काठमाडौं– रोल्पाको सुनछहरी गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार कोमबहादुर बुढाविरुद्धको उजुरी दर्ता नभएपछि विवाद भएको छ। प्रमाणसहित उजुरी दिए पनि निर्वाचन अधिृकतको कार्यालयले कारबाहीको प्रक्रिया अगाडि नबढाएको उजुरीकर्ताको गुनासो छ।
उम्मेदवारविरुद्ध उजुरी दर्ता गराउने अन्तिम समय मंगलबार साँझसम्म तोकिएको थियो। उक्त अवधिमै त्रिपक्षीय गठबन्धन (नेकपा एमाले, कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी) बाट उपाध्यक्षका उम्मेदवार बनेका कांग्रेस निकट बुढाविरुद्ध करछलीको उजुरी दर्ता गर्न खोजिएको तर निर्वाचन अधिकृतले दर्ता नगरेको स्थानीय नेताहरुको भनाइ छ। तीव्र दबाबपछि उजुरी दर्ता भएको तर कारबाहीको प्रक्रिया अगाडि नबढेको गुनासो उजुरीकर्ताको छ।
नेता बुढाले सञ्चालन गर्दै आएको उच्च हिमालय निर्माण प्रालिले ०७० सालदेखि अहिलेसम्म सरकारलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ। यहाँसम्म कि आन्तरिक राजस्व कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने नेता बुढाको उक्त कम्पनी कालो सूचीमा परेको उजुरीकर्ताको भनाइ छ।
विपक्षी दलले विभिन्न प्रमाण पेश गर्दा पनि निर्वाचन अधिकृत दामोदर घिमिरेले कुनै कारवाही अघि नबढाएको स्थानीय माओवादी नेताहरुको दाबी छ। मागदाबी नपुगेको भन्दै उजुरी र प्रमाणहरुलाई पन्छाएको माओवादीका एक स्थानीय नेताले नेपाल समयलाई बताए। उनले भने, ‘निर्वाचन अधिकृत नै कांग्रेस आस्थाका रहेछन्, उनले औकात देखाइहाले। कोमबहादुरजीको कम्पनीले ९ वर्षदेखि सरकारलाई कर छली गरेको प्रमाणहरु हामीसँग प्रशस्त छन् तर पनि अधिकृतले कुनै एक्सन लिएका छैनन्। उनले कोमबहादुरजीलाई सेफ गर्न हाम्रो मागदाबी पुगेन भन्दै नियोजित तर्क गरिरहेका छन्।’
निर्वाचन अधिकृत घिमिरेले भने व्यक्तिगत प्रतिशोधलाई विपक्षी दलले उजुरी बनाएर नेता बुढालाई कमजोर तुल्याउन प्रयास गरेको अभिव्यक्ति दिएका छन्। घिमिरेले नेपाल समयसँग कुराकानी गर्दै भने, ‘उजुरी आएकै हो, केही प्रमाणहरु पनि छन्। तर त्यो निर्वाचनमा मेरो जिम्मेवारीभन्दा बाहिरको कुरा हो, मैले केही गर्न मिल्दैन।’
स्थानीय माओवादी नेताहरु भने अधिकृत घिमिरेको उक्त अभिव्यक्तिलाई स्वीकार गर्न तयार छैनन्। सरकारलाई तिर्नुपर्ने कर नतिरेर कर छली गर्दा यो विषय पनि निर्वाचन र सरकारी जिम्मेवारीमै पर्ने उनीहरुको ठोकुवा छ।