काठमाडौं– निर्वाचन आयोगले यही वैशाख ३० गते शुक्रबार देशभर सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ।
आयोगले बिहीबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।
त्यसैगरी मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल र मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सम्बन्धित विद्यालयलाई लेखी पठाउने निर्णय आयोगले गरेको छ।
स्थानीय तह निर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गतेदेखि ३० गतेसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ।
प्रकाशित: Apr 28, 2022| 16:36 बिहीबार, वैशाख १५, २०७९