काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति कुनै मनोरञ्जनको विषय नभएको बताएका छन्। काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन्।
उनले भने, 'बागमतीमा धेरै सपना बगेको छ। राजनीति मनोरन्जनको विषय होइन। स्थापितको गेम इज ओभर। देश नै मनोरन्जनले दिक्क भएको छ। महानगरमा मनोरन्जन आवश्यक छैन।'
डा. महतले पहिलो पटक काठमाडौं महानगरपालिकाले महिला उम्मेद्वार पाएको उल्लेख गर्दै सक्षम र राजनीतिक पृष्ठभूमि भएको उम्मेद्वार सिर्जना भएकोसमेत दाबी गरेका छन्। उनले भने, 'सिर्जनाको उम्मेदवारी हाम्रा लागि र दिदी बहिनीका लागि गर्वको कुरा हो। यो अवसर हामीले गुमाउन हुँदैन। महिला दिदी बहिनीका लागि यो अवसर हो। यहाँ जित्ने भनेको ५० नगरपालिका जिते बराबर हो।'
अघिल्लो कार्यकालमा कांग्रेसबाट मेयर बनेका चिरिबाबुले निकै राम्रो काम गरेको उल्लेख गर्दै उनले भने, 'अघिल्लो कार्यकालको ललितपुर र काठमाडौंको तुलना गर्नै नमिल्ने अवस्था छ। सिर्जना सिंहको नेतृत्वमा सम्पूर्ण महानगर जित्न आवश्यक छ।' प्रकाशमानको परिवारसँग जोडिएपछि मात्रै सिर्जनाले राजनीति नगरेको उल्लेख गर्दै उनले थपे, 'घरपरिवारको जिम्मेवारी पन्छाएर उहाँको क्षमता प्रयोग गर्न चाहानुभएको छ। टिकट वितरणका कुराले देशभर असन्तुष्टि छ। तर, काठमाडौंमा कुनै असन्तुष्टि छैन।'
देशभरका असन्तुष्टि पनि पार्टीलाई केन्द्रमा राखेर सोच्ने हो भने मिल्ने भएकोले साथीको उम्मेदवारीलाई आफ्नो उम्मेदवारी सम्झेर जिताउन लाग्न पनि उनले आग्रह गरेका छन्।