काठमाडौं– सिंहदरबारको पूर्वी गेट। दिउँसोको एक बजे। फोनमै बनेको पूर्व योजनाअनुसार नारायण सिग्देल बाटोमै भेटिन्छन्। पूर्वी गेटबाट निस्कँदै गरेका सिग्देलसँग गफिन थाल्यौँ।
छेवैमा फलफूल पसल छ। फलफूल पसल देख्नासाथ सिग्देलको अनुहारमा चिन्ताको भाव देखिन्छ। त्यता देखाउँदै सिग्देल भन्छन्, ‘यी फलफूल सबै बाहिरबाट ल्याइएका हुन्। यसलाई नब्रिग्रियोस् भनेर कति विषादीको प्रयोग गरिएको हुन्छ, थाहा छ तपाईंलाई?’
त्यसपछि हामी क्याफेमा बसेर गफिन थाल्यौँ। त्यहाँ पनि उनको चिन्ता आयात गरिएका सामान्य कुराहरुमै हुन्थ्यो। कफी, एस्ट्रे, स्ट्र र सँगै राखिएका सुप, दालचिनीजस्ता सामान देखाउँदै भन्न थाले, ‘थाहा छ, यीे पनि नेपालमा बनेको हैनन्। यस्ता साना पाइप बनाउने तरिका सजिलो छ, हाम्रा बालबालिकालाई सिकाउने हो भने गजब्बले बनाइहाल्छन्। अनि आयात गर्नुपर्ने स्थिति आउने नै थिएन।’
नारायण सिग्देल पेशाले शिक्षक हुन्। जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक। विद्यार्थीलाई पढाउने र सिकाउने उनको तरिका यस्तै छ।
एक दशकभन्दा बढी शिक्षण पेशामा रमाएका सिग्देललाई सुर्खेतबाहेक काठमाडौं र देशले नै चिनेको धेरै भएको छैन। आठ वर्षअघि सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम अहिले सरकारले देशभर १ सय ४० विद्यालयमा लागू गर्ने भएको छ। जहाँ विद्यार्थीहरुले पढाइसँगै सिलाइ–बुनाइ, हस्तकला, कृषिलगायतका सिपमूलक काम सिक्दै, कमाउँदै गर्छन्।
‘सानो छँदा म एकदमै चकचके थिएँ। आमाले बार्दलीमा लुकाएको घीउ चोर्दै खल्तीमा लुकाई–लुकाई खान्थेँ। बोल्न उत्तिकै सिपालु थिएँ। मलाई अण्डा र दूध औधि मनपर्ने, फकाएर होस् वा चोरी–चोरी खान्थे। चकचके भए पनि पढाइमा राम्रो थिएँ,’ सिग्देलले बाल्यकाल सम्झिए।
आफ्नो बालापनको कुरा सम्झँदा उनको अनुहारमा चमक देखिन्थ्यो। तर त्यो चमक निमेषभरमै उडेर गयो। उनी बोल्दै गए, ‘उ बेला साँझ एक डोको घाँसपात र खाना पकाएर विद्यालय जान होमवर्क गर्न भ्याउँथेँ। हामी तीनभाइ छौँ। बुबाआमा खेतीकिसानी गर्नुहुन्थ्यो। तीन कक्षामा जिल्ला स्तरीय परीक्षा हुने गर्थ्यो।’
त्यसबेला जिल्ला स्तरीय परीक्षा दिन टाढा जानुपर्ने बाध्यता थियो । डेढ–दुई घण्टा हिँडेर परीक्षा दिन गएको उनी सम्झन्छन्। आमाले टाढा भएका कारण ‘परीक्षा नदिनु’ भनेपछि तीन कक्षा दोहोर्याएर पढे। केही वर्षपछि घर तनहुँबाट तीन दिन हिँडेर बर्दिया पढ्न पुगे। आठसम्म प्रथम, द्वितीय भए। कक्षा ९ मा पढ्दा उनको बुवाको मृत्यु भयो। बुवा बितेपछि पढ्नलाई घरबाट स्वीकृति पाएनन्।
‘तैंले पढ्ने पैसा पुग्दैन। तैंले नोकरी गर्दै भाइहरुलाई पढाउनुपर्छ भन्नुभयो आमाले। मैले आईए जसोतसो पढें। दुई भाइ र आमालाई सम्हाल्दै आफूले पनि पढेँ,’ उनले सुनाए। आईए पास गरेपछि सुर्खेत बडीचौरको स्कुलमा रिक्त पदबाट शिक्षण पेशा सुरु गरे। बीएड बडीचौरमा पढाउन थालेपछि विरेन्द्रनगर आउन ६ घण्टा हिँड्न पर्थ्यो। पढाउनकै लागि पनि उनले आफ्नो पढाइ सक्नुपर्ने भयो।
‘किरण बस्नेत मेरो विद्यार्थी हो, जसलाई मैले ०४६ सालमा कक्षा सातमा पढाएको थिएँ। ऊ ६ वर्षपछि बीएड पढ्ने भयो,’ सिग्देल सम्झन्छन्, ‘र, मैले पढाएको उही विद्यार्थी भाइले मेरो बीएडमा भर्नाका लागि नाम लेखाइदियो। ऊ सँगसँगै मैले बीएड पास गरेँ।’ त्यसपछि पनि उनलाई पढ्ने धोको थियो। तर पाएनन्।
जागिरे जीवन
एसएलसी दिनेबित्तिकै ०४२ सालबाट जागिर सुरु गरेका उनले त्यसपछि निरन्तर जागिर नै गरिरहेका छन्। उनको जागिरे जीवन वन पैदावर विकास समितिबाट सुरु भएको थियो। आईए पास गरेपछि सुर्खेतमा बडीचौरमा रिक्त पदबाट शिक्षण पेशा सुरु गरे। ०४६ सालतिरको कुरा हो। त्यहाँ ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। आठ पढ्न टाढा जानुपर्ने थियो। खर्चका कारण धेरै विद्यार्थीले सातपछिको पढाइ निरन्तरता दिन पाउँदैनथे। उनी आफैँले यस्तो समस्या झेलेकोले विद्यार्थीको समस्या सहजै बुझे। र, विद्यालयलाई आठ कक्षासम्म चलाउनुपर्ने प्रस्ताव राखे। त्यसपछि उक्त स्कुल १० कक्षासम्मै सञ्चालन हुन थाल्यो।
अठार वर्ष अस्थायी नोकरी गरे। अहिले उनी निमावि द्वितीयको स्थायी शिक्षक छन्। ‘मेरो पदले मलाई कुनै काम गर्न छेकेन। धेरैले धेरै थरी कुरा सुनाए। तर मैले कहिले हिम्मत हारिनँ। विद्यालयले गत वर्ष नै ५० लाख प्राप्त गरेको छ। ५० लाखले पशुपालनमा बच्चाहरुले काम गरिरहेका छन्,’ उनले भने।
यता सरकारको नजरमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम पुर्याउन त्यति सहज थिएन। उनले सुर्खेत आउने हरेक राजनीतिक नेतृत्वलाई विद्यालयसम्म ल्याउने कोसिस गरे। नेताहरुको ध्यानार्कषण गराउन कुनै कसर बाँकी राखेनन्।
शिक्षकसँगै साथी र अभिभावक
एकदिन कक्षा ६ मा पढ्ने विद्यार्थीहरुले भिडियो पठाएका रहेछन्, ‘नमस्कार सर। मलाई वैज्ञानिक बन्न मन लाग्या छ। हामीलाई काठमाडौंमा भएको राष्ट्रिय आविष्कार केन्द्रमा लगिदिनु होला। महावीर पुनसँग भेटाउन विनम्र अनुरोध गर्दछु। सर, हामीले पनि सिकेर केहि गर्न सक्छौँ।’
सिग्देलका अनुसार विद्यार्थीले उनलाई पाठ्यक्रमका अभ्यासहरुको समाधान माग्दैनन्। उनीसँग विद्यार्थीहरुले पाठयक्रम बाहिरका व्यवहारिक जीवनयोगी शिक्षा र अवसर माग्न थालेका छन्।
विद्यालय बाहिर पनि उनको आफ्ना विद्यार्थीसँगको सम्बन्ध प्रगाढ छ। कुनै विद्यार्थीलाई केहि पर्नासाथ अभिभावक भन्दा पहिला उनलाई सम्झने गरेको घटनाहरु उनी सम्झिन्छन्। भन्छन्, ‘मध्य रातमा एक विद्यार्थीको फोन आयो। मेरो एक विद्यार्थी घाइते भएकी रहिछन्। मैले सबैको पहलमा उनलाई अस्पतालसम्म पुर्याए। दोस्रो घटना अर्को समय १२ बजेतिर फोन आयो। त्यसपछि मैले उसको अभिभावकलाई कल गरेँ। त्यो विद्यार्थीको समयमा उपचार गर्न सक्यौँ। अहिले त्यो नानी राम्रो गरिरहेकी छन्।’