको छैन। विभिन्न दलका उम्मेदवार प्रचारप्रसारमा खटिइसकेका छन्। तर, ८१ वर्षीय व्यञ्जनकारलाई भने तामझामसहितको प्रचारप्रसारमा विश्वास लाग्दैन। तामझाम बिना नै १० पटक चुनाव जितिसकेका उनी यसपालि पनि भव्य कार्यक्रम नगर्ने सोचमा छन्। यद्यपि छोरा र समर्थकको साथमा घरदैलो गर्ने उनको सोच छ।
'म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग गर्छन्।’
उनका दुई जना छोरा छन्। अघिल्लो पटक दुवै जनाले प्रचारप्रसारमा सहयोग गरेका थिए। तर, यसपटक भने कान्छो छोरा आफ्नो प्रचारमा नहिड्ला कि भन्ने आशंका उनको मनमा उब्जिएको छ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहका समर्थक हुन्। ‘योपाली कान्छोले भ्याउँदैन होला। काठमाडौंमा मेयर उठेका बालेन शाहको पछिपछि दौडेको छ,’ उनले हाँस्दै सुनाए, ‘बालेन म कहाँ पनि आइरहन्छन्। आर्शिवाद माग्छन्। निकै टाठो रहेछ केटो। संगीतमा पनि चर्चित छ रे।’
'म स्वतन्त्र उम्मेदवार हुँ। त्यसकारण पनि आफ्नो चुनाव चिन्ह र एजेन्डाका बारेमा जानकारी दिन भएपनि प्रचार–प्रसार गर्नै पर्छ,’ बिहीबार आफ्नै वडामा भेटिएका व्यञ्जनकारले भने, ‘सबैतिर पुग्न सक्दिनँ होला। छोराहरुले सहयोग गर्छन्।’
वडा नम्बर १० लाई दसैपटक नेतृत्व गरेका व्यञ्जनकारले ८ दशक टेक्दा ५ दशक त वडाको नेतृत्व मात्र गरेका छन्। निरन्तरको जित, बढ्दो उमेर र फेरि उम्मेदवारी दर्ता गराएपछि उनको चर्चा चुलिएको छ।
आफ्नै भतिजसँग प्रतिस्पर्धा
यसअघि पटक–पटक निर्विरोध र निर्वाचित भएर वडा सम्हालेका व्यञ्जनकार यसपटक भने आफूभन्दा आधा उमेरका भतिजसँग प्रतिस्पर्धा गर्दैछन्। उनका आफ्नै भतिज रविन व्यञ्जनकारलाई नेपाली कांग्रेसले सोही वडाको वडाध्यक्षमा उम्मेदवार बनाएको छ।
भतिजसँग प्रतिस्पर्धा गर्ने अवस्था चाहिँ कसरी आइलाग्यो त? उनको जवाफ छ, ‘मैले एक वर्ष अघिदेखि नै 'म बुढो भएँ। मान्छे छानौं। विश्वास गर्न सकिने युवालाई अगाडि ल्याऔँ' भनेको हो। तर तयारी भने भएन। अहिले थाहा पाएँ नेपाली कांग्रेसले मेरो आफ्नै भतिजलाई टिकट दिएछ।’
तर, भतिजसँगको प्रतिस्पर्धाका बारेमा उनी सकारात्मक छन्। भतिजलाई सहयोग गर्ने मनस्थिति पनि उनले बनाएका थिए। तर, पार्टीले टिकट नदिने कुरा चलेपछि भने उनी आफैंले फेरि प्रतिस्पर्धा गर्ने तयारी थालेका रहेछन्।
‘भतिजलाई सहयोग गर्ने तयारीमा थिएँ। तर, केही समय अघिसम्म उसलाई पार्टीले टिकट दिने सम्भावना कम देखिएको थियो। त्यसैले मैले निर्वाचनको तयारी अघि बढाएँ,’ उनले भने, ‘तर अहिले पार्टीले उसलाई नै टिकट दिएछ। अब मैले आफ्नो निर्णय फिर्ता लिँदा मलाई विश्वास र सहयोग गर्नलाई के जवाफ दिने? म पछि हट्न सक्दिनँ।’
‘सबैको चित्त बुझाउन गाह्रो छ। बोली र काम दुवैले सबैको मन जित्ने कुरा सजिलो होइन। राजनीतिमा लागेर सेवा मात्र गर्छु भन्नेलाई अझ बढी गाह्रो छ,’ उनी भन्छन्।
उनलाई भतिजसँग प्रतिस्पर्धा गर्नुपरे पनि छोराहरु भने राजनीतिमा नआइदिउन् भन्ने लाग्छ। राजनीतिमा लागेर सेवा मात्र गर्छु भन्नेहरुलाई गाह्रो भएकाले छोरा राजनीतिसँग नजोडिउन् भन्ने चाहना उनमा पलाएको हो। ‘सबैको चित्त बुझाउन गाह्रो छ। बोली र काम दुवैले सबैको मन जित्ने कुरा सजिलो होइन। राजनीतिमा लागेर सेवा मात्र गर्छु भन्नेलाई अझ बढी गाह्रो छ,’ उनी भन्छन्।
उनी आफ्नो उम्मेदवारीलाई रहरभन्दा बढी जिम्मेवारी भएको दाबी गर्छन्। ‘यसअघिका पाँच वर्षमा धेरै काम गर्न सकिनँ। कहिले कोरोना कहिले जनशक्तिको अभाव समस्या भइदियो। यो पटक बागमती सफा नभएसम्म म यत्तिकै बस्न सक्दिनँ।’
व्यञ्जनकारसँग कुरा गरिरहँदा वडासचिव श्रीकृष्ण खत्री आइपुगे। उनले व्यञ्जनकारलाई जिस्काउँदै ठट्टा गरे। उनीहरुबीच बेलाबेला ठट्टा भइरहन्छ। व्यञ्जनकारका कारण आफूहरुले गोजीबाट पैसा निकाल्न परेको भन्दै ठट्टा गरेका उनले भने ‘वडाबासी उहाँसँग सन्तुष्ट छन्। उहाँले दुःख त हामीलाई पो दिनुभएको छ त! बस भाडादेखि अनेकन सहयोग माग्न वडामा मानिस आइपुग्छन्,’ उनी भन्छन्, ‘उहाँसग हुँदा खल्तीबाट निकालेर दिनुहुन्छ। तर उहासँगै नहुँदा हामीले आफ्नै खल्तीबाट निकाल्नुपर्छ।'
दुखीपीडितलाई उनी सक्दो सहयोग गर्छन्। अरुको दुखले उनलाई छिटो द्रवित बनाउँछ। यसबाट कतिपयले भने गलत फाइदा उठाएका पनि छन्। 'उहाँको दुःख देख्न नसक्ने बानीको फाइदा उठाउने पनि छन्,’ वडासचिव खत्रीले भने।
ठेकेदारी छोडेर वडाअध्यक्ष
जनप्रतिनिधि बन्नुअघि ठेक्कापट्टा गर्थे व्यञ्जनकार। ३२ वर्षको उमेरसम्म उनी ठेक्कापट्टामा नै रमाएका थिए। आम्दानी पनि राम्रै थियो। आफूले नै सहयोग गरेका व्यक्तिले देखाएको घमण्डका कारण व्यञ्जनकार राजनीतिमा होमिए।
‘२०२९ मा वडा अध्यक्ष उठ्न देवेन्द्रलाल अमात्यले मसँग सहयोग माग्नुभयो। उहाँलाई जिताउन मैले धेरै सहयोग पनि गरिरहेको थिएँ। तर, उहाँमा एकाएक घमण्ड बढ्यो। चुनाव चुनाव जिते व्यक्ति तोकेरै जेल हाल्ने धम्की दिँदै हिँड्न थाल्नुभयो,’ उनी सम्झन्छन्, ‘उहाँको घमण्डसँग मलाई रिस उठ्यो। मैले उहाँलाई चुनौती नै दिएर उम्मेदवारी दिन्छु भनेँ। घरपरिवारसँग सल्लाह पनि नगरी साथी सुर्दशन गौतमसँग मिलेर सुटुक्क उम्मेदवारी दिएँ। अन्तिममा जित मेरै भयो।’
इखले राजनीतिमा प्रवेश गरेका उनले त्यसपछि कहिल्यै हार व्यहोर्नुपरेन। उनी जनताले रुचाएका विरलैमध्येका एक जनप्रतिनिधि हुन्।
तत्कालीन प्रधानपञ्च बुद्धिराज बज्रचार्यले एउटा गुठीको भवन निर्माण गर्न नसके आफू राजीनामा दिने बताएका थिए। तर, लामो समयसम्म उने आफ्नो वाचा पूरा गर्न सकेनन्। न त राजीनामा नै दिए। त्यस्ता नैतिकता नभएका प्रधानपञ्चसँगै बस्न आफ्नो नैतिकताले नदिने भनेर उनले राजीनामा दिएका थिए।
बहुदल आएपछि उनको विषयमा कसैले पार्टीमा नराम्रो कुरा पुर्याइदिएछन्। वडाबाट पार्टीले लिने पैसा उनले वडाकै काममा चलाइदिएका रहेछन्। कुरा थियो ५ सय रुपैयाँको। यसपछि २०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट नदिने भयो। उनी स्वतन्त्रबाटै चुनाव लड्ने निधोमा पुगे। पछि चुनाव जिते पनि।
‘पढेको छैन, सही मात्रै गर्न सक्छु’
अहिले उनको प्राथमिकता स्वास्थ्य र शिक्षामा छ। तर, उनी आफैंले भने औपचारिक शिक्षा आर्जन गरेका छैनन्। ‘म कुनै स्कुलमा भर्ना भएको छैन। मैले जानेको सही गर्न मात्र हो। म केटाकेटी हुँदा नजिककाहरुले पढ भनेर जोड गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तर मैले पढ्नमा रुचि देखाइनँ। त्यसबेला पढाइको महत्त्व बुझिएन। बाह्रखरी घरमै लेख्न पढ्न सिकेके हुँ। तर औपचारिक शिक्षा भने लिएको छैन।’
नपढेका कारण धेरै काम गर्न असहज भएको अनुभव छ, उनको। केही गर्न परे दोस्रो व्यक्तिको सहयोग लिनुपर्छ। तर, आफ्नो कमजोरीको गलत फाइदा कसैले नउठाउन् भन्नेमा उनी सचेत छन्। ‘म नपढे पनि कसैले गलत नियत लिएर काम गर्न आएका छन् भने मेरो कलमको मसी सर्दैन,’ उनी भन्छन्, ‘म ईश्वरमा विश्वास गर्छु। गलत कामलाई मेरो कमजोरीले फाइदा नपुगोस् भन्नेमा सचेत छु।’
पहिलो निर्वाचनमा चार सय भोट खेसेको उनको वडामा अहिले २ हजार ८ सयले मतदान गर्दैछन्। आफ्नै भतिजसँगको प्रतिस्पर्धा, बदलिएको परिस्थितिले उनको ११औं इनिङको धोको पूरा होला त? यसको उत्तर १५ दिनपछि हुने मतदानले तय गर्नेछ। तर, उनी भने जितेरै छाड्ने दाबी गर्छन्। ‘फेरि जित्छु भन्ने विश्वासकै कारण उठेको हुँ।’
शिक्षा र स्वास्थ्यबाहेक उनका एजेन्डा हुन्- सफा बागमती र हराभरा यूएन पार्क। विगतका कार्यकालमा गरेका धेरै काम उनलाई सम्झना छैन। यद्यपि केही काम उनले सम्झिए, ‘२९ सालमा पुलचोकबाट राजघाट जाने बाटो खर्पन बिना हिड्न नसक्ने अवस्थामा थियो। त्यसलाई सडक बनाउने काम मैले गरेको हुँ। सडकसँगै युवाहरुको खेलकुद विकासका लागि क्लब पनि खोलेँ। एउटा कोठाबाट सुरु भएको क्लबले राम्रो गरिरहेको थियो। तर, राजनीतिक कारणले त्यो क्लब बन्द भयो।’
८ देशमध्ये वडाध्यक्षमा आफ्नो जीवनको अधिकांश समय खर्चिएका व्यञ्जनकार अहिले वडध्यक्षको अधिकार खुम्चिएको महसुस गर्न थालेका छन्। ‘भन्दा सिंहदरबारको अधिकार गाँउ–गाँउमा भन्छन्। तर, वडाअध्यक्षको अधिकार धेरै खुम्चिएको छ। मन्त्रालयबाट परिचालन हुने कर्मचारीले सोहीअनुसार काम गर्न खोज्छन्। बडो गाह्रो छ,’ उनले थपे।
उनका अनुसार पहिले वडाध्यक्ष र सेवाग्राहीलाई पनि पनि अड्डामा काम गर्न सहज थियो। सेवाग्राहीलाई धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट उनलाई मन परेको रहेनछ। सेवाग्राहीलाई लिने दस्तुर पनि बढी भएको उनको गुनासो छ।
'कर्मचारीको संख्या बढेको छ। उनीहरुलाई दिने तलबभत्ता र सुविधा सेवाग्राहीबाट उठ्ने दस्तुर र करबाट उपलब्ध हुने हो। करको बोझ जनताले बोकिरहेका छन्। दस्तुर नै तिर्न नसक्ने जनता पनि छन्, उनीहरुलाई गाह्रो छ,’ उनले गुनासो गरे।
के छ जादु?
कहिले निर्विरोध त कहिले प्रतिस्पर्धा गरेरै १० पटक निर्वाचित हुनुको रहस्य के हो त? व्यञ्जनकारको जवाफ छ- जनताको विश्वास। ‘मलाई जनताले विश्वास गर्नुको कारण म अन्याय सहन्नँ। कसैलाई अन्याय पनि गर्दिनँ। मैले गर्न सक्ने काम हो भने दिन र रात नभनी फत्ते गरिदिन्छु,’ उनले थपे, 'मैले सकेसम्म कसैलाई काम नगरी फर्काएको छैन। आफ्नो पद क्षमताको परिधिमा रहेर सबै गर्छु। समस्या परेकाहरुलाई आफनो खल्तीबाटै खर्च निकालेर दिने गरेको छु।'
पहिलो निर्वाचनमा चार सय भोट खेसेको उनको वडामा अहिले २ हजार ८ सयले मतदान गर्दैछन्। आफ्नै भतिजसँगको प्रतिस्पर्धा, बदलिएको परिस्थितिले उनको ११औं इनिङको धोको पूरा होला त? यसको उत्तर १५ दिनपछि हुने मतदानले तय गर्नेछ। तर, उनी भने जितेरै छाड्ने दाबी गर्छन्। ‘फेरि जित्छु भन्ने विश्वासकै कारण उठेको हुँ।’
यसरी १० पटक वडाध्यक्ष बनेँ : व्यञ्जनकार
२०२९ सालमा चुनाव भयो। मैले जितेँ। साथीको घमण्डका कारण म राजनीतिमा होमिएको कुरा अघि पनि भनिसकेँ।
२०३४ सालमा चुनाव भएन, 'गाँउ फर्क अभियान'ले मलाई नै वडाध्यक्षमा छान्यो। २०३६ सालमा जनमत संग्रह घोषणा भयो। यसपछि मैले राजीनामा दिएँ। मेरो यात्रा बहुदल तिर सोझियो।
बहुदलले हारेपछि २०३९ सालमा पुन स्थानीय चुनाव हुने भयो। फेरि वडाध्यक्षमा नै उठेँ। निर्विरोध निर्वाचित भएँ। त्यसको एक वर्षमै प्रधानपञ्चसँग मेरो विवाद भयो। मैले राजीनामा दिएँ।
२०४१ सालमा उपचुनाव भयो। उपचुनावमा पनि म नै विजयी भए।
त्यसपछिको चुनावमा मेरो उम्मेदवार बन्ने सोच थिएन। २०४३ सालको चुनावमा एकदिन वडाकै मान्छेले मलाई ज्वागलबाट समाते। अनि हनुमानस्थानमा वाचा गर्न लगाएर कागजातमा सही गराए। निर्वाचन लड्ने सहमतिमा मात्र मलाई उनीहरुले छोडे। मैले त्यो निर्वाचन पनि लड्नुपर्ने भयो। म निर्विरोध विजयी भएँ।
०४६ सालमा जनआन्दोलन सुरु भयो । तर, किसुनजीले मलाई राजीनामा नगर्न सुझाव दिनुभयो। ०४९ को चुनावमा १० नम्बर वडाका लागि कांग्रेसबाट टिकट पाएँ। त्यसपटक पनि निर्विरोध विजयी बनेको थिएँ।
२०५४ सालमा चुनाव हुने भयो। तर, ५०० रुपैयाँको दाममा भएको विवादका कारण मैले टिकट नपाउने आशंका मनमा उब्जियो। नेताको चाकडी पनि गर्न मन लागेन। तर टिकट नपाएपछि मलाई स्वतन्त्रबाट उठ्न निकटकाहरुले हौसला दिए। सोही कारण २०५४ को निर्वाचनमा स्वतन्त्रतबाट उम्मेदवारी दिएँ र विजयी पनि भएँ।
०५८ सालमा कार्यकाल सकिएको थियो। तर, राजनीतिक व्यवस्थामा भएको परिवर्तनका कारण राजा ज्ञानेन्द्रबाट मनोनित हुने भयो। मलाई इच्छा थिएन। तर, मेरो नाम पठाइएको रहेछ। त्यसमा पनि म नै परेँ। केही समयपछि मनोनित सबैले राजीनामा दिए। मैले दिइनँ। चार पाँच महिना एक्लै बसेँ र स्वतन्त्र भएरै काम गरेँ।
२०६२ सालमा नगर निर्वाचन भएको थियो। त्यसमा पनि म विजयी भएँ। तर त्यस्तै ५ महिना जतिमा विघटन भयो। यसपछि स्थानीय तह लामो समय जनप्रतिनिधिविही बन्न पुग्यो।
संविधान जारी भएपछि २०७४ को स्थानीय तह निर्वाचन भयो। त्यसमा पनि म स्वतन्त्रबाटै उठेर जितेको हुँ।